शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : १० पार्टी एक ठाउँमा, कांग्रेस अझै अलमलमा

बुधबार, १९ कात्तिक २०८२, २२ : ००
बुधबार, १९ कात्तिक २०८२

आज २०८२ कात्तिक १९ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • नयाँ पार्टी

विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल निर्वाचित भएका छन् । बुधबार एकता घोषणापछि भएको सम्मेलनमा प्रचण्ड संयोजक र सहसंयोजकमा नेपाललाई चयन गर्न नेता महेन्दराय यादवले प्रस्ताव गरेका थिए । यादवको प्रस्तावलाई हलले ताली बजाएर समर्थन गरेको थियो ।

  • नयाँ पार्टीका नेता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक नम्बरको पार्टी बनाउन कसैले रोक्न नसक्ने बताएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी एक नम्बरको पार्टी बन्ने बताएका हुन् । 

  • एकीकृत रहेन एकीकृत

नेकपा एमालेबाट विद्रोह गर्दै चार वर्ष अघि गठन भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अब ‘एकीकृत’ नरहने भएको छ । पार्टी तीन टुक्रामा विभाजन भएको हो । 

महासचिव घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीलाई नै पुनर्गठन गरेर क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियान चलाउने घोषणा गरेका छन् । 

नेतृ रामकुमारी झाँक्री समूह अहिले कतै नगए पनि एमालेमै फर्कने सम्भावना बढी रहेको उनीहरूका अभिव्यक्तिले नै गरेका छन् 

  • अल्झियो कांग्रेस

नेपाली कांग्रेसभित्र पहिले महाधिवेशन कि निर्वाचन भन्ने बहस सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू दुई धारमा देखिएका छन् । 

  • न्युयोर्कको पहिलो मुस्लिम मेयर

३४ वर्षीय जोहरान ममदानीले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठुलो सहरको नेतृत्व गर्न मेयरको दौड जितेका छन्। यो अत्यधिक प्रतिस्पर्धात्मक दौडले विश्वको ध्यान तानेको थियो।

  • जेनजी आन्दोलन

बागमती प्रदेश सभा परिसर पछाडि आगलागीबाट नष्ट भएका दर्जनौँ सरकारी सवारी साधन अलपत्र अवस्थामा छन् । प्रदेश मन्त्रिपरिषदले व्यवस्थापनको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिए पनि ती सवारी साधन जलेकै स्थानमा थन्किएका हुन् ।

बाँके नेपालगन्ज उपमहानगरपालिका–१ का धम्बोझीका ४५ वर्षीय सुशील थापाका १९ वर्षीय छोरा आयुषको भदौ २३ जेनजी आन्दोलनको क्रममा मृत्यु भयो । आयुष सुशीलका एक्ला छोरा थिए, फ्रान्स जाने अन्तिम तयारीमा गर्दागर्दै गोली लागेर ढले ।  धन कमाएर परिवारको आर्थिक अवस्था मजबुत बनाउने आयुषको परिवार अहिले विक्षिप्त अवस्था छ । 

जेनजी प्रदर्शनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटपाट भएको प्रहरीको आन्तरिक छानबिन निष्कर्ष छ ।

 गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकारका ४१ करोडभन्दा बढीका सवारी साधन जलेर ध्वस्त भए । विवरण अनुसार मोरङमा २३७, सुनसरीमा ३ र झापामा २५ वटा सवारी साधन ध्वस्त भएका हुन् ।

जेनजी प्रदर्शनमा लुटपाट भएको इन्सास समेतका ३ थान हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय शिवराज धमला छन् ।

सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष करिब ७ घण्टा १५ मिनेट  बयान दिएका छन् । 

  • विमानस्थल सुधार सुझाव प्रतिवेदन

नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले प्रतिवेदन बुझाएको छ । देशभरका प्रमुख विमानस्थलहरुमा देखिएका समस्या, सुरक्षा कमजोरी, पूर्वाधार अभाव र व्यवस्थापकीय चुनौतीहरू औँल्याउँदै सुझाव समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विस्तृत प्रतिवेदन बुझाएको हो ।  

  • बहस

राजनीतिक दलका नेताहरुले सच्चिन तयार रहेको बताएका छन् । बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरी’ कार्यक्रममा सहभागी कांग्रेस, एमाले, रास्वपा, राप्रपा, जसपा लगायत दलका नेताहरुले यस्तो बताएका हुन् । 

  • वारुण यन्त्रको विकल्प

 विपदका समयमा सानो कुलो पनि जीवनरेखा बन्न सक्छ भन्ने पाठ हालै अछामको साँफेबगरमा भएको आगलागीले सिकाएको छ । अछाम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आन्नद सारुका अनुसार बस्ती नजिक रहेका खोला र कुलोको पानीले मान्छेको जीवन बचाउन सकिन्छ भन्ने त्यो एक गतिलो उदाहरण हो ।

  • शैक्षिक सुधार योजना

कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकाले ल्याएको नयाँ शिक्षा कार्यविधिले शैक्षिक सुधारको प्रयासलाई विवादमा तानेको छ । विद्यालय समायोजन, दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनका लागि ल्याइएको कार्यविधिमाथि राजनीतीकरण, क्षेत्राधिकार मिचेको आरोपसहित नगरको शिक्षा शाखामा तालाबन्दी र प्रदर्शन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप