शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ११ वैशाख २०८१, २१ : ३३
मङ्गलबार, ११ वैशाख २०८१

आज २०८१ वैशाख ११ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • १८ औँ लोकतन्त्र दिवस आज मनाइयो

काठमाडौँ । नेपालमा लोकतन्त्र स्थापना भएको १८ औँ वर्ष पूरा भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२’६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिकासामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । 

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनर्स्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । 

२०५९ साल जेठ ८ मा विगठन भएको संसद् आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । ०६२÷०६३ को जनआन्दोलनले बनाएको मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । त्यही घोषणालाई आधार मान्दै लोकतन्त्र दिवस मनाउन थालिएको हो । त्यसैको जगमा संविधानसभाको गठन भई नयाँ संविधान जारी भएर मुलुक यहाँसम्म अघि बढेको हो । 

  • कतारका राजा अमिर काठमाडौंमा

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका थानी मंगलबार दिउँसो पौने ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

उनलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए ।  दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका हुन् । 

 

  • जनकपुर घटना

धनुषाको जनकपुरमा मंगलबार एकै दिन ४ जना मृत अवस्थामा फेला परेका छन् । धनुषा प्रहरीका अनुसार २ जना झुन्डिएको अवस्थामा फेला परेका हुन् भने बाँकी २ जनाको मृत्यु पनि शङ्कास्पद रहेको छ ।

  • अभिनेता ओली

 एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को छायांकन सुरु गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालय च्यासल उनले फिल्मको सुटिङ सुरु गरेका हुन् । निर्धारित समय भन्दा करिब ४ घण्टा ढिलो गरेर उनले फिल्मको छायांकन सुरु गरेका हुन् । फिल्ममा उनको प्रधानमन्त्रीको भूमिका रहेको छ ।

  • लगानी बोर्ड

लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्ध प्रस्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार काठमाडौँमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रस्तुतिका लागि १४८ वटा परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराएको हो । 

  • शृङ्खलाबद्ध सहकारी चोरी

 मोरङ र झापामा शृङ्खलाबद्ध सहकारी चोरी भइरहन्थ्यो । ६ महिनादेखि लगातार चोरी भएको घटना पत्ता नलाग्दा अनुसन्धान अधिकृतहरू हैरान थिए । ६ महिनाको प्रयासपछि चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा ६ जना आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले रातोपाटीलाई बताए । पक्राउ गरेपछि थाहा भयो उनीहरू मकवानपुरको फाखेलबाट गएर पूर्वमा चोरी आतंक मच्चाउँदै आएका रहेछन् ।

  • कर्णालीमा भागबण्डा टुङ्गियाे

कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबिच मन्त्रालय भागबण्डा टुङ्गिएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफलमा मन्त्रालय भागबण्डाको विषय टुङ्गिएको हो ।

  • बालाजुको बाइसधारा मेला

काठमाडौँको बालाजुमा आज बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । 

  • भण्डारीलाई पितृशोक

नेकपा (एमाले) बाजुरा जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ । उनका बुवा बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नं. १, भण्डारीगाउँ निवासी चक्र भण्डारीको मंगलबार असामयिक निधन भएको हो ।

  • स्थायी कमिटी बैठक आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न  बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप