१२ बजे १२ समाचार: ओली र पुटिनबिच भेटवार्ता, रास्वपाले थापाको उम्मेदवारीमा पुनर्विचार नगर्ने
सारांश
- प्रधानमन्त्री ओली र पुटिनबीच चीनमा भेटवार्ता भयो।
- रास्वपाका उम्मेदवार थापाको विषयमा पार्टीले पुनर्विचार नगर्ने।
- नेपाल 'ए' टोलीले आसामविरुद्धको टी-ट्वान्टी सिरिज जित्यो।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. ओली र पुटिनबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबिच भेटवार्ता भएको छ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबिच सोमबार चीनको थियानजिनमा औपचारिक भेटवार्ता भएको हो ।
२. विवादका बाबजुद रास्वपाले थापाको उम्मेदवारीमा पुनर्विचार नगर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ मा उम्मेदवार चयन भएका डा. लेखजंग थापा विवादमा तानिएका छन् । कानुन विपरीत थापाले बहुविवाह गरेको विषय सञ्चारमाध्यमबाट बाहिरिएपछि उनी विवादमा तानिए पनि रास्वपाले भने बचाउ गरेको छ । प्रवक्ता मनिष झाले उनको सम्पूर्ण विवरण हेरेर नै पार्टीले छनोट गरेकाले पुनर्विचार नहुने स्पष्ट पारे ।
३. नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज
नेपाल ‘ए’ टोलीले आसाम प्रदेश क्रिकेट सङ्घमाथि टी–ट्वान्टी अभ्यास खेलको सिरिज जितेको छ ।
सोमबार भएको अन्तिम तथा निर्णय खेलमा आसामलाई ४४ रनले हराउँदै पाँच खेलको सिरिज ३–२ ले आफ्नो पारेको हो ।
४. सचिव चढ्ने गाडीको चाबी मन्त्रीले खोसे
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका सचिव शरणकुमार पाण्डेले प्रयोग गर्दै आएको गाडीको चाबी खोसेका छन् । आफूलाई असहयोग गरेको भन्दै मन्त्री हाङ्गामले मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी चालकमार्फत खोसेका हुन् ।
५. निजामती कर्मचारीको अवकाश उमेरहदमा विवाद
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा निजामती कर्मचारीको अवकाश उमेरहदका विषयमा विवाद भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफलका क्रममा सरकारले कर्मचारीको अवकाश उमेर ५९ वर्ष हुनुपर्ने अडान राखेपछि विवाद भएको हो ।
६. गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीसहितको बैठकमा ९ बुँदे निर्णय
गण्डकी र लुम्बिनी प्रदेशबिच विकासमा सहकार्य गर्ने उद्देश्यका साथ सोमबार बसेको समन्वयात्मक बैठकले ९ बुँदे निर्णय गरेको छ । स्याङ्जाको धार्मिक क्षेत्र उत्तरबाहिनीमा दुवै प्रदेशका मुख्यमन्त्रीसहित बसेको बैठकले दुई प्रदेशबिच समन्वय र सहकार्यसम्बन्धी निर्णय गरेको हो ।
७. दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्ला सरकारले ?
सरकारले सामाजिक सञ्जाललाई दर्ता हुन एक साताको समय दिएको थियो । उक्त समयावधि बित्न लाग्दा न्यूनमात्र सामाजिक सञ्जाल दर्ता भएका छन् । सामाजिक सञ्जाल बन्द गर्न कानुनी रूपमा सरकारलाई बलियो आधार रहे पनि व्यावहारिक चुनौती र कठिनाइ कायमै छन् ।
८. भदौ ३० देखि सुपथ मूल्य पसल
सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन्
९. धरानका मेयरलाई काठमाडौँमा समर्थकको स्वागत
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमबार विमानस्थलमा र्यालीसहित स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकहरूले मोटरसाइकल र्यालीसहित स्वागत गरेका हुन् ।
१०. पोखरामा लागु पदार्थ दुव्र्यसन बढ्दो, कसरी रोक्ने ?
पोखरामा लागु पदार्थ दुव्र्यसन बढ्दो छ । यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
११. शाङ्घाई शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेका छन् ।
१२. निजी विद्यालयका बसको र्याली
विद्यालय शिक्षा विधेयकमा राखिएका प्रावधानको विरोधस्वरुप निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौँ चक्रपथमा स्कुल बसको र्याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्याली निकालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण