शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
एमाले विधान महाधिवेशन अपडेट एकैठाउँमा हेर्नुहोस्
एमाले विधान महाधिवेशन

LIVE UPDATES : एमाले विधान महाधिवेशन अपडेट एकैठाउँमा हेर्नुहोस्

शुक्रबार, २० भदौ २०८२, १६ : ५२
Live

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । ललितपुरमा सुरु भएको महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । 

एमाले विधान महाधिवेशन : ४ वटा प्रतिवेदन पेस, कर्ण थापाको फरक मत के हुन्छ ?

काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशनमा पहिलो दिन उद्घाटनसँगै चार वटा प्रतिवेदनमात्र पेस भएका छन् । 

जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठानिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवदन पेस भएको हो । 

शनिबार निर्वाचन आयोग,लेखा र अनुशासनको आयोगका प्रतिवेदन पेस हुने छन् । स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिन नै पेस हुने कार्यसूची भएपनि पेस हुन सकेन । 

एमाले विधान महाधिवेशन : ५ सदस्यीय प्रस्ताव लेखन कमिटी

काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशनको बन्दसत्रमा नेता योगेश भट्टराईको नेतृत्वमा ५ सदस्यीय प्रस्ताव लेखन कमिटी पनि बनेको छ । 

यो समितिमा भट्टराईसहित, ज्वाला साह, ईश्वरी रिजाल, माधव ढुङ्गेल र उशाकला राई रहेका छन् । यस्तै महाधिवेशनमा ७ सदस्यीय बहस नोट कमिटी बनेको छ ।

बहस नोट कमिटीमा नेता लेखराज भट्ट,पद्मा अर्याल, किरण गुरुग, सूर्यबहादुर थापा,जुलीकुमारी महतो,विष्णु रिजाल र निरज आचार्य रहेका छन् ।

एमाले अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने उपाध्यक्ष पौडेलको प्रस्ताव (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका कमिटीका सदस्यहरूको सङ्ख्या फेरबदल हुने भएको छ । 

दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधान पारित भए मौजुदा कमिटी र सङ्ख्यामा फेरबदल आउने भएको हो । त्यस्तै पार्टी अध्यक्षको अधिकार पनि थपिने भएको छ ।

एमालेले प्रस्तावित विधानअनुसार अबदेखि एमालेको केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ । हालको ३ सय १ सदस्यीय कमिटीलाई घटाएर २ सय ५१ कायम गर्ने उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेका छन् ।

एमाले विधान संशोधन प्रस्ताव : वरिष्ठ उपाध्यक्षको व्यवस्था हट्याे, केन्द्रीय कमिटीको संख्या घट्याे

ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा ३ सय १ सदस्यीय कमिटीलाई घटाएर २ सय ५१ कायम गरिएको छ ।

उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको सङ्ख्या २ सय ५१ को हुने व्यवस्थालाई अघि सारिएको छ । प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।

विधानको धारा १६ (२) मा ३ सय १ को केन्द्रीय कमिटीलाई संशोधन गर्दै १५ सदस्यीय पदाधिकारी सहित २ सय ५१ को केन्द्रीय कमिटी हुने प्रस्ताव उपाध्यक्ष पौडेलले गरेका छन् । 

लम्बियो एमाले विधान महाधिवेशन

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनको समय लम्बिएको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार शुक्रबार पहिलो दिन ५ बजेसम्म उद्घाटनसहित सबै प्रतिवेदन र प्रस्तावहरू पेस गरिसक्ने भनिएपनि ५ बजेसम्म २ वटा प्रतिवेदन मात्र पेस भएका छन् ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पाँच बजेसम्म अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रस्ताव बन्दसत्रमा पेस भएको छ । 

त्यसपछि उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पेस हुनेछ । मूल तीन वटा प्रस्ताव र प्रतिवेदन पेस भएपछि विभिन्न आयोगहरूका प्रतिवेदन पेस हुनेछन् । ‘यी प्रतिवेदन पेस भएपछि आठ बजेतिरमात्रै पहिलो दिनको महाधिवेशन सकिने छ’, गौतमको भनाइ छ । 

जबज विस्थापित गर्ने ओलीको संकेत, अघि सारे ‘नेपाली विशेषताको समाजवाद’

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साउन पहिलो साता आफ्नै निवास भंगालमा केही सञ्चारकर्मीहरूसँगको भेटका क्रममा भनेकी थिइन्, ‘एमालेले जबज नै छोड्ने त होइन भन्ने चिन्ता लाग्न थालेको छ ।’

भण्डारीले जतिबेला यस्तो चिन्ता प्रकट गरिरहेकी थिइन्, त्यतिबेला बेला उनको सक्रिय राजनीति र पार्टी सदस्यताको बारेमा पार्टीभित्र र बाहिर समेत चर्को बहस भइरहेको थियो । 

भण्डारीले कुन सूचना र उद्देश्यका आधारमा जबजको कुरा कोट्याएकी हुन्, त्यो उनैले जानुन् । तर, उनले यस्तो चिन्ता प्रकट गरेको डेढ महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ विचार अघि सारेका छन् ।

एमाले विधान महाधिवेशनः पार्किङ सडकमै, तस्बिरहरु

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनस्थल ललितपुरको गोदावरीमा पार्किङ सडकमा समेत गरिएको छ ।

तोकिएको स्थानमा गाडी नअटेपछि सडकमै समेत नेता कार्यकर्ताको सवारी साधन पार्किङ गरिएको हो । 

शुक्रबार सुरु भएको महाधिवेशन आइतबारसम्म चल्नेछ । 

एमालेकाे पार्टी सदस्य संख्या ६ लाख ६३ हजार

काठमाडौँ । नेकपा एमालेले पार्टी सदस्य सङ्ख्या सार्वजनिक गरेको छ । 

शुक्रबार दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा  २०८२ सालमा नवीकृत पार्टी सदस्यको कुल विवरण सार्वजनिक गरेको हो । 

सार्वजनिक तथ्याङ्क अनुसार एमालेका पार्टी सदस्य सङ्ख्या ६ लाख ६२ हजार ९६१ रहेका छन् ।

‘मुर्धन्य नेता कुहिरोका काग भए, कार्यकर्ताले पार्टी बचाए’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका मुर्धन्य नेताहरु कुहिरोका कागजस्तै भएको टिप्पणी गरेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टी बचाउन कार्यकर्ताको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

एमालेको इतिहास र विरासत निकै लामो भएको उल्लेख गर्दै उनले नेताहरु कुहिरोका काग जस्तै बनेपनि कार्यकर्ताहरुले पार्टी जोगाउँदै आएको बताए । करिब २४ सय नेता कार्यकर्तामाझ ओलीले बाइबलको कथा सुनाउँदै २०७८ सालमा दोस्रो पटक नेताहरुले पार्टी बिभाजन गरेर चोट लगाएपनि कार्यकर्ताको अडान र विश्वासका कारण पार्टीमा ठुलो क्षति हुन नपाएको स्मरण गरे ।

एमाले निर्माणमा लागेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम अहिले उक्त पार्टीमा छैनन् । नेपाल र खनालले उनै ओलीसँग विद्रोह गरेर २०७८ सालमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पछिल्लो समय गौतम पनि नेकपा एकीकृत समाजवादीमा पुगेका छन् ।

एमालेको परराष्ट्र नीति : राष्ट्रिय सम्मानका आधारमा सबैको बराबर

काठमाडौँ । नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यतासहित परराष्ट्र नीतिलाई सात बुँदामा विश्लेषण गरेको छ ।

स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित बाह्य सम्बन्ध, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता, व्यापक सहयोग र साझेदारी, सार्थक क्षेत्रीय सहयोग: परिणाममुखी बहुपक्षीयता, स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चितता, न्यायपूर्ण समतामूलक विश्वव्यापी व्यवस्था र मनावतको हितमा आधुनिक प्रविधिको प्रयोग, नवीन दृष्टिकोण रहेका छन् ।

एमाले अध्यक्ष ओलीले दोस्रो विधानमा महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रहरू बिचको ध्रुवीकरण र विभाजनका बहाना हुन नहुने उल्लेख छ । 

ओलीको नजरमा कस्ता छन् कांग्रेस, माओवादी, राप्रपा र रास्वपा ?

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य राजनीतिक पार्टीहरू को कस्ता छन् भन्नेबारे आफ्नो दृष्टिकोण दस्तावेजमा उल्लेख गरेका छन् ।

आजबाट सुरु एमालेको दोस्रो विधान महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसवादी र नयाँ शक्ति भनिएका रास्वपाबारे  विश्लेषण गरेका हुन् ।

९८ पेज लामो ओलीले राजनीतिक प्रतिवेदनमा सत्ता सहयात्री कांग्रेसबारे छोटो टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले कांग्रेसलाई लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माणमा ‘टेस्टेड’ भइसकेको शक्तिका रूपमा चित्रण गर्दै पुरानो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेपनि संसारमा असफल भएको नवउदारवादी नीतिले नेपालमा अगुवाइ गर्न नसक्ने उल्लेख गरेका छन् । 

लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्डेड छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीबारे आफूले चीनसँग स्पष्ट कुरा राखेको बताएका छन् । 

आफूले चीनका राष्ट्रपति सी जीनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमिलाई दुई ठुलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमति जनाएको बताएका हुन् । 

शुक्रबार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा अडियो, भिडियोहरूमा रेकर्डेड रहेको र कुटनीतिक नोटहरूमा पनि समावेश गरिएको बताए । 

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ :  प्रधानमन्त्री ओली

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबिचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् । 

उनले यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको स्पष्ट पारे ।

ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताए । प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जीएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट पारे । 

सामाजिक सञ्जाल बन्दको निर्णय केपी ओलीले नै गरे अवज्ञा

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने निर्णय गर्‍यो । सोहीअनुसार इन्टरनेट सेवा प्रदायकले धमाधम फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्न सुरु गरिएको जानकारी गराइरहेका छन् ।

तर, सोही निर्णय गराउने प्रधानमन्त्री केपी ओलीले भने अझै फेसबुकमा आफ्नो गतिविधि जारी नै राखेका छन् । ओलीको स्वामित्वको बालकोट र प्रधानमन्त्रीको सचिवालय पेजमा एमालेको विधान महाधिवेशनसम्बन्धी पोस्ट भएको हो । उक्त पोस्टलाई लिएर ‘आफै निर्णय गर्ने आफैँ अवज्ञा गर्ने ?’ भन्दै कतिपयले प्रश्न उठाएका छन् ।

541118225_1281117556833681_5918759883635402482_n

पार्टीभित्र केही अनुशासनहिनता, बेलगाम प्रवृत्ति र अराजक क्रियाकलाप देखियो : ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र केही अनुशासनहीनता, बेलगाम प्रवृत्ति र अराजक क्रियाकलापहरू देखिएको स्वीकार गरेका छन् ।

पार्टीको शुक्रबारदेखि ललितपुरमा सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्ता कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । तर, उनले यी समस्या पार्टी कार्यकर्ताहरूको ठुलो योगदान र समर्पणसँग तुलना गर्दा साना मात्र भएको स्पष्ट पारे ।

ओलीले पार्टीलाई विभाजनबाट बचाउन, सुदृढ गर्न र भविष्यमा अग्रसर बनाउन कार्यकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै विशेष गरी महिला कार्यकर्ताहरूको योगदानलाई उल्लेखनीय बताए । उनका अनुसार, महिला दिदी बहिनीहरूको निष्ठा, अटल अडान र समर्पणकै कारण पार्टी अझ सबल बनेको छ ।

एमाले सरकार हाई–हाई हुँदा भिजिट भिसाको हल्ला चलाइयो : ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार लोकप्रिय हुँदा त्यसलाई बदनाम गर्नका लागि भिजिट भिसामा मान्छे लाने जस्ता हल्ला चलाइएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीको शक्ति र लोकप्रियता बढ्दा केही शक्तिहरूले त्यसलाई कमजोर पार्न विभिन्न किसिमका षड्यन्त्र र गलत प्रचारबाजी गरेको बताए ।  

‘हाम्रो सरकारको लोकप्रियता बढेपछि, देश अगाडि बढ्न थालेपछि, हाम्रा कामकारबाहीहरू राम्रा हुन थालेपछि, कसैलाई मन नपरेर होला, भिजिट भिसामा मान्छे लाने भनेर हल्ला चलाइयो,’ ओलीले भने ।

एमाले विधान महाधिवेशनस्थलमा बाँडिदै विद्या भण्डारीको सन्देशसहितको चिठी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको छ ।

उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याएका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गरे ।

सच्चाइलाई लिएर हाम्रो विरोध गर्ने सामर्थ्य कसैसँग छैन : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनमा कमी देखिएको बताएका छन् । यद्यपि एमाले उज्ज्वल भविष्यतर्फ अघि बढिरहेको समेत उनले दाबी गरेका छन्।

शुक्रबारदेखि  ललितपुरको गोदावरीमा सुरु भएको विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सशक्त रूपमा अघि बढिरहेको बताए। उनले भने, ‘पार्टीमा अनुशासनमा कमी, अलि बेलगाम हुन पाए हुने भन्ने प्रवृत्ति छ। तर पनि हामी उज्ज्वल भविष्यतर्फ अगाडि बढेका छौँ।’

उनले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको ‘मिसन २०८४’ मा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा प्रस्तुत गर्ने स्पष्ट गरे । ओलीका अनुसार एमालेका नीति–कार्यक्रम नै राष्ट्रिय नीति हुन् र त्यहीमार्फत सामाजिक न्याय, विकास र सामूहिक आर्थिक सुधार हासिल गर्न सकिनेछ।

एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन (तस्बिरहरु)

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको  छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गरेका छन् ।

bidhan-ahibesan-uml (1)

ललितपुरको गोदावरी मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारसम्म महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकलगायतलाई स्वयंसेवकहरूले व्यवस्थापन तथा सहजीकरण गरिरहेका छन् । महाधिवेशन हलमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ ।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु

ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । 

तीन दिनसम्म ललितपुरको गोदावरीस्थितज सनराइज हलमा आयोजना गरिएको महाधिवेशनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन् ।

सम्वोधनपछि अध्यक्ष लगायतले प्रस्ताव र प्रतिवेदन पेस गर्नेछन् ।

नेकपा एमालेको विधान महाधिवेशन (लाइभ)

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । तीन दिनसम्म ललितपुरको गोदावरीस्थितज सनराइज हलमा आयोजना गरिएको महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन् ।

संविधानपछि अध्यक्ष लगायतले प्रस्ताव र प्रतिवेदन पेस हुनेछन् ।

ओलीलाई झलनाथले दिए चार सुझाव

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्र गम्भीर अन्तरसङ्घर्ष चलिरहेको बताएका छन् ।

शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन सन्दर्भमा रातोपाटीसँग कुरा गर्दै खनालले चार बुँदे सुझावसमेत दिएका छन् ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच चलिरहेको अन्तसङ्घर्ष कति सही वा गलत छन् भन्ने भोलिको दिनमा निर्क्योल हुने उनको भनाइ छ ।

तस्बिरमा हेर्नुहोस् एमाले विधान महाधिवेशनस्थल बाहिरकाे चहलपहल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि प्रारम्भ हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

 पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ । 

एमाले विधान महाधिवेशन : १२ मिनेटमा उद्घाटन, ३ दिनसम्म के हुन्छ ?

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीनदिन सम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्दैछन् ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि आयोजकका हैसियतमा ३ सय १५ जना  २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरू काठमाडौँ आइपुगिसकेका छन् ।

महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया