आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ०६ चैत २०८०, २२ : ००
मङ्गलबार, ०६ चैत २०८०

आज २०८० चैत ६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • संसद्‍मा प्रश्नोत्तर

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका विभिन्न १३ प्रश्नको जवाफ दिएका छन् । ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’का क्रममा उनले सांसदहरुले सोधेको प्रश्नको एकएक जवाफ दिएका हुन् । आजका मुख्य समाचारमा पक्राउ परेका महरा अस्पताल भर्ना, निसी खोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, सत्तारुढ गठबन्धनले भोलि साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने, नेपाल समाजवादी पार्टीले आगामी माघमा महाधिवेशन गर्ने, आईसीसीका अध्यक्ष ग्रेग नेपालमा, प्रदेश सरकार जोगाउन कांग्रेसको कसरत, हतियारसहित दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, मधेस सरकारमा एमालेको ‘इन्ट्री’ लगायत छन् ।

  • गृहमन्त्री लामिछानेको राजीनामा

सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् । पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी दीपेश पुन सहित १८ विरुद्ध उजुरी दिएको उनको भनाई छ । ‘दीपेश पुन गिरफ्तार भए पनि रवि लामिछानेजीले अझै ठुलो पद पाउनु भएको छ,’ उनले भने, ‘पीडितहरूले गोर्खा मिडिया प्रालिलगायतलाई विपक्षी बनाएर सप्रमाण उजुरी दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लामिछानेविरुद्ध अनुसन्धान नै सुरु गरेको उनको भनाई छ ।’

  • सुन तस्करी जाँचबुझ प्रतिवेदन

सुन तस्करी जाँचबुझ आयोगले व्यवसायी दीपक मल्होत्रासँग बयान लिएको खुलेको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले मल्होत्रालाई सिंहदरबारमा बोलाएर बयान लिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

  • आगलागी नियन्त्रण

कोशी प्रदेशमा फागुन ११ यता तीन सय बढी आगलागीको घटना भएका छन् । आगलागीबाट ५ जनाको मृत्यु, १६ जना घाइते र २ सयभन्दा बढी घर जलेको प्रहरीले तथ्याङ्क दिएको छ । यस्तै भौतिक सम्पत्ति कति क्षति भयो भन्ने हिसाब निस्कन बाँकी छ । प्रारम्भिक अनुमान अनुसार २० करोडभन्दा बढीको भौतिक सम्पत्ति क्षति भइसकेको छ । 

  • साझा सङ्कल्प

सत्तारुढ ५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ।   मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।  नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विभिन्न १३ मुख्य क्षेत्रलाई प्राथमिकता राखिएको छ ।

  • नेसपा विभाजन

 नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षले अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले गरेको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले भट्टराई पक्षको निर्णय नमान्ने घोषणा गरेको हो । बाबुराम पक्षको सोमबार बसेको बैठकले महाधिवेशन आगामी माघमा गर्ने र महिन्द्र पक्षका नेतालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । 

  • हतियारको लाइसेन्स 

सोमबार सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडिगार्ड हतियारसहित पक्राउ परे । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिताल रहेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अङ्गरक्षक भनिएकाहरू अत्याधुनिक हतियार र गोलीसहित सर्वोच्च अदालत परिसरमा पुगेको अवस्थामा सोमबार पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिताल छन् ।

  • श्रममन्त्रीको पत्रकार सम्मेलन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले इजरायलमा मेनपावर व्यवसायीमार्फत कामदार पठाउने विषयमा छानबिन थालेको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले इजरायलमा हाल जी टु जी र लर्न अर्न कार्यक्रम बाहेक कुनै पनि तरिकाले कामदार पठाउने गरी सम्झौता नभएको बताएका हुन् ।

  • कृष्णबहादुर महरा

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले फोन गरेका छन् । प्रहरी नियन्त्रणमै रहे पनि हाल नर्भिक अस्पतालमा रहेका महरालाई प्रचण्डले मङ्गलवार फोन गरेका हुन् । 

  • बाबुरामको यात्रा

माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहका योजनाकार रहेका डा. बाबुराम भट्टराईले २०७२ असोज ९ गते नयाँ वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी परित्याग गरे । त्यतिबेला संवैधानिक राजनीतिक संवाद समितिका सभापतिसमेत रहेका उनले नयाँ संविधान जारी भएपछि तत्कालीन एकीकृत नेकपा माओवादीको औचित्य समाप्त भएको निष्कर्ष निकाले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप