शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: ३४ वर्षपछि पनि बबई सिँचाइ आयोजना अधुरै, विद्यामाथि ओलीको कटाक्ष

मङ्गलबार, २७ साउन २०८२, ०० : ००
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • बबई सिँचाइ आयोजना ३४ वर्षपछि पनि अधुरै रहेको छ।
  • रवि लामिछाने सहकारी ठगी मुद्दामा रिहा हुन नसकेका छन्।
  • कर्णाली प्रदेशमा अब खेतीयोग्य जमिन बाँझो राखे जरिबाना लाग्ने भएको छ।

काठमाडौँ ।  आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. ३४ वर्षपछि पनि बबई सिँचाइ आयोजना अधुरै

बर्दियाका किसानको खेतमा बाह्रै महिना पानी पुर्‍याएर कृषिमा क्रान्ति ल्याउने गरी बबई सिँचाइ आयोजना अघि बढाएको ३४ वर्ष पुगेको छ । यद्यपि यो आयोजना सम्पन्न हुने टुङ्गो छैन ।

उक्त आयोजना आर्थिक वर्ष २०४५/०४६ मा निर्माण सुरु भएको थियो । सो आयोजनालाई सरकारले आर्थिक वर्ष २०६८/०६९ मा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर प्राथमिकतामा राख्यो ।

२. रिहा हुन सकेनन् रवि

सहकारी ठगी लगायतका आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले रिहा हुनका लागि गरेको प्रयास विफल भएको छ । बिगो बराबरको धरौटी रकम बुझाएर रिहा हुन रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका उनलाई सोमबार अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिँदै रिहा हुने ढोका तत्कालका लागि बन्द गरिदिएको हो ।

३. सिद्धबाबा पहिरोको त्रास हटेन

सिद्धार्थ राजमार्गको सिद्धबाबा पहिरोको सास्तीबाट सवारी चालक र यात्रुले सास्ती भोगेको लामै समय भइसक्यो । यसबाट मुक्ति कहिले पाउने टुङ्गो छैन । 

यहाँको पहिरोमा परी धेरैले ज्यान गुमाइसकेका छन् । हालै मात्रै पनि पाल्पाको रामपुर नगरपालिकाका ४२ वर्षीय जनक भण्डारीको सिद्धबाबा मन्दिर नजिकै पहिरोमा परी मृत्यु भयो । श्रीमतीलाई मोटरसाइकलमा राखेर पाल्पाबाट बुटवल आइरहेका उनको सडकमाथिबाट खसेको पहिरोले ज्यान लियो । श्रीमती कल्पना घाइते भइन् ।  

४. गण्डकीका प्रशासनिक संरचनामा व्यापक हेरफेर 

गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचनामा व्यापक हेरफेर गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले ७ निर्देशनालयसहित ९ कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।

५. कर्णालीको ३० प्रतिशत खेतीयोग्य जमिन बाँझो,

कर्णाली प्रदेशभित्र अब खेतीयोग्य जमिनलाई बाँझो छाड्न नपाइने भएको छ । यदि कसैले खेतीयोग्य जमिन बाँझो राखेमा जरिबाना तिर्नुपर्ने छ ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३) का लागि ल्याएको नयाँ आर्थिक ऐनमा यस्तो व्यवस्था छ । खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरिबानाको व्यवस्था गरिएको हो ।

६. पार्टी एकताबारे एकीकृत समाजवादीमा खनाल र भुसालको फरक मत

पछिल्लो समय नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबिच पार्टी एकताको चर्चा तीव्र छ । एकीकृत समाजवादी पार्टीभित्र भने अध्यक्ष माधवकुमार नेपालको योजनामा ‘ब्रेक’ लाग्ने गरी सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले फरक मत राखेका छन् ।

७. रास्वपाले रुपन्देही–३ को उम्मेदवार टुङ्ग्याउन चुनाव गराउने

रास्वपाको तर्फबाट आगामी कार्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचनमा उम्मेदवार बन्न आकाङ्क्षीबिच सहमति नजुटेपछि प्राइमरी निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने भएको छ । साझा उम्मेदवार छनोट गर्नका लागि रास्वपाले आइतबार ९ जना उम्मेदवारसँग छलफल गरे पनि सहमति नजुटेको बताइएको छ ।

८. गृह मन्त्रालयले १४ कर्मचारीको हाजिर काट्यो

तोकिएको स्थानमा जानका लागि काटेको २४ घण्टे पत्रको अवज्ञा गरेपछि गृह मन्त्रालयले १४ कर्मचारीको हाजिरी काटेको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार उनीहरूको रजिस्टरको हाजिरी र ई–हाजिरी दुवै काटिएको हो ।

९. नेपाली उद्योगमा किन टिक्दैनन् स्वदेशी प्राविधिक

नेपालका उद्योगमा प्राविधिकतर्फका जनशक्तिले रोजगारीका अवसर पाए पनि लामो समय टिक्न नसकेका उदाहरण प्रशस्त छन् । आखिर स्वदेशी उद्योगमा नेपालकै प्राविधिक जनशक्ति किन टिक्न सक्दैनन् भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

१०. मितेरी बचत सहकारी रकम हिनामिनाबारे अनुसन्धान अन्तिम चरणमा

मितेरी बचत तथा ऋण सहकारीको रकम हिनामिनामा संलग्न ज्योतिबहादुर भण्डरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले यसै साता अनुसन्धान प्रतिवेदन बुझाउँदै छ ।

११. बागमती कांग्रेसमा किचलो अन्त्य गर्न देउवाले दिए निर्देशन

बागमती कांग्रेसमा उत्पन्न किचलो अन्त्य गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । बागमती सरकारको नेतृत्व फेरबदल प्रक्रियासँगै कांग्रेस संसदीय दलमा किचलो बढेको थियो । सभापति देउवाले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुर सिंह लामालाई सहमति जुटाएर अघि बढ्न निर्देशन दिएका हुन् । बानियाँ र लामा कांग्रेस सभापति देउवा पक्षकै हुन् ।

  • थप

१२. मदन भण्डारी फाउन्डेसन एमालेले नबनाएको ओलीको प्रष्टोक्ति

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन एमालेले नबनाएको प्रष्टोक्ति दिएका छन् । उनले नेताका नाममा रहेका प्रतिष्ठान सामूहिक हुनुपर्नेमा कतिपयचाहिँ व्यक्तिको कब्जामा जाने गरेको बताए ।

  • थप समाचारहरु:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप