जेनजी आन्दोलनकारी पक्षलाई सेना र राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताका लागि आह्वान गरेको २४ घण्टा बितेको छ । तर, हालसम्म औपचारिक वार्ता सुरु हुन सकेको छैन ।
बरु जेनजी आन्दोलनकारी पक्ष नै आगामी सरकारको नेतृत्व कसको हुने भन्नेमा एकमत नभएको पाइएको छ । सरकारको नेतृत्वको विषयमा बुधबार साँझ दुई पक्षबिच जंगीअड्डा परिसरमै वादविवाद भएको समाचार सार्वजनिक भएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अविलम्ब संसद् विघटनको प्रस्ताव गरेका छन् ।
बुधबार साँझ फेसबुकमा लेखेका बालेनले देश इतिहासमै फरक परिस्थितिमा रहेकाले जेनजीहरूले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकार गठन र संसद्को विघटन प्रस्ताव गरेका हुन् ।
काठमाडौँ । भदौ २३ गते विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको जेनजी पुस्ताले करिब २७ घण्टामै सत्ता ढाल्न सफल भयो । २३ गते आन्दोलनमा व्यापक दमन भएपछि ठुलो मानवीय क्षति भएको थियो ।
विरोध प्रदर्शनमा भएको दमनकै कारण २४ गते जेनजी पुस्ता आक्रोशित भएर सडकमा निस्किए । त्यसदिन अघिल्लो दिनको तुलनामा मानवीय क्षति त धेरै भएन तर अर्बौंका भौतिक संरचना ध्वस्त भए ।
देशभर एकसाथ भएको विरोध प्रदर्शन सरकारले झेल्न सकेन । परिणामस्वरुप मंगलबार दिउँसो करिब साढे दुई बजे केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।
बुधबार साँझ पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले नागरिकको धनजन सुरक्षार्थ विज्ञप्ति निकालेर कर्फ्यु आदेश जारी गरेको हो ।
जसअनुसार २६ गते बिहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ भने २६ गते बेलुका ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने सेनाले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनबाट कुनै पनि पार्टीहरूले फाइदा लिन नपाउने बताएकी छन् ।
बुधबार भिडियो पोष्ट गर्दै श्रेष्ठले यस्तो बताएकी हुन् । उनले जेनजीहरूलाई आफ्ना मागहरू स्पष्टसँग राख्नुपर्ने भन्दै आफू जेनजीहरूलाई सहयोग गर्न तयार रहेको बताइन् । यस्तै श्रेष्ठले रास्वपा र दुर्गा प्रसाईँकाे जेनजी आन्दोलनसँग सरोकार (स्टेकहोल्डर) नभएको समेत बताइन् ।
राजविराज (सप्तरी) । राजविराजस्थित जिल्ला कारागारबाट फरारमध्ये २४ कैदीबन्दीलाई पक्राउ गरिएको छ ।
प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले २०५ कैदीबन्दी फरार भएकामा ३४ जनालाई एक घण्टाभित्रै पक्राउ गरिएको जानकारी दिए । अन्य फरार कैदीबन्दी भारततर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्रमा खोज तलास तीव्र पारिएको उनले बताए । कारागारभित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर कैदीबन्दी भागेका थिए ।
प्रहरीका अनुसार फरारमध्ये अधिकांश ‘बी’ ब्लकका कैदीबन्दी छन् । सुरुमा कारागारभित्रका फर्निचर र सुत्ने ओच्छयानहरुमा आगो लगाएका कैदीबन्दीले मुल ढोकाको ताल्चा फुटाएका थिए ।
काठमाडौँ । आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ ।
विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल आज साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेपछि अहिले विदेश जाने यात्रुहरूको भीड बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए ।
उनले भने, “आन्दोलनका कारण मङ्गलबार दिउँसो ३ः३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो । आजदेखि पुनः सञ्चालन गरिएपछि अहिले यात्रुहरूको भीड बढेको हो ।”
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनमा परी हालसम्म ३० जनाको मृत्यु भएको जनाएको छ । यसैगरी एक हजारभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ ।
उनले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो ।
काठमाडौँ । चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको बताएको छ ।
नेपालको पछिल्लो अवस्थाबारे त्यहाँको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लीन चियानले चीन र नेपाल परम्परागत मित्र हुन्, नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढङ्गले सम्बोधन गर्नेछन् भने ।
काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधबार उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए ।
उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको राससलाई जानकारी दिए ।
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शान्तिपूर्ण हुने भनिएको जेनजी प्रदर्शन विध्वंसात्मक र विनाशकारी भएको भन्दै यथार्थ छानबिन हुनुपर्ने बताएका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् उनले लेखेका छन्,प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरूको पूर्व घोषणा विपरीत र यसमा कुनै संलग्नता नरहेको उहाँहरूको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरू कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ । यस क्रममा राज्यका सुरक्षा निकायहरूको भूमिकाको पनि समीक्षा हुनुपर्छ ।
समग्र स्थितिको वस्तुनिष्ठ विश्लेषण र यस क्रममा कुनै कमी रहेका भए तिनको पनि समीक्षा उपयुक्त समयमा हुने उनको भनाइ छ । प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने समेत उनले बताए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफूहरू शान्तिपूर्ण र रचनात्मक राजनीतिको पक्षमा रहेको बताएको छ । बुधबार महामन्त्री कविन्द्र बुर्लाकोटीले अपिल जारी गर्दै यस्तो बताएका हुन् ।
उनले लेखेका छन्,'राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ शान्तिपूर्ण र रचनात्मक राजनीतिको पक्षमा छ। र, आन्दोलनका क्रममा युवा पुस्ताले व्यक्त गरेको चाहनालाई राजनीतिक रूपमा सम्बोधन गर्ने गराउने वातावरण निर्माणमा पनि सचेत छ ।राजनीतिक कोर्षलाई सही दिशामा अगाडि बढाउन, शान्ति सुव्यवस्था कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धिमा जनस्तरबाट निरन्तर खबरदारी र पहलकदमीका लागि पनि हार्दिक अपिल गर्दछौँ ।'
सबैको साझा लक्ष्य स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताउँदै जनतामाझ आशाको सञ्चार गर्न नसकिए नयाँ नेपाल निर्माण फेरि पनि आकाङ्क्षामै सीमित हुने उल्लेख गरिएको छ ।
विराटनगर । विराटनगरमा रहेका जेनजी समूहले आन्दोलन नरोक्ने चेतावनी दिएको छ ।
विराटनगरको जेनजी समूहले युवाहरूको आन्दोलनपश्चात् नेपाललाई निष्पक्ष र अनुभवी प्रतिनिधिसहित वार्ताटोली गठन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो।
समूहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानसेनापति नेतृत्वमा आह्वान गरिएको वार्तामा विभिन्न दलका कार्यकर्ता, सामाजिक अभियन्ता तथा कानुनले बन्देज गरेका वा जेलबाट फरार व्यक्तिहरु जेनजीको अनुमतिबिना संलग्न भए आन्दोलनलाई अझ सशक्त रूपमा अघाडि बढाउने चेतावनी दिएको छ ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौँ महानगरका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकर्न तयार रहेको बताएका छन् । उनले बुधबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेको तस्बिर सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
'जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू काठमाडौँ महानगरका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जोसुकै पनि नेतृत्व गर्न तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु,'प्रसाईँले लेखेका छन् ।
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले आफू अब बन्ने सरकारको नेतृत्वको दौडमा रहेको स्पष्ट पारेका छन् ।
हिजो मंगलबार नक्खु कारागारबाट रिहा भएर आएका लामिछानेले बुधबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै यस्तो बताएका छन् ।
उनले भने, 'न्यायिक निकायहरूलाई जानकारी गराइसकेको छु । म सरकार बनाउने सरकारमा जाने कुनै पनि दौडमा छैन, मैले कसैसँग कतै बैठक गरेको छैन । मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन ।'
काठमाडौँ । नेपाली सेनाले महाराजगञ्ज क्षेत्रबाट लुटपाटमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूबाट सात नाल हतियार र उक्त हतियारमा प्रयोग हुने म्यागजिन, राउण्ड, ब्युनेटलगायत सामग्री तथा व्यक्तिगत सामग्री बरामद गरेको छ ।
साथै विशेष सूचनाको आधारमा बालाजु माछापोखरी इलाकाबाट थप १ नाल हतियार बरामद गरिएको सेनाले जानकारी दिएको छ । र हालसम्म ७३ नाल हतियार बरामद भएको पनि जनाएको छ ।
काठमाडौँ । सेनासँग जेनजीको वार्ता चल्दै गर्दा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा असन्तुष्टि पोखेका छन् ।
उनीहरुले जेनजीको नेतृत्व बालेन शाह र हर्क साम्पाङ जस्ता युवा गर्नुपर्ने माग गरेका हुन् ।
जेनजीहरुको तर्फबाट नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको नाम अगाडि आएपनि उनीहरुले बालेन र हर्क जस्ता युवाहरू अगाडि आउनुपर्ने धारणा राखेका हुन् ।
काठमाडौँ । जनकपुरको बम कण्डमा दोषी ठहर भई जेलमा रहेका संजय साह (टकला) को जनकपुरस्थित घरमा राजनीति चहलपहल बढेको छ ।
उनलाई बधाई दिन शुभचिन्तकहरू घरमै पुगेका छन् । अहिले उनी कुनै पार्टीमा आबद्ध छैनन् । राजनीतिक दलकै नेताजस्तो उनलाई जनकपुरमा सम्मान मिलिरहेको छ ।
उनले आफू जेलबाट निस्कन नचाहेको तर युवाले जबर्जस्ती निकालेको बताएका छन् । भने, ‘मेरो जेल भुक्तानीको समय पूरा हुन लागेको थियो, २–४ महिनामा म निस्कने नै थिएँ, मलाई कुनै हतार थिएन ।'
वीरगञ्ज । मधेस प्रदेशका विभिन्न जेलबाट ठुलो संख्यामा कैदी भागेका छन् । मधेस प्रहरीका अनुसार प्रदेशका चार जिल्लाबाट एक हजार ८० कैदीसँगै बाल सुधारगृहका बालकहरू भागेका छन् ।
सप्तरी, महोत्तरी, रौतहट र पर्साबाट कैदीबन्दी भागेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सप्तरी जेलमा रहेका कुल ३९७ जना कैदीबन्दीमध्ये २०५ जना भागेका छन् भने रौतहट जेलमा रहेका २९२ जना कैदीमध्ये २३२ जना भागेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी महोत्तरी कारागारमा रहेका ५७६ जनामध्ये ५७५ जना फरार भएका प्रदेश प्रहरीको विवरण छ ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले जेनजी आन्दोलनको क्रममा झलनाथ खनालकी पत्नीमाथि आक्रमण हुनु राजनीतिक मर्यादामाथिको धक्का भएको बताएका छन् ।
जेनजी प्रदर्शनकारीले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवासमा आगजनी गर्दा उनकी पत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी छिन् । नेता राईले उक्त आक्रमणलाई घोर आपराधिक कृत्य भएको बताएका छन् ।
उनले प्रश्न उठाएका छन्, ‘प्रा. रविलक्ष्मीको अपराध के थियो ? उहाँ पञ्चायतकालीन कठिन घडीमा भूमिगत भई आन्दोलनमा सक्रिय जाज्वल्यमान नेतृ हुनुभयो । पछि परिवार चलाउन दुवै जना राजनीतिमा सक्रिय हुन सम्भव नभएपछि राजनीतिबाट अलग भई प्राध्यापन जस्तो पवित्र पेसामा लाग्नुभयो । श्रीमान शक्तिशाली पदमा हुँदा पनि गुमनाम जीवन रुचाउनुभयो । न त शक्ति प्रयोग गर्न खोज्नुभयो, न त गलत बाटो रोज्नुभयो ।‘
रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । गरुडा, कटहरिया, चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा अराजक समूहले नगरपालिकाका कार्यालय र सवारीसाधनमाथि आक्रमण गरेका थिए ।
गरुडा नगरपालिका कार्यालयमा प्रदर्शनकारीहरु प्रवेश गरी कम्प्युटर, ल्यापटप, प्रिन्टर, ब्याट्री, इन्भर्टर, दराज र सोफालगायतका सामग्री तोडफोड र लुटपाट गरेका थिए । मेयर कन्थमणि जयसवालले प्रयोग गर्ने गाडी, नगर प्रहरीको गाडी र एक ट्याक्टर गरी तीनवटा सवारीसाधन समेत जलाइएका छन् ।
बुधबार दिउँसो मेयरको घरमा पनि लुटपाटको प्रयास भएकोमा प्रहरीको हस्तक्षेपपछि समूह भागेको थियो ।
मकवानपुर - देशका विभिन्न कारागारबाट भागेका ४७ जना कैदीबन्दी र बाल सुधार गृहबाट भागेका २३ जना बालकलाई मकवानपुरबाट नियन्त्रणमा लिइएको छ। नेपाली सेना र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दिएको जानकारीअनुसार, भीमफेदी कारागारबाट भागेका २६० जनामध्ये ४३ जनालाई भैंसे, सुपारेटार ब्यारेक र राप्ती खोला किनारबाट पक्राउ गरिएको छ। यसैगरी, नख्खु कारागारबाट भागेका २ जना र तनहुँबाट भागेका २ जना कैदीबन्दीलाई हेटौँडाको विभिन्न चेकपोइन्टबाट नियन्त्रणमा लिइएको छ।
प्रहरीले बाल सुधार गृहबाट भागेका ७२ जनामध्ये २३ जना बालकलाई हेटौँडा-९ स्थित त्रिवेणी धामको नदी किनारबाट नियन्त्रणमा लिएको छ। अहिले पनि ४९ जना बालक फरार रहेका छन्।
काठमाडाैँ । बाल सुधार गृह मकवानपुरमा रहेका ७२ जना बालकहरू भागेका छन् । बाल सुधार गृहमा रहेका ९४ बालक मध्ये ७२ जना भागेका छन् भने २१ जनालाई नियन्त्रणमा राखिएको छ ।
हेटौँडा–११ स्थित बाल सुधार गृहमा रहेका बालकहरूको अभिभावकले नाराबाजी सहित गेट तोडफोड गरेर बालकहरूलाई भगाएका थिए । अभिभावकहरूले सुधार गृहको बाहिरबाट नाराबाजी गरेर गेट भत्काएका थिए । सो क्रममा सुरक्षाकर्मी र सुधारगृहका बालक तथा अभिभावकहरू बिच झडपको स्थिति बनेको थियो । सुरक्षामा खटिएका प्रहरीले अवस्था नियन्त्रण लिन नसकेपछि उनीहरू भाग्न सफल भएका थिए ।
सुधार गृहका प्रमुख प्रदिप गौतमका अनुसार ४०/४५ जनाको समूहमा रहेका अभिभावकहरूले गेट बाहिरबाट ढुंगामुढा गरेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । १० मिनेटको समय अवधि भित्र सबै घटनाहरू सकिएको उनले बताए ।