सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ०४ चैत २०८०, २१ : ५८
आइतबार, ०४ चैत २०८०

आज २०८० चैत ४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा नेसपा विभाजनको डिलमा, नयाँ गठबन्धनलाई विभिन्न प्रदेशमा बढ्दैछ चुनौती, महरा सहितकालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन, माधव नेपालको दस्तावेजमा मित्रशक्ति फेरियो, सीके राउतले खोजेको ‘नौलो गणतन्त्र’ कस्तो ?, शालिन मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता, प्रेम प्रस्ताव अस्वीकार गरेपछि सुष्माको हत्या लगायत छन् ।

१. नेसपा विभाजनको डिलमा
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजनको डिलमा पुगेको छ । अर्का अध्यक्ष महिन्द्र यादव पक्षले बहिष्कार गरेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बाबुराम पक्षले महिन्द्र पक्षकालाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । योसँगै नेसपा विभाजनको डिलमा पुगेको हो । 

२. नयाँ गठबन्धनलाई विभिन्न प्रदेशमा बढ्दैछ चुनौती
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ सत्ता गठबन्धनलाई प्रदेशहरुमा चुनौती बढ्दै गएको छ । बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धन अनुसार सरकार बनाउन चुनौती थपिएको हो । 

३. महरा सहितकालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित सुन काण्डमा मुछिएका निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न उनले निर्देशन दिएका हुन् ।

४. माधव नेपालको दस्तावेजमा मित्रशक्ति फेरियो
नेकपा एकीकृत समाजवादीको आगामी जेठ पहिलो साता हुने राष्ट्रिय महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदा ‘उलटपुलट’ हुने भएको छ । सत्ता समीकरणमा आएको फेरबदलसँगै महाधिवेशनमा पेस गर्न तयार गर्न लागिएको राजनीतिक दस्ताबेज पुनर्लेखन गर्नुपर्ने अवस्था आएको हो ।

५. सीके राउतले खोजेको ‘नौलो गणतन्त्र’ कस्तो ?
डा. सीके राउत नेतृत्वको जनमत पार्टी ‘नौलो गणतन्त्र’का लागि आन्दोलन गर्ने तयारीमा छ । आइतबार जनमत पार्टीका अध्यक्ष डा. राउतले नौलो गणतन्त्रका लागि गर्ने आन्दोलनबारे जानकारी गराउन पर्साको वीरगञ्जमा घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा ‘नौलो गणतन्त्र’ आन्दोलनको औचित्य प्रस्ट्याउँदै बनाइएको पर्चा पम्पलेट वितरण गरिएको छ ।


६. शालिन मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
शालिन पोखरेल मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ । शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्ति प्रसाद लुइँटेलले रातोपाटीलाई बताए ।

७. प्रेम प्रस्ताव अस्वीकार गरेपछि सुष्माको हत्या
काठमाडौँको तारेभिरमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी सुष्मा लामाको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरेको थियो । आरोपित रुपेन्द्रले प्रहरी समक्ष प्रेम प्रस्ताव अस्वीकार गरेका कारण सुष्माको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।

८. निकुञ्जभित्र करोडौँ लगानीका होटल अलपत्र
चितवन राष्ट्रिय निकुञ्जभित्र करोडौँ लगानी गरेर बनाइएका होटल र लजहरू अहिले बन्द अवस्थामा छन् । ५० वर्ष पुरानो राष्ट्रिय निकुञ्ज नियमावलीको कारण देखाएर ती होटल तथा लज बन्द गराइएको हो । सरकारले राष्ट्रिय निकुञ्ज नियमावली, २०३० मा स्पष्ट व्यवस्था नभएको भन्दै २०६९ असार मसान्तबाट ती होटल, रिसोर्ट र लजको नवीकरण बन्द गरिदिएको हो ।

९. आगलागीबाट २७ घर जले
सुनसरीको बर्जु गाउँपालिका–४ स्थित जयनगर टोलमा भएको आगगालीबाट २७ घर जलेका छन् । जयनगरस्थित मुस्लिम टोलमा आइतबार दिउँसो ३ बजेपछि स्थानीय बिष्णुदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो ।

१०. वसन्तपुरमा ठड्याइयो चीर
वसन्तपुरमा आइतबार बिहान होलीको चीर ठड्याइएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप