शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: प्राधिकरणले उठायो १८ करोड ३० लाख बक्यौता किस्ता, चार महिनादेखि ठप्प रसुवागढी नाका

बिहीबार, २७ कात्तिक २०८२, २३ : ५६
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूबाट १८ करोड ३० लाख रुपैयाँ असुल गरेको छ।
  • रसुवागढी नाका चार महिनादेखि बन्द छ, चीनले बेलिब्रिज जडान नगर्दा समस्या भएको छ।
  • पूर्व आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश जान रोक लगाइएको छ र उपत्यका छाड्न अनुमति लिनुपर्ने भएको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. बक्यौता

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् सुविधा लिएर यसअघि बक्यौता तिर्न नमानेका उद्योगहरूबाट पहिलो किस्ताबापत १८ करोड ३० लाख रुपैयाँ असुली गरेको छ । करिब सात वर्ष लामो विवादपछि प्रायः सबै ठुला उद्योगले प्राधिकरणलाई पहिलो किस्ताको बक्यौता तिरेका छन् ।

२. रसुवागढी नाका

गत असार २४ गते लेन्देखोलामा चीनतर्फबाट आएको बाढीले १८ जनाको मृत्यु र रसुवागढी नाकामा ठुलो भौतिक क्षति भयो । बाढीले मितेरी पुल बगाएपछि रसुवागढी नाका चार महिनादेखि ठप्प छ । चीनले तत्काल बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याउने भनेपनि अहिलेसम्म काम हुन सकेको छैन ।  

३. खापुङमाथि एक्सन

आजैबाट अवकाश पाएका नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ । साथै खापुङले उपत्यका छाड्न समेत अनुमति लिनुपर्ने भएको छ ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो । जेनजी पुस्ताको आन्दोलनका घटनाबारे जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको थियो ।

४. एनपीएल

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि टिकट बिक्री खुला गरिएको छ । 

५. कांग्रेस बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी र सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ ।

गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आज ठ्याक्कै एक महिनामा पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो ।

६. मधेस प्रदेश

राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्देशन बिनै मधेस प्रदेशको मन्त्री बनेकी कञ्चन विच्छालाई सांसद पदबाट हटाउन सिफारिस गरेको छ।

अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बिहिबार बसेको बैठकले उनलाई सांसदबाट फिर्ता बोलाउने र पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

७. भीम रावलको ‘कमब्याक’ले तरङ्गित सुदूरपश्चिम, कस्तो पार्ला प्रभाव ?

नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा सुदूरपश्चिमका एक प्रभावशाली वामपन्थी नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा सामेल भएसँगै सुदूरपश्चिमको राजनीतिमा तरङ्ग पैदा भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सैद्धान्तिक र राजनीतिक संघर्षपछि पार्टीबाटै कारबाहीमा परेका रावल ‘मातृभूमि जागरण अभियान’ नामक आफ्नै समूह हुँदै अन्ततः विभिन्न १० दल मिलेर बनेको नेकपामा समाहित भएका हुन् ।

८. जनमतबारे फैसला

जनमत पार्टीको दल विभाजन रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चको पूर्ण इजलासले सीके राउतको पक्षमा फैसला सुनाएको छ ।

सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक  छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

९. आयोगको निर्णय

निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाएको छ । अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने भएको छ।

१०. नयाँ आईजीपी

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जुनियर प्रहरी अधिकृत सम्मलाई आपतकालीन सहुलियत कर्जा दिने निर्णय गरेका छन् । उनले वरिष्ठ सईसम्मको लागि प्रहरी कल्याण कोषबाट आपतकालीन कर्जा दिने निर्णय गरेका हुन् ।

११. प्रगतिशील अभियान

प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समिति बनाएको छ । पूर्वमाओवादीका केन्द्रीय सदस्य, विद्यार्थी नेतादेखि पूर्वजनमुक्ति सेना, वाईसीएल, पत्रकार लगायतलाई समेटेर ३१ सदस्यीय संयोजन समिति बनाइएको हो ।

१२. नेपाल–भारत सम्झौता

भारत र नेपालबिच रेलमार्ग हुँदै हुने व्यापारिक सम्पर्कलाई थप विस्तार गर्न दुबै देशले नयाँ सम्झौता गरेका छन्।

भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाबिच बिहीबार नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय बैठकमा ‘ट्रान्जिट सन्धिको प्रोटोकल’ संशोधन गर्ने एलओईमा हस्ताक्षर गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप