शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : आठ दलबिच एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर, मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल

आइतबार, १६ कात्तिक २०८२, २२ : ००
आइतबार, १६ कात्तिक २०८२

आज २०८२ कात्तिक १६ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा आठ दलबिच एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर, मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल, प्रधानमन्त्री कार्कीको नियुक्ति बदरको मागसहित सर्वोच्चमा रिट निवेदन, राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश, महाधिवेशनको कार्यतालिकाबारे कांग्रेसमा जुटेन सहमति, बालेनले सामाजिक सञ्जालमा लेखेर हटाएको स्टाटसबारे चर्चा, कुलमानले खुलाए बञ्चरे डाँडाको अवरोध लगायत छन् ।

१. आठ दलबिच एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ दलबिच एकता हुने भएको छ । एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिको संयुक्त भेलाका रूपमा कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ ।

२. मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री सुशीला कार्कीले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग आइतबार छलफल गरेकी छन् । उनले निर्वाचनको वातावरण बनाउने सन्दर्भमा प्रदेश सरकारको सहयोगको अपेक्षासहित छलफल गरेकी हुन् । मुख्यमन्त्रीहरूले निर्वाचनका लागि सकारात्मक रहे पनि वातावरण भने सो अनुरुप बन्न नसकेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

३. प्रधानमन्त्री कार्कीको नियुक्ति बदरको मागसहित सर्वोच्चमा रिट निवेदन
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपतिले संविधानको व्यवस्थाभन्दा बाहिर गएर कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै रिटमा उक्त नियुक्ति बदर गर्न माग गरिएको हो ।

४. राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले सरकारलाई राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । 

५. महाधिवेशनको कार्यतालिकाबारे कांग्रेसमा जुटेन सहमति
नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिकाबारे कार्यसम्पादन समिति बैठकमा सहमति जुट्न सकेन । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा सहमति नजुटेपछि केन्द्रीय कार्यसमितिको बैठक नै स्थगित गरिएको छ । 

६. बालेनले सामाजिक सञ्जालमा लेखेर हटाएको स्टाटसबारे चर्चा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह यतिवेला पुनः चर्चामा छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका कारण उनको विरोध भइरहेको छ । अश्लील शब्दसहितको स्टाटस उनले पोस्ट गरेको केही समयमै हटाएका थिए । स्टाटसमा भारत, चीन र अमेरिकालाई अश्लील शब्दमा गाली गरिएको थियो ।  

७. एकता प्रक्रियालाई लिएर माओवादी र एकीकृत समाजवादी पार्टीभित्र असन्तुष्टि
एकता प्रक्रियालाई लिएर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीभित्र असन्तुष्टि चुलिएको छ । दुवै पार्टीका केही नेता एकता प्रक्रियालाई लिएर असन्तुष्ट देखिएका हुन् ।

८. निकोलस भुसाललाई खोज्दै प्रहरी
हिंसा भड्काउने अभिव्यक्ति दिएपछि प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गर्ने तयारी गरेको छ । भुसालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

९. कुलमानले खुलाए बञ्चरे डाँडाको अवरोध
४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको  बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । आइतबार सहरी विकासमन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पूरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले रातोपाटीलाई जानकारी दिए ।

१०. मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मधेस सरकारले पूर्णता पाउने
मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । हालका लागि मुख्यमन्त्री आफैँले ११ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप