सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, ११ जेठ २०८१, २१ : ५०
शुक्रबार, ११ जेठ २०८१

आज मिति २०८१ साल जेठ महिनाको ११ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. सभामुखको भूमिकाप्रति कांग्रेस असन्तुष्ट

सभामुख देवराज घिमिरेको भूमिकाप्रति नेपाली कांग्रेसले असन्तुष्टि प्रकट गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदहरूले बोल्नका लागि समय माग्दा सभामुख देवराज घिमिरेले समय दिएनन् ।

सभामुख घिमिरेले संसदमा शून्य समय, विशेष समय र आकस्मिक समय केही पनि नराख्ने निर्णय भएको बताए । सभामुखले यति भनेपछि कांग्रेसका सांसदहरूले उनीसँग माग गरे– ‘विपक्षी दललाई बोल्न दिनुपर्यो ।’

सभामुखले संसदको नियमित काम अघि बढाउन कोसिस भइरहेको बताए । विपक्षीहरूले उठाइरहेको सहकारीको विषय कार्यदलमा पनि छलफल जारी रहेकाले सभालाई पनि अगाडि लैजान उनले आग्रह गरे ।

२. सर्वोच्चलाई मुख्यमन्त्रीको जवाफ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहितका प्रतिवादीले सर्वोच्च अदालतमा कोशी सरकार गठनविरुद्धको रिट निवेदन खारेज गर्न माग गरेका छन् । संवैधानिक रुपमा नयाँ सरकार गठन भइसकेकाले रिटको औचित्य नभएको उनीहरूको जिकिर छ ।

कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीकै हैसियतमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चकै आदेश बमोजि विपक्षीहरूले जवाफ पेस गरेका हुन् ।

३. आईजीपीको अवकाश उमेर थप्न प्रस्ताव

 नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी)को अवकाश उमेर हद २ वर्ष थप्न प्रस्ताव गरिएको छ ।

मस्यौदाका क्रममा रहेको नेपाल प्रहरी ऐन र सशस्त्र प्रहरी विधेयकमा आईजीपीसहित उच्च अधिकृतहरूको उमेर हद थप्ने प्रावधान राख्न लागिएको गृह मन्त्रालय सम्बद्ध उच्च स्रोतले रातोपाटीलाई जानकारी गराएको छ ।

 ५८ वर्षमा अनिवार्य अवकाश लिनु पर्ने विद्यमान प्रावधान परिवर्तन गरी नयाँ कानुनमा ६० वर्ष बनाउन लागिएको हो ।

४. बालुवाटार बैठक

सहकारी ठगीको विषयमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षका शीर्ष नेताहरूको बैठकले शनिबार बस्ने कार्यदल बैठकमा आ–आफ्नो प्रस्ताव पेस गर्नेगरी बैठक सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

 शुक्रबारको बैठकमा कार्यदलमा भएको प्रगतिबारे एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ब्रिफिङ गर्ने काम भएको पाण्डेले बताए ।

५. सिरोहिया थप तीन दिन हिरासतमा

जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो ।

६. कोरोनाको नयाँ भेरियन्ट

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमाकोरोना भाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको हो ।

७. कामिरीता स्वागत

३० औँ पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका कामीरिता शेर्पा काठमाडौँ  आइपुगेका छन् । कीर्तिमानी हिमाल आरोही शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।

८. द्रुत मार्ग

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको छ ।

९. ७५ जिल्लामा डेंगु

डेंगु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।

१०. प्रदेश समाचार

प्रतिपक्षी दल उपस्थित नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले बहिष्कार गरेको छ । राप्रपा पनि विभिन्न काम देखाएर संसद्‌मा उपस्थित भएन ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप