१२ बजे १२ समाचार: चुनावको पक्षमा उभियो माओवादी, सरकारमा जेनजीको सहभागिता अन्योलमा
सारांश
- जेनजी समूहमा सरकारमा सहभागिताबारे मतभिन्नता देखिएको छ, जसले अन्योल सिर्जना गरेको छ।
- माओवादी केन्द्र चुनावको पक्षमा प्रस्ट रूपमा उभिएको छ र चुनावमा जाने निर्णय गरेको छ।
- सामाजिक सञ्जालमा केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै अभियान चलिरहेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. सरकारमा जेनजीको सहभागिता अन्योलमा
अन्तरिम सरकारमा आफ्नो प्रतिनिधित्वको सवालमा जेनजी समूहभित्र मतभिन्नता देखिएको छ । जेनजीका विभिन्न समूहमध्ये कोही सरकारमा जानुपर्ने पक्षमा छन् भने कोही विपक्षमा । परिणामस्वरुप सरकारमा जेनजीको प्रतिनिधित्व अन्योल भएको हो ।
२. चुनावको पक्षमा उभियो माओवादी
नेकपा माओवादी केन्द्र चुनावको पक्षमा अझ प्रस्ट भएर उभिएको छ । सोमबार बसेको सचिवालय बैठकले चुनावमा जाने निर्णय गरेको हो ।
३. ओली र लेखकलाई पक्राउ गर्न मागसहित सामाजिक सञ्जालमा अभियान
जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ ।
४. सात सहसचिवको सरुवा
सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी)हरूको सरुवा गर्ने निर्णय गरेको हो ।
५. निर्वाचनको कार्यतालिका सार्वजनिक
आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेको हो ।
६. एमालेमा नेतृत्वबारे बहस
नेकपा एमालेमा केपी शर्मा ओलीकै नेतृत्व कायम राखेर अघि बढ्ने या विकल्प खोज्ने भन्नेबारे बहस चल्न थालेको छ । पार्टी कमिटीभित्र औपचारिक बैठकमा नभए पनि नेताहरू अनौपचारिक फोरममा यसबारे चर्चा गर्न थालेका छन् ।
७. राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक भोलि
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक आह्वान गरेकी छन् । बैठक भोलि (मंगलबार) बिहान साढे ११ बजे बस्ने भएको छ ।
८. टिकट नपाउँदा इलाम जान पाएनन् दुई मन्त्री
हवाई टिकट नपाएका कारण दुई मन्त्री इलाम जान पाएनन् । हालैको अविरल वर्षापछिको बाढी तथा पहिरोबाट ठुलो क्षति भएको इलाममा निरीक्षणका लागि गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ जान लागेका थिए ।
९. स्वकीय सचिव सुविधा
संघीय सरकारले मितव्ययिता अपनाउँदै सांसद र राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गरे पनि कर्णाली प्रदेशमा यसको कार्यान्वयनमा अलमल देखिएको छ ।
सुविधा खारेज गर्ने विषयमा कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबिच मतभेद देखिएको हो । ‘जेनजी’ आन्दोलन पश्चात् बनेको अन्तरिम सरकारले असोज ५ गते मन्त्रीस्तरीय निर्णयमार्फत् सांसदको स्वकीय सचिव सुविधा खारेज गर्ने निर्णय गरेको थियो ।
१०. सार्वजनिक बिदाबारे दोहोरो सूचनाले कर्मचारी अन्योलमा
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सोमबारका लागि दिइएको ‘सार्वजनिक बिदा’ खारेज गर्यो । अविरल वर्षासँगै बाढी र पहिरोको जोखिमका कारण गृह मन्त्रालयको निर्णय बमोजिम प्रशासनले यस्तो निर्देशन दिएको थियो । प्रशासनको निर्देशन अनुसार अनुसार आज सबै सरकारी कार्यालय खुल्नुपथ्र्यो, तर आज काठमाडौँमा अधिकांश सरकारी कार्यालय खुलेनन् ।
११. इन्जिनियर बन्न हिँडेका झलनाथ खनाल यसरी राजनीतिमा मोडिए
भदौ २४ पूर्वप्रधानमन्त्री झलनाथ खनालको जीवनमा एकाएक अकल्पनीय घटना आइदियो । जेनजी आन्दोलनको निशानामा खनालको घर पनि पर्यो । उनको घर मात्र खरानी भएन, जीवन संगीनीलाई प्रदर्शनकारीले जिउँदै जलाइदिए ।
त्यसदिन बिहान खनाल, उनकी पत्नी रविलक्ष्मी चित्रकार, छोरा निर्भीक घरै थिए । आन्दोलनकारीले घरमा ढुंगामुडा बर्साउन थालेपछि उनलाई सुरक्षाकर्मीले जोगाए, तर रविलक्ष्मी घरमै फसिन् । घरसँगै जलिन् रविलक्ष्मी । खैर उनी बाँच्न सफल भइन् ।
१२. वडा सदस्य डल्लीदेवी ५२ वर्षको उमेरमा १ कक्षामा पढ्दै
अक्षर चिन्ने अठोटका साथ कञ्चनपुरको लालझाडी गाउँपालिका–४ की वडा सदस्य डल्लीदेवी चौधरी १ कक्षामा भर्ना भएर साना बालबालिकाका साथ पढ्न थालेकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण