बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार

शुक्रबार, २० माघ २०७९, २२ : ३७
शुक्रबार, २० माघ २०७९

आज मिति २०७९ साल माघ महिनाको २० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. कोर्स करेक्सनमा प्रचण्ड

०६२–०६३ पछि सरकारको नेतृत्व गर्ने अधिकांश प्रधानमन्त्रीले सिंहदरबार भन्दा पनि बालुवाटारलाई ‘मुकाम’ बनाएर शासन सत्ता चलाउने प्रयास गरे । यस कदमको विरोध र आलोचना भए पनि उनीहरुले त्यसलाई सुधारको अवसर ठानेनन् । 

पुर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइराला हुन् वा केपी ओली र शेरबहादुर देउवा नै किन नहुन्, उनीहरुले मन्त्रिपरिषद्का बैठकदेखि पार्टीका बैठक समेत बालुवाटारमै राख्ने गरेका थिए । तर, २०७९ मङ्सिरमा भएको आम निर्वाचनपछि प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल‘प्रचण्ड’ ले यो प्रवृत्तिलाई भङ्ग गरेका छन् । उनले पार्टीका बैठकहरु पार्टी कार्यालयमै राख्दै आएका छन् । सरकार सरकारी कामकाज सिंहदरबारबाट तिव्रता दिएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधिसभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो ।

२. खोप अभाव

 प्रत्येक दिन सरुवा रोग अस्पतालमा बुस्टर डोज खोज्दै पुग्नेहरू खोपको अभावले त्यत्तिकै फिर्ता हुन बाध्य भएका छन् । विदेश जाने प्रक्रियामा रहेका र खोज खोज्दै टाढा टाढाबाट आउनेहरू बुस्टर डोज खोप नपाएर फर्किने क्रम बढिरहेको स्वास्थ्यकर्मीहरू सुनाउँछन् ।

सरुवा रोग अस्पताल टेकुका सूचना अधिकारी भक्तबहादुर खड्काले विदेश जाने तयारी गरेकासहितका करिब १०० जना त्यत्तिकै फर्किने अवस्था बनेको बताए । कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएर लामो समयसम्म बुस्टर डोज नलगाई बसेका र विदेश जाने प्रक्रियामा रहेकाहरू सरुवा रोग अस्पतालमा खोप पाइने विश्वासका साथ पुग्ने गरेका छन् । 

३. सन्दीप लामिछाने प्रकरण

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको ए डिभिजन लिग फुटबलको तयारी तीव बनाइएको छ । एन्फाका अनुसार लिगका लागि सहभागी हुन १४ वटा क्लबले क्लब दर्ता गराएका छन् । जसअनुसार एन्फाले लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रमथ किस्ता स्वरुप जनही रु १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनले क्लबहरुलाई खेलाडी दर्ताको लागि यही माघ २९ गतेसम्मको मिति तय गरिएको पनि जनाए । फागुन १९ गतेदेखि हुने लिगमा डबल राउन्ड रोबिनको आधारमा १८२ खेलहरु खेलाइनेछ । ती खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा संचालन गरिने छ ।

४. विपक्षी मोर्चाको बैठक

 नेपाली कांग्रेस नेतृत्वको विपक्षी मोर्चाको बैठक बोलाइएको छ । कांग्रेसले शनिवार दिउँसो सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा विपक्षी मोर्चाको बैठक बोलाएको हो ।  कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ  ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । आज ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार १ बजे बस्नेगरी बैठक सरेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए । 

कपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेता श्रेष्ठ पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।

५. प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै व्यक्तिले उजुरी गर्दैमा राजनीतिक दल खारेज नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले संविधान र कानुनमा भएको व्यवस्थाले ब्यक्तिलाई सो अधिकार नहुने बताए ।  पत्रकारले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि आयोगमा उजुरी परेको बारेमा राखेको जिज्ञासाको जवाफ दिँदै थपलियाले सो कुरा बताएका हुन् । 

 प्रमुख निर्वाचन थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् ।  आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा भन्दा निकै मितब्ययी भएर खर्च गरेको बताए । 

६. नेपाल–मलेसिया

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका हुन् ।

७. मधेसम मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशमा नेकपा माओवादी केन्द्र असन्तुष्ट बनेको छ । सत्ता साझेदार दलहरुबीच भएको छलफलमा आफूले रोजेको मन्त्रालय नपाएपनि माओवादी केन्द्र असन्तुष्ट बन्दै सरकारमा सहभागी नभएको हो ।

माओवादीले विकासेसहित दुई मन्त्रालय माग गरेको थियो । तर, मुख्यमन्त्री सरोज कुमार यादवले उद्योग मन्त्रालयसहित अर्को एक राज्यमन्त्री दिने बताएपछि सो पार्टी अन्तिम समयमा आएर सरकारमा सहभागी नभएको हो ।

८. ‘नेपाली गर्ल’को नाममा ठगीधन्दा

‘नेपाली गर्ल’ नामक एपमार्फत अनधिकृतरुपमा व्यक्तिको बैंक खातासम्म पहुँच राखेर रकम चोर्ने कार्यमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।

९. प्राधिकरणको निर्देशन

नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान) ले हवाई सुरक्षा सम्बन्धी ६ बुँदे निर्देशन जारी गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्यानले हेलिकप्टर बाहेक अन्य वायुयानले भीएफआर फ्लाइट अन्तर्गत स्टेबलाइज अप्रोच गर्दा सर्ट टेकअफ र ल्यान्डिङ (स्टोल) विमानस्थलहरूमा जमिनको सतहबाट कम्तीमा ५ सय फिट तथा अन्य विमानस्थलहरूमा कम्तीमा एक हजार फिटको उचाइ अनिवार्य कायम गर्न निर्देशन गरेको हो ।

वयुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको छ । शुक्रवार वायुसेवा सञ्चालक संघले काठमाडौंमा हवाई सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो ।

१०. योपनि...

लुम्बिनी प्रदेशको पाँचौ प्रदेशसभा बैठक आजबाट सुरु भएको छ । बैठकले प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिमा सदस्यको मनोनयन गरेको छ । प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौं बैठकले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गरेको हो ।

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन् ।

कानुनी, प्राविधिक एव संरचनागत क्षमता अभावले अत्यधिक हवाई दुर्घटना हुने गरेको भन्दै नेपालको हवाई यातायातलाई सुरक्षित बनाउन  माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रिय भूमि आयोगले कृषि मन्त्री ज्वालाकुमारी साहले बाराको टागियाँवस्तीका स्थानीयहरूलाई बाँडेको जग्गाको निस्साको कुनै अर्थ नभएको र जनतालाई झुक्याउने काम मात्रै भएको जनाएको छ ।

सर्वोच्च अदालतले लोकसेवा आयोग पास गरी जुनसुकै तहमा ९सङ्घ, प्रदेश र स्थानीय० कार्यरत बहालवाला कर्मचारीलाई आयोगले खोल्ने विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले शुक्रवार यस्तो आदेश दिएको हो । 

नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले मेडिकल रिपोर्टहरु सामान्य रहेको बताएका छन् । गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि काठमाडौंको सिभिल अस्पतालमा भर्ना भएका थिए । 

१६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंसिर १७ मा मामाघरबाट हराएकी ती किशोरीलाई माघ १७ मा भारतको नयाँ दिल्लीबाट उद्दार गरिएको मानव बेचविखन ब्यूरोका एसपी दानबहादुर मल्लले बताए । प्रहरीले माघ १९ मा ती किशोरीलाई एयर इन्डियाको उठान नम्बर एआई– २१३ मार्फत काठमाडौं ल्याएको थियो । सुनौली हुँदै गाडीमा राखेर नयाँदिल्ली र पहाडगञ्जमा लगेर आरोपीहरुले किशोरीलाई बन्धक बनाएको आरोप छ ।

नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । “नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ । 

पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा छन् । मङ्गलवारदेखि कटवाललाई आइसियुमा राखेर उपचार भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) कृष्णप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।


 राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड बृद्धि र आंशिक तथा कक्षा ११ का आंशिक र ग्रेड बृद्धिको परीक्षा आवेदन फाराम खुला गरेको हो ।  आवेदन फाराम बुझाउने मिति यहि माघ मसान्तसम्म तोकिएको छ । विलम्ब शुल्क तिरेर फागुन १५ गतेसम्म फाराम भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फाराम शुल्क ६ सय रूपैयाँ तोकिएको छ । 

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप