बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान [Live Updates]
एमाले महाधिवेशन

LIVE UPDATES : एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान [Live Updates]

मङ्गलबार, ०१ पुस २०८२, ११ : २६
Live

सारांश

  • नेकपा एमालेको ११औं महाधिवेशनमा विभिन्न पदमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
  • लुम्बिनी प्रदेशबाट महिला र मधेशी क्लस्टरतर्फका युवा सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्।
  • पार्टीको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा पनि निर्विरोध चयन भएको छ।

काठमाडौँ । नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा आज (मंगलबार) नयाँ नेतृत्व चयनको लागि आज मतदान हुँदैछ । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा खडा भएका छन् । निर्वाचन आयाेगले जारी गरेकाे कार्यतालिका अनुसार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय तोकिएको छ ।

असन्तुष्टिबिच शंकरसँगै प्रचारमा उभिए प्रदीप

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेको चर्चा चलिरहेकै बेला उनी पार्टी संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिएका छन्।

महाधिवेशन मतदान स्थलमा पुगेका ज्ञवालीले महासचिवका उम्मेदवार शङ्कर पोखरेलसँगै प्रतिनिधिहरूसँग भेटघाट गर्दै केपी शर्मा ओली नेतृत्वको प्यानलका पक्षमा मत माग्न थालेका हुन्।

उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको टिम विजयी भए मात्र एमाले थप सुदृढ, एकताबद्ध र प्रभावकारी बन्ने धारणा राख्दै प्रतिनिधिहरूलाई सिङ्गो प्यानलमा मतदान गर्न आग्रह गरेका छन्।

एमालेको मतदान ४ बजेदेखि, भोलि दिउँसो अन्तिम परिणाम सार्वजनिक हुने

काठमाडौँ । नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ । महाधिवेशन बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय मेशिनबाट हुने मतदानका लागि आवश्यक तयारी पूरा भएको छ । 

दिउँसो १ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकाले निर्धारित कार्यतालिका सरेको रामलक्ष्मण भोटिङ मेशिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिए । 

पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजार २६३ जना प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनले १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी गरी ३५१ जना नयाँ नेतृत्व चुनिँदैछन् ।

ओलीको प्यानलमा रघुजी पन्त र सुहाङ नेम्वाङलाई राखियो

काठमाडौँ । नेकपा एमालेको निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुँदा रघुजी पन्त र सुहाङ नेम्वाङलाई केपी शर्मा ओलीको टीममा राखिएको छ । 

यसअघि पन्तले उपाध्यक्षमा ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएको बताइएको थियो । तर, मंगलबार ओली पक्षले प्यानलको सूची प्रतिनिधिहरुलाई पठाउँदा पन्तको नाम राखिएको छ । 

यस्तै सोमबार स्वतन्त्र उम्मेदवारी दिएका सुहाङलाई पनि ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यमा राखिएको छ । सुहाङ स्वर्गीय नेता सुवास नेम्वाङका छोरा हुन् । 

एमाले महाधिवेशन : यस्तो छ ओलीको टिम (सूची)

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवशेनमा आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने कार्यतालिका रहेको छ । यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन् ।

दुवै पक्षले जितका लागि रणनीति बनाएर अघि बढिरहेका छन् । यसैबिच अध्यक्ष ओली पक्षीय नेताहरुले आफ्नो प्यानलको उम्मेदवारहरुको सूची आन्तरिकरुपमा प्रतिनिधिहरुलाई पठाइरहेका छन् । 

यस्तो रहेको छ ओलीको टिम :

कोशीका प्रदेश मन्त्रीदेखि सांसदहरू बागी उम्मेदवार

विराटनगर । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली समूहमा असन्तुष्टि चुलिँदा कोशी प्रदेशका मन्त्रीदेखि सांसदसम्मले केन्द्रीय सदस्यमा बागी उम्मेदवारी दिएका छन् ।

ओली पक्षले सार्वजनिक गरेको आधिकारिक सूचीमा नाम नभएका आधा दर्जनभन्दा बढीले बागी उम्मेदवारी दिएका हुन् । ओली पक्षले केन्द्रीय सदस्यको सूचीमा राखेका संखुवासभाका राजेन्द्र गौतमले उपमहासचिव र झापाका अग्नि खरेलले सचिवमा उम्मेदवारी दिएका छन् । जसमध्ये गौतमले भने उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आफू केन्द्रीय सदस्यको मात्रै उम्मेदवार भएको बताएका छन् ।

ओली पक्षमै रहेका मोरङका लालबाबु पण्डितले पनि सचिवमा उम्मेदवारी दिएका छन् । यस्तै ओली पक्षको केन्द्रीय सदस्यको सूचीमा रहेका सुनसरीका भीम प्रसाद आचार्यले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । ओली पक्षको सूचीमा नरहेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

ओली प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनिन् रावल

काठमाडौँ । नेकपा एमालेकी नेतृ पार्वती रावलले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्।  केपी शर्मा ओली नेतृत्वको संस्थापन प्यानलबाट रावलले उम्मेदवारी दिएकी हुन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ की स्थायी बासिन्दा रावल अघिल्लो कार्यकालमा केन्द्रीय सदस्य तथा पार्टीको शिक्षा तथा मानव स्रोत विभागको प्रमुखका रूपमा जिम्मेवारीमा रहेकी थिइन्।

पार्टी संगठनदेखि संसदीय र सरकारी तहसम्मको लामो अनुभवका आधारमा उनले केन्द्रीय कमिटीमा निरन्तरताका लागि उम्मेदवारी दिएकी हुन् ।

भृकुटीमण्डप पुगिन् गायिका ज्योति मगर, एमाले उम्मेदवारको प्रचार (तस्बिरहरू)

काठमाडौँ । दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार बिहान उनी भृकुटीमण्डप पुगेकी हुन् । 

त्यहाँ पुगेर उनले एमालेका विभिन्न उम्मेदवारको फोटोसहित उनीहरूको पक्षमा भोट मागेकी छन् । 

एमालेको ११औँ महाधिवेशन राजधानीको शनिवारदेखि जारी छ । भक्तपुरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र र चुनावी कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ । एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो मतदान हुँदै गर्दा ज्योतिसमेत आफू निकटका उम्मेदवारको प्रचारमा पुगेकी हुन् । 

शंकरको सन्देश : हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ

काठमाडौँ । नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा महासचिवका उम्मेदवार शंकर पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरिएको स्ट्याटसमा पोखरेलले भनेका छन्, ‘ पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार ! हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ । ’ सन्देशमार्फत पोखरेलले एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि विश्वास व्यक्त गरेका छन्।

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल

काठमाडौँ । नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। यति बेला एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्त्वपूर्ण क्षणमा आइपुगेको उनले बताए ।

'हामी यती बेला हाम्रो पार्टी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ,' उन सामाजिक सञ्जालमा लेखेका छन्, 'पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरू लाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठन मार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ।'

साथै उनले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी जिताउन आग्रह समेत गरेका छन् । 

उम्मेदवार धेरै भए, मतदानको समय पनि केही ढिला हुनसक्छ : प्राविधिक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए । “हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ”, उनले भने, “तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ ।”

गण्डकीका उम्मेदवार भित्र्याउन ईश्वर प्यानल सक्रिय

पोखरा । ओली क्याम्पबाट पदाधिकारी बन्ने दाउमा रहेका धेरै गण्डकीका नेताहरू केन्द्रीय सदस्यका उम्मेदवार बन्न बाध्य छन् । त्यसो त महासचिव ताकिरहेका प्रभावशाली नेता पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षमा थन्क्याइएको छ । उपाध्यक्षमा किरण गुरुङ दाबेदार थिए । नवौँ महाधिवेशनमा ओली प्यानलबाटै उपाध्यक्षमा चुनाव हारेका उनी अहिले पनि केन्द्रीय सदस्यमा चुनाव लड्न राजी भए ।

उपमहासचिव दाबेदार हुन्, पद्मा अर्याल । एक कार्यकाल सचिव भइसकेकी उनलाई सचिवकै टिकट दिएर दोहोर्‍याउन चाहन्छन् ओली । पदम गिरीले सचिव पद मागेका थिए । उनलाई सदस्यमै राखिएको छ । सचिवकै दाबेदारका रूपमा सार्वजनिक भएका जगत बहादुर विक पनि सदस्य दोहोरिने दाउमा छन् ।

ओली क्याम्पबाट टिकट पाएका पदाधिकारी सहित केन्द्रीय सदस्य र आयोग पदाधिकारी तथा सदस्यमा गण्डकीबाट ५२ जना उम्मेदवार बनेका छन् । त्यसबाहेक, स्वतःस्फूर्त रूपमा उम्मेदवार दिनेहरू पनि छन् । ओली निकटकै धेरै नेताहरू अहिले स्वतन्त्र उम्मेदवार बनेका छन् ।

इन्द्रलाल र महेशको दोस्रो इनिङ : १६ वर्षपछि आमनेसामने

पोखरा । २०६६ पुस ११ देखि १३ सम्म लहानमा भएको सातौँ महाधिवेशनबाट युवा संघको बागडोरमा पुगे महेश बस्नेत । महासचिव भएर जिम्मेवारी सम्हालिसकेका बागलुङका इन्द्रलाल सापकोटालाई हराएर उनी युवा संघको अध्यक्ष बनेका हुन् । त्यसो त, इन्द्रलाल पनि कमजोर थिएनन् । ओली पक्षको जगमा महेशले ६ सय ९९ मत ल्याएर विजयी हुँदा नेपाल खनाल पक्षधर इन्द्रलालले ५ सय ९७ मत पाए ।

त्यसयता इन्द्रलाल ओलीलाई खासै रुचाउने नेता होइनन् । उनले आफू हर्ताकर्ता भएको ठाउँमा ओलीविरुद्धको क्याम्प खडा गर्ने र उक्त समूहलाई विजयी गराउने गरेका छन् । महेश सधैँ ओलीकै वरिपरि रहेर काम गरिरहे । इन्द्रलाल युवासंघको पराजयपछि भूगोलमा फर्किए । त्यसो त, उनी त्यसअघि पनि भूगोलबाटै उठेका नेता हुन् ।

एमाले बागलुङको आठौँ जिल्ला अधिवेशनबाट बलियो रहेको ओली पक्षलाई फराकिलो अन्तरले हराएर उनी अध्यक्ष बने । खसेको ५ सय ७९ मतमध्ये इन्द्रलालले ३ सय ८८ मत पाए भने ओली निकटका नरबहादुर थापाले १ सय ६१ मत पाएका थिए । इन्द्रलाल प्रजातान्त्रिक राष्ट्रिय युवासंघको राजनीतिमा झाँगिएका हुन् ।

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टिमलाई विजय गराऔँ

काठमाडाैँ । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशन आज निर्णायक चरणमा प्रवेश गरेको छ । नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानलाई पार्टीको आन्तरिक लोकतन्त्रको महत्वपूर्ण परीक्षा मानिँदैछ ।

यही सन्दर्भमा पार्टीका वरिष्ठ नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन् ।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले यो महाधिवेशन केवल संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षण भएको उल्लेख गरे । 

एमालेमा को–को भए निर्विरोध ?

काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् । 

लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य महिला कोटा ३ जनामा गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकालको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध भएका छन्।

युवा कोटा एक जनाको रहेकोमा लिलामणि गौतमको मात्र उम्मेदवारी परेकोले उनी पनि निर्विरोध भएका छन्।

एमाले महाधिवेशन : अनुशासन आयोगमा पहारी र केन्द्रीय लेखा आयोगमा कँडेल निर्विरोध

काठमाडौँ । नेकपा एमालेको  दुई आयोगको अध्यक्षमा एकल उम्मेदवारी परेको छ । 

केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा डा भरतराज पहारीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै उपाध्यक्षमा चक्र बहादुर पराजुली, सचिवमा डा राजेन्द्र घिमिरे निर्विरोध भएका छन् । 

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । जस अन्तर्गत अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । 

केन्द्रीय निर्वाचन आयोगले आज सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् । 

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान  बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने छ ।

नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ। नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान  बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने छ ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगले सोमबार अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् । बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् । विद्युतीय प्रणाली रामलक्ष्मण इनोभेसन प्रालिले व्यवस्थापन गरेको हो ।

११ जना केन्द्रीय सदस्य निर्विरोध

काठमाडौँ। नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार विभिन्न समूहमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिला केन्द्रीय सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था अनुसार तीनै जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएका हुन् ।

यस्तै मधेशी क्लस्टरतर्फ युवामा अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्।

खुलातर्फ एमाले केन्द्रीय सदस्यमा ७७ जना निर्वाचित हुने, १६८ जनाको पर्‍यो उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको खुलातर्फको केन्द्रीय सदस्य पदमा ७७ जना निर्वाचित हुने व्यवस्था रहेको छ । तर, खुलातर्फ १६८ जनाले उम्मेदवारी दिएको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारी प्रारम्भिक सूचीमा उल्लेख छ । 

उक्त पदमा केपी शर्मा ओली, हिक्मत कुमार कार्की, सूर्यबहादुर थापा क्षेत्री, सुहाङ नेम्वाङ, सुरेन्द्य्र पाण्डे, शेरधन राई, लालबाबु पण्डितसहित चर्चित नेताहरूको उम्मेदवारी रहेको छ ।

एमाले निर्वाचन : यी हुन् सचिव पदका लागि उम्मेदवारी दिने २० जना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन अन्तर्गत सचिव पदका लागि २० जना नेताहरूको उम्मेदवारी परेको छ।  आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी उम्मेदवारको प्रारम्भिक सूची सूचीअनुसार सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका हुन् ।

उम्मदेवारी दिनेहरुमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा,कर्णबहादुर थापा,कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुल बास्कोटा,छबिलाल विश्वकर्मा, ठाकुर गैरे, पदमा अर्याल, पुरुषोत्तम पोडेल, पेम्बा लामा, भानुभक्त ढकाल र महेश बस्नेत रहेका छन् ।

एमाले अनुशासन आयोगमा पहारी निर्विरोध

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन् । सोमबार मनोनयन दर्ता हुँदा उनको एकल मनोनयन परेको हो । 

यस्तै उपाध्यक्षमा चक्र बहादुर पराजुली, सचिवमा डा राजेन्द्र घिमिरे निर्विरोध भएका छन् । 

यस्तै २२ जना सदस्यमा भने ३२ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

एमालेको केन्द्रीय लेखा आयोगमा डा. कँडेल निर्विरोध

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय लेखा आयोग अध्यक्षमा डा पुष्पराज कँडेल निर्विरोध भएका छन् । सोमबार मनोनयन दर्ता हुँदा उनको एकल उम्मेदवारी गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । आयोगले उनी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ । 

यस्तै उपाध्यक्षमा घनेन्द्र राज घिमिरे तथा सचिवमा ईश्वरी प्रसाद खरेलको एकल उम्मेदवारी परेको छ । २२ जना निर्वाचित हुने सदस्य पदमा भने ३७ जनाको उम्मेदवारी परेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया