शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: भूमि विधेयक प्रतिनिधिसभाबाट पारित, ट्याङ्की बन्छन्, तर धारा बन्दैनन्

शनिबार, १४ भदौ २०८२, ०० : ००
शनिबार, १४ भदौ २०८२

सारांश

  • उखु किसान र सरकारबीचको वार्ता निष्कर्षविहीन भयो, किसान आन्दोलन जारी रहने सम्भावना छ।
  • प्रतिनिधिसभाबाट भूमि विधेयक पारित भयो, तर अबको प्रक्रियाबारे अझै स्पष्ट भइसकेको छैन।
  • नेपाल ओलम्पिक कमिटीभित्रको विवादले २०२६ को एसियाली खेलकुदमा असर पार्ने सम्भावना बढेको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–

१.  किसान आन्दोलन

सरकार र उखु किसानबिचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान सङ्घर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए ।

वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए । सङ्घर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरूप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो ।

२. भूमि विधेयक पारित

भूमि विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्ताव गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो ।

३. ओलम्पिक कमिटीभित्र उत्पन्न विवादको छायामा २०२६ को एसियाली खेलकुद

 नेपाल ओलम्पिक कमिटीमा उत्पन्न पछिल्लो विवादले सन् २०२६ मा जापानको नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुदमा प्रत्यक्ष असर पार्ने सम्भावना बढेको छ । 

एकातिर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एसियाली ओलम्पिक परिषद् (ओसीए) दुवैको मान्यता प्राप्त कमिटी छ भने अर्कोतिर सरकारले तदर्थ कमिटी निर्माण गरेका कारण आगामी वर्ष हुने ओलम्पिक प्रतियोगिताको तयारी प्रभावित हुने सम्भावना बढेको छ ।

४. ट्याङ्की बन्छन्, तर धारा बन्दैनन्

सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको देवानगञ्ज खानेपानी आयोजनाको काम २०६५ सालमा सुरु भयो । उक्त आयोजनाका लागि अहिलेसम्म २ करोड ४१ लाख ४४ हजार रुपैयाँ खर्च भइसकेको छ । यो आयोजना सम्पन्न हुन अझै १ करोड रुपैयाँ लाग्ने अनुमान छ । अहिले संघ र प्रदेशबाटै यो योजना कटाइएको छ ।

देवानगञ्जकै मध्यहर्षाही खानेपानी आयोजना २०६६ सालमा सुरु भयो । यो आयोजनामा अहिलेसम्म २ करोड ६ लाख ८४ हजार लगानी भइसक्यो । यो आयोजना सम्पन्न गर्न अझै २ करोड लाग्ने अनुमान छ, तर यो योजना पनि संघ र प्रदेशबाट हटाइएको छ ।

५. ओलीको चीन भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शनिबार) चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी गराएका हुन् ।

६. सरुवा

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१९ उपसचिव र शाखा अधिकृतको सरुवा गरेको छ । देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउन मन्त्रालयले एकै पटक ठुलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको हो । 

७. ओली पक्षको रणनीति

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको मिति जति नजिकिँदैछ, उति नै पार्टीमा अन्तरकलह बढ्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीबिच अन्तरकलह चर्किन थालेपछि नेता, कार्यकर्ता विभाजितसँगै अन्योलमा पर्न थालेका छन् ।

खासगरी सक्रिय राजनीतिमा फर्किन खोजेकी विद्या भण्डारीलाई जसरी पनि रोक्ने एमाले अध्यक्ष ओलीको प्रयत्न र अन्तरसंघर्ष गरेरै छाड्ने भण्डारी पक्षको तयारीले पार्टीभित्र खैलाबैला मच्चिएको एमाले नेताहरु बताउँछन् । यसैबीचमा विधान महाधिवेशनमा विद्यापक्षको फरक मत पेस हुँनै नदिने रणनीतिमा ओलीपक्ष देखिएको छ ।

 

८. रास्वपा आन्तरिक निर्वाचन

बिहीबार बिहानदेखि अनलाइनमार्फत सुरु भएको भोटिङ शुक्रबार साँझ ७ बजे सकिएको  रास्वपाका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले रातोपाटीलाई जानकारी दिए ।

उनले निर्वाचन समितिलाई उद्धृत गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा पार्टी साधारण सदस्य र तहगत समिति गरी २ हजार ७ सय १६ मतदाता मध्ये अनलाइन भोटिङमा १ हजार ५ सय ६७ मत खसेको बताए ।

९. नयाँ आईजीपी

नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी  प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

१०. आर्थिक समाचार

सहुलियतपूर्ण कर्जा दिने व्यवस्था पुनः ब्युँतिने भएको छ । केही वर्षदेखि रोकिएको ब्याज अनुदानमा सञ्चालन हुने उक्त ऋणका लागि नेपाल राष्ट्र बैंकले नयाँ कार्यविधि जारी गरेसँगै सहुलियतपूर्ण ऋणमा कर्जा वितरण गर्नसक्ने बाटो फेरि खुलेको हो ।

११. माओवादी बैठक

पटक पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भदौ १९ गते बस्ने भएको छ । उपमहासचिव हरिबोल गजुरेलका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएपनि समय तोकिएको भएको छैन ।

१२. एनआरएनए

महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गराउने शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले ८३ लाख रुपैयाँभन्दा बढी नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ।

श्रेष्ठको अध्यक्षतामा गठन भएको एनआरएनए कार्यसमितिलाई शुक्रबार राजधानीमा भएको विशेष समारोहबीच उक्त रकमसहित सम्पत्ति हस्तान्तरण गरिएको हो। कार्यक्रममा भर्चुलअ माध्यमबाट समेत विश्वभरका एनआरएनहरु जोडिएका थिए ।

  • याे पनि : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप