मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन

सोमबार, ०४ साउन २०८३, २२ : ००
सोमबार, ०४ साउन २०८३

आज २०८३ साउन ४ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन, बागमती सरकारबाट बाहिरिन भाखा सार्दै एमाले, आशिका तामाङको नाममा काटिएको चेक बाउन्सले खैलाबैला, पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीले गरे छलफल, श्रीलंकाबाट फर्के लगत्तै बढ्यो प्रचण्डको सक्रियता, छात्रालाई अश्लील म्यासेज गर्ने शिक्षकहरू पक्राउ लगायत छन् ।

१. सार्वजनिक बिदा पुनरवलोकन गरिने
सरकारले सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

२. बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्दै नयाँ मार्गदर्शन जारी गरेको छ ।

३. बागमती सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
बागमती सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेले भाखा सार्दै आएको छ । एमालेका मन्त्रीहरूले राजीनामा दिने भनिए पनि उक्त निर्णय तत्काल कार्यान्वयन नगर्ने भन्दै एमालेले भाखा सारेको हो ।

४. आशिका तामाङको नाममा काटिएको चेक बाउन्सले खैलाबैला
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङको नाममा काटिएको एक करोड ३५ लाख रुपैयाँको चेक बाउन्सले खैलाबैला मच्चिएको छ ।

५. पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीले गरे छलफल
प्रधानमन्त्री बालेन शाहले सोमबार पुँजीबजारका सरोकारवालासँग छलफल गरेका छन् । उनले जायज माग पूरा गर्ने आश्वासनसमेत दिएका छन् ।

६. श्रीलंकाबाट फर्के लगत्तै बढ्यो प्रचण्डको सक्रियता
श्रीलंका भ्रमणबाट फर्के लगत्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियता बढेको छ । प्रदेश सरकार फेरबदलको तयारी भइरहेको समयमा उनले छलफल थालेका छन् ।

७. छात्रालाई अश्लील म्यासेज गर्ने शिक्षकहरू पक्राउ
मोरङको सुन्दर हरैंचास्थित सुकुना माद्यमिक विद्यालयका छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई शिक्षक र एक चालक छन् ।

८. प्रदेश सरकारबारे के भन्छ कांग्रेस ?
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टी प्रतिपक्षविही प्रदेशको पक्षमा नरहेको प्रस्ट पारेका छन् । प्रदेशमा सरकार फेरबदलको तयारी भइरहेको समयमा उनले आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन् । 

९. सार्वजनिक खरिद ऐनको संशोधनले कस्तो प्रभाव पार्छ ?
सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन २०८३ कार्यान्वयनमा ल्याएसँगै निर्माण व्यवसायीले केही राहत महसुस गरेका छन् । सरकारले विकास निर्माणका काममा हुने गरेको ढिलासुस्ती अन्त्य गर्ने उद्देश्यले ऐनमा समयानुकुल सुधार गरेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

१०. विश्वकप फुटबलको उपाधि स्पेनलाई
अर्जेन्टिनालाई स्तब्ध तुल्याउँदै स्पेनले विश्वकप फुटबलको उपाधि जितेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप