बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : बालेनको ‘म्याराथन मिटिङ’देखि शाहीको ‘कू’सम्म

बिहीबार, १० पुस २०८२, २२ : ००
बिहीबार, १० पुस २०८२

सारांश

  • काठमाडौं महानगरका मेयर बालेन शाहले वैकल्पिक शक्तिलाई एकै ठाउँमा आउन आह्वान गर्दै संसदीय राजनीतिमा प्रवेशको संकेत गरेका छन्।
  • मधेस केन्द्रित दलहरू राष्ट्रिय सभा निर्वाचनका लागि सिट जोगाउन गृहकार्यमा जुटेका छन्, भने कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको काम ७५ प्रतिशत सकेको छ।
  • राष्ट्रिय प्रकृति संरक्षण कोषमा पूर्वमन्त्री ऐनबहादुर शाहीको 'कू' र नेकपा माओवादीले पुस २० गतेदेखि युवा अभियान चलाउने निर्णय गरेको छ।

काठमाडौँ । आज मिति २०८२ साल पुस महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. बालेनको सक्रियता

ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकार (बेन)को घर मंगलबार र बुधबार नेपालको वैकल्पिक राजनीतिको मुख्य केन्द्र बन्यो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सक्रियतामा भएको दुई दिने ‘म्याराथन’ छलफलले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । मेयर बालेनले ज्वागलबाट प्रस्ट सन्देश दिएका छन्, अब उनी स्थानीय राजनीतिमा मात्र सीमित रहने छैनन्, संसदीय राजनीतिको मोर्चा सम्हाल्न तयार छन् ।

उनले छरिएर रहेका सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई एकै ठाउँमा आउन अपिल गर्दै त्यसको नेतृत्व र केन्द्र आफू नै भएको संकेत गरेका छन् ।

 

२. पुराना शक्तिलाई तनाव

जेनजी आन्दोलनले बदलिएको मुलुकको राजनीतिक अवस्था र सम्मुखमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर नयाँ तथा पुराना दलहरू एकता र ध्रुवीकरणतर्फ केन्द्रित भएका छन् । त्यसमा पनि नयाँ र वैकल्पिक भनेर चिनिएका दलहरुको सक्रियतालाई निकै चासोपूर्वक हेरिएको छ ।

३. मधेस केन्द्रित दल

राष्ट्रिय सभा निर्वाचनका लागि दलहरू उम्मेदवार चयनदेखि अन्य आन्तरिक तयारीमा जुटेका छन् । क्षेत्र, जिल्ला तथा प्रदेश समितिले उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाइरहेका छन् । माघ ११ गते राष्ट्रिय सभाका १८ सिटका लागि मतदान हुँदै छ ।

हाल राष्ट्रिय सभामा तराईकेन्द्रित दलका चार जना सदस्य छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट शेखर सिंह तथा जनता समाजवादी पार्टी नेपालबाट मोहम्मद खालिद, मृगेन्द्रकुमार सिंह यादव र पूजा चौधरी राष्ट्रिय सभा सदस्य छन् । उनीहरूको पदावधि पनि माघमा सकिँदै छ । यी दलहरू आ–आफ्नो सिट कसरी जोगाउने भन्ने गृहकार्यमा लागेका छन् ।

४. शाहीको ‘कू’

नेपाल सरकारको मातहतमा एउटा संस्था छ राष्ट्रिय प्रकृति संरक्षण कोष । राजतन्त्र हुँदासम्म ‘महेन्द्र प्रकृति संरक्षण कोष’ भनेर चिनिने उक्त संस्थाको नाम गणतन्त्रसँगै परिवर्तन त भयो, तर नामसँगै संरचनागत सुधारमा ध्यान नदिँदा यो एउटा ‘तानाशाही’ संस्थाको रुपमा कायमै छ । अहिले त्यसको नेतृत्व गरिरहेका छन् पूर्व वनमन्त्री ऐनबहादुर शाहीले ।

केपी शर्मा ओली नेतृत्वमा गठन भएको तत्कालीन सरकारमा उनी वनमन्त्री थिए । मन्त्री भएको एक महिनापछि साउन अन्तिममा संरक्षकको हैसियतमा ओलीले शाहीलाई कोषको अध्यक्ष नियुक्त गरेका थिए । शाही कोषमा मन्त्रीको हैसियतमा भित्रिए, हटेपछि छाडेनन् र अहलिे सेटिङमा सदस्य सचिवको पुनर्नियुक्ति भएको छ ।

५. कुलमानका कुरा

बिहीबार बिहान काठमाडौँका महानगरपालिका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङबिच भेट भयो । दुई नेताबिचको भेटघाटको विषय सर्वत्र चासो बन्यो । नयाँ राजनीतिक समीकरण बनाउनेदेखि वैकल्पिक भनिएका दलहरू बिच एकता वा सहकार्यका बारेमा दुई जनाबिच छलफल भएका थिए । तर उक्त छलफलबारे औपचारिक रूपमा दुवै पक्षले जानकारी दिएको छैन ।

६. कांग्रेस बैठक

नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पार्टीका ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरणको काम सकिएको जनाएको छ ।

समितिको बिहीबार बसेको बैठकमा ७५ प्रतिशत क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेको प्रतिवेदन पेस भएको सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।

७. लेखक बयानमा जाने

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले आफू सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।

८. अदालत

गत भदौ २४ मा सर्वोच्च अदालतमा भएको आगजनीका कारण जलेका कुल २० हजार ३४ थान मुद्दामध्ये ८ हजार थान मिसिल पुनः प्राप्त भएका छन् । आगजनीमा परेका चालु मुद्दामध्ये ४ हजार २०० मिसिल सुरक्षित रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

९. विप्लवको बैठक

नेकपा माओवादीले पुस २० गतेदेखि मेची–महाकाली युवा अभियान चलाउने निर्णय गरेको छ । काठमाडौँको बुद्धनगरमा बिहीबार बसेको केन्द्रीय समितिको विशेष बैठकले मेची–महाकाली अभियान सहित विभिन्न संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले देशमा विदेशी साम्राज्यवादी हस्तक्षेप बढेको निष्कर्ष निकाल्दै देशव्यापी संघर्षको कार्यक्रम गर्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

१०. रास्वपाको समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यो पनि...

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप