शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: विस्तृत शान्ति सम्झौताको १९ वर्ष, सात मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, ०५ मङ्सिर २०८२, २३ : ५६
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा भयो, तर संक्रमणकालीन न्याय अझै अनिश्चित छ।
  • एमालेको 'नेसनल भोलेन्टियर फोर्स'को कमाण्डरमा गुण्डागर्दीबाट उदाएका व्यक्ति छन्, जसले विवाद निम्त्याएका छन्।
  • एमाले महाधिवेशनमा अध्यक्ष पदका लागि केपी ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा गर्दैछन्।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–

१. विस्तृत शान्ति सम्झौताको १९ वर्ष

तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता भएको शुक्रबार १९ वर्ष पूरा भएको छ । विस्तृत शान्ति सम्झौता भएपछि सशस्त्र विद्रोह गरिरहेको माओवादी मूलधारको राजनीतिमा आयो ।

२. एमालेको फोर्सका विवादित कमाण्डर

नेकपा एमालेले घोषणा गरेको ‘नेसनल भोलेन्टियर फोर्स’का कमाण्डर पुष्पराज श्रेष्ठ गुण्डागर्दीबाट उदाएका व्यक्ति हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भएका श्रेष्ठ एक समय सिन्धुलीमा चलेका गुण्डा थिए । तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि गुण्डागर्दीमा संरक्षण खोज्दै श्रेष्ठ तत्कालीन नेकपा (माओवादी)मा प्रवेश गरेका थिए ।

२०७५ भदौमा प्रहरीले उनलाई काठमाडौँको रातोपुलबाट पक्राउ गरेको थियो ।

३. ओली–पोखरेल आमनेसामने

मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने हुने भएका छन् ।

महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरु गठन गर्न बिहीबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवैले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने आन्तरिक घोषणा गरेसँगै दुई नेताबिच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

४. क्रिकेट

नेपाल प्रिमियर लिग (एनपीएल)मा साविकको उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेसँगै चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । यस्तै शुक्रबार पोखरा एभेन्जर्सलाई पनि १८ रनले गराएको हो ।

योसँगै पोखरा भने दोस्रो खेलमा पनि पराजित भयो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग पराजित भएको थियो ।

५. पासपोर्टको समस्या

तीन साताभित्रै पासपोर्टको पहिलो किस्ता आउने भएको छ ।

राहदानी विभागले लामो समयको प्रयासपछि अन्तरिम अवधिका लागि वार्ता सहमति गरी थप सात लाख राहदानी तथा सो को वैयक्तीकरण लगायतका सम्बद्ध सेवा आपूर्तिका लागि खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार आगामी तीन हप्ता भित्रै राहदानीको पहिलो किस्ता आउने गरी क्रमशः थप राहदानी आपूर्ति हुने भएको छ ।

६. प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरूलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरूलाई शुक्रबार सिंहदरबारमा विशेष निर्देशन दिएकी हुन् ।

७. कांग्रेस राजनीति

नेपाली कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा २०८१ कात्तिक १४ गते क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएको थियो । समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली सदस्य छन् । उक्त समितिले अहिलेसम्म क्रियाशील सदस्यता नवीकरणको काम सकेको छैन ।

थापाले नै पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने नभएमा विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । तर उनी आफैंलाई संयोजक बनाएर पार्टीले एक वर्ष अगाडि दिएको जिम्मेवारी भने आधा पनि पूरा भएको छैन ।

८. अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् ।

९. जेनजीसँग वार्ता

जेनजी र स्थानीय प्रशासनबिच बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रबार भएको वार्तामा जेनजीका मागहरू सम्बोधन गर्ने सहमति भएको छ ।

१०. थप गाडी किन्दै प्रहरी

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि प्रहरीले थप १०० वटा गाडी खरिद गर्न पाउने भएको छ ।

अर्थ मन्त्रालयले सहमति दिएसँगै प्रहरीले टेन्डर आह्वान पनि गरेको छ । मंसिर ७ मा बिड ओपन गरिने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । सय वटा पिकअप पट्रोल भ्यान खरिद गर्न लागिएको हो ।

११. पार्टी एकता

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र नेपाली कम्युनिस्ट पार्टीबिच एकता अन्तिम चरणमा पुगेको छ । तर एकताले जसपामा चिरा पर्ने स्पष्ट संकेत देखिएको छ ।

१२. भिसा बन्द भएको बेला कसरी यूएई गइरहेका छन् नेपाली कामदार ?

पछिल्लो समय वैदेशिक रोजगारीका सिलसिलामा बिदेसिनेको संख्या बढ्दो छ । वार्षिक लाखौँ युवा वैदेशिक रोजगारीका लागि साउदी अरेबिया, कतार, यूएई, ओमान, बहराइनलगायत मुलुकमा जाने गरेका छन् । 

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म (पहिलो चौमासिक) २ लाख ७३ हजार ८१० जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । जसमध्ये २ लाख ३९ हजार ९८६ जना पुरुष छन् भने ३३ हजार ८२४ जना महिलाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप