शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रविसँग सहमति गर्दै बालेन दलीय राजनीतिमा, सहमतिबारे कस्तो छ प्रतिक्रिया ?

आइतबार, १३ पुस २०८२, २२ : ०१
आइतबार, १३ पुस २०८२

आज २०८२ पुस १३ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रविसँग सहमति गर्दै बालेन दलीय राजनीतिमा, रवि र बालेनबिचको सहमतिबारे कस्तो छ प्रतिक्रिया ?, बालेनले महानगरको जिम्मेवारी छाड्ने भएसँगै मेयरमा रविका दाजुको दाबी, निर्वाचन आचारसंहितामा के–के छन् प्रावधान ? कांग्रेसले विभिन्न नेताको कारबाही फुकुवा ग¥यो, एमालेले समानुपातिक उम्मेदवारको सूची भोलि बुझाउने, जसपा नेपाल र लोसपाबिच एकता गर्ने सहमति लगायत छन् ।

१. रविसँग सहमति गर्दै बालेन दलीय राजनीतिमा
रास्वपाका सभापति रवि लामिछानेसँग सहमति गर्दै काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन (बालेन्द्र) शाह दलीय राजनीतिमा प्रवेश गरेका छन् । यसअघि स्वतन्त्र रहेका बालेन अब रास्वपाबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने भएका छन् ।

२. रवि र बालेनबिचको सहमतिबारे कस्तो छ प्रतिक्रिया ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भएको सहमतिले नेपालको राजनीतिमा तरङ्ग ल्याएको छ । कतिपयले यो सहमतिलाई स्वागत गरेका छन् भने कतिपयले आशंकाको नजरले हेरेका छन् ।

३. बालेनले महानगरको जिम्मेवारी छाड्ने भएसँगै मेयरमा रविका दाजुको दाबी
काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाह रास्वपामा सामेल भई संसदीय राजनीतिमा अघि बढ्ने भएसँगै महानगर प्रमुख पद रिक्त हुने भएको छ । रिक्त हुने सो पदका लागि रास्वपा सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले दाबी गरेका छन् ।

४. निर्वाचन आचारसंहितामा के–के छन् प्रावधान ?
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । माघ पहिलो सातादेखि लागु हुने आचारसंहितामा उम्मेदवार, दल लगायतले पालना गर्नुपर्ने विभिन्न विषय उल्लेख छ ।

५. कांग्रेसले विभिन्न नेताको कारबाही फुकुवा गर्यो
नेपाली कांग्रेसले विभिन्न नेतामाथि गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ । अघिल्ला चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको लगायतका कारण कारबाहीमा परेकाहरूमाथिको कारबाही फुकुवा गरिएको हो ।

६. एमालेले समानुपातिक उम्मेदवारको सूची भोलि बुझाउने
नेकपा एमालेले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगलाई भोलि बुझाउने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

७. जसपा नेपाल र लोसपाबिच एकता गर्ने सहमति
जसपा नेपाल र लोसपा नेपालबिच एकता गर्ने सहमति भएको छ । आइतबार दुवै पार्टीका पदाधिकारीहरूको बैठकले पार्टी एकता गर्ने सहमति जुटाएको हो ।

८. प्रलोपा र उज्यालो नेपाल पार्टीबिच सहकार्यबारे छलफल
डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबिच चुनावी सहकार्यबारे छलफल सुरु भएको छ ।

९. नेकपाको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा प्रचण्ड र माधवलाई
नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई दिइएको छ ।

१०. राजनीतिमा कलाकारको लर्को
जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा एउटा नयाँ तरङ्ग देखिएको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै ग्ल्यामर क्षेत्रका थुप्रै कलाकारले राजनीतिमा आफ्नो सक्रियता देखाउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप