शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
१२ बजे १२ समाचार

एकीकृत समाजवादी रहेन ‘एकीकृत’, महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेमा अल्झियो कांग्रेस

बुधबार, १९ कात्तिक २०८२, २३ : ५९
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • नेकपा एस पार्टी तीन टुक्रामा विभाजन भयो, घनश्याम भुसालले नयाँ पार्टी बनाउने घोषणा गरे।
  • नेपाली कांग्रेसमा महाधिवेशन पहिले गर्ने कि निर्वाचन भन्नेमा विवाद छ।
  • विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन भए।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. एकीकृत रहेन एकीकृत

नेकपा एमालेबाट विद्रोह गर्दै चार वर्ष अघि गठन भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अब ‘एकीकृत’ नरहने भएको छ । पार्टी तीन टुक्रामा विभाजन भएको हो । 

महासचिव घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीलाई नै पुनर्गठन गरेर क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियान चलाउने घोषणा गरेका छन् । 

नेतृ रामकुमारी झाँक्री समूह अहिले कतै नगए पनि एमालेमै फर्कने सम्भावना बढी रहेको उनीहरूका अभिव्यक्तिले नै गरेका छन् ।

२. महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेमा अल्झियो कांग्रेस

नेपाली कांग्रेसभित्र पहिले महाधिवेशन कि निर्वाचन भन्ने बहस सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू दुई धारमा देखिएका छन् । 

३ .नयाँ पार्टी

विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल निर्वाचित भएका छन् । बुधबार एकता घोषणापछि भएको सम्मेलनमा प्रचण्ड संयोजक र सहसंयोजकमा नेपाललाई चयन गर्न नेता महेन्दराय यादवले प्रस्ताव गरेका थिए । यादवको प्रस्तावलाई हलले ताली बजाएर समर्थन गरेको थियो ।

४. ‘हाम्रा छोराहरूका हत्याराले उन्मुक्ति नपाऊन्’

बाँके नेपालगन्ज उपमहानगरपालिका–१ का धम्बोझीका ४५ वर्षीय सुशील थापाका १९ वर्षीय छोरा आयुषको भदौ २३ जेनजी आन्दोलनको क्रममा मृत्यु भयो । 

आयुष सुशीलका एक्ला छोरा थिए, फ्रान्स जाने अन्तिम तयारीमा गर्दागर्दै गोली लागेर ढले ।  धन कमाएर परिवारको आर्थिक अवस्था मजबुत बनाउने आयुषको परिवार अहिले विक्षिप्त अवस्था छ ।

५. नयाँ पार्टीका नेता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक नम्बरको पार्टी बनाउन कसैले रोक्न नसक्ने बताएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी एक नम्बरको पार्टी बन्ने बताएका हुन् । 

६. बेवास्तामा रानीमहल

 पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रङ्ग उडेर भित्तामा लेउ लाग्न थालेको छ । रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले बेवास्ता गर्दा यहाँको सरसफाइ भएको छैन भने भवनको रङ्गरोगन उडेको छ ।

७.न्युयोर्कको पहिलो मुस्लिम मेयर

३४ वर्षीय जोहरान ममदानीले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठुलो सहरको नेतृत्व गर्न मेयरको दौड जितेका छन्। यो अत्यधिक प्रतिस्पर्धात्मक दौडले विश्वको ध्यान तानेको थियो।

८. जेनजी आन्दोलन
बागमती प्रदेश सभा परिसर पछाडि आगलागीबाट नष्ट भएका दर्जनौँ सरकारी सवारी साधन अलपत्र अवस्थामा छन् । प्रदेश मन्त्रिपरिषदले व्यवस्थापनको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिए पनि ती सवारी साधन जलेकै स्थानमा थन्किएका हुन् ।

जेनजी प्रदर्शनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटपाट भएको प्रहरीको आन्तरिक छानबिन निष्कर्ष छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकारका ४१ करोडभन्दा बढीका सवारी साधन जलेर ध्वस्त भए । विवरण अनुसार मोरङमा २३७, सुनसरीमा ३ र झापामा २५ वटा सवारी साधन ध्वस्त भएका हुन् ।

जेनजी प्रदर्शनमा लुटपाट भएको इन्सास समेतका ३ थान हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय शिवराज धमला छन् ।

सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष करिब ७ घण्टा १५ मिनेट  बयान दिएका छन् । 

९. विमानस्थल सुधार सुझाव प्रतिवेदन

नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले प्रतिवेदन बुझाएको छ । देशभरका प्रमुख विमानस्थलहरुमा देखिएका समस्या, सुरक्षा कमजोरी, पूर्वाधार अभाव र व्यवस्थापकीय चुनौतीहरू औँल्याउँदै सुझाव समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विस्तृत प्रतिवेदन बुझाएको हो ।  

१०. बहस
राजनीतिक दलका नेताहरुले सच्चिन तयार रहेको बताएका छन् । बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरी’ कार्यक्रममा सहभागी कांग्रेस, एमाले, रास्वपा, राप्रपा, जसपा लगायत दलका नेताहरुले यस्तो बताएका हुन् । 

११. वारुण यन्त्रको विकल्प
विपदका समयमा सानो कुलो पनि जीवनरेखा बन्न सक्छ भन्ने पाठ हालै अछामको साँफेबगरमा भएको आगलागीले सिकाएको छ । अछाम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आन्नद सारुका अनुसार बस्ती नजिक रहेका खोला र कुलोको पानीले मान्छेको जीवन बचाउन सकिन्छ भन्ने त्यो एक गतिलो उदाहरण हो ।

१२. शैक्षिक सुधार योजना

कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकाले ल्याएको नयाँ शिक्षा कार्यविधिले शैक्षिक सुधारको प्रयासलाई विवादमा तानेको छ । विद्यालय समायोजन, दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनका लागि ल्याइएको कार्यविधिमाथि राजनीतीकरण, क्षेत्राधिकार मिचेको आरोपसहित नगरको शिक्षा शाखामा तालाबन्दी र प्रदर्शन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप