शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : उम्मेदवार सूचीले एमालेमा बढायो असन्तुष्टि, उम्मेदवार मनोनयन दर्ता रोक्न देउवा पक्षको माग

आइतबार, ०४ माघ २०८२, २२ : ०१
आइतबार, ०४ माघ २०८२

आज २०८२ माघ ४ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा उम्मेदवार सूचीले एमालेमा बढायो असन्तुष्टि, उम्मेदवार मनोनयन दर्ता रोक्न देउवा पक्षको माग, नेकपाका १२ केन्द्रीय सदस्यले दिए राजीनामा, नगर प्रमुख पदबाट राजीनामा दिएर चुनाव अभियानमा होमिए बालेन, देउवा पक्षलाई पनि समेटेर उम्मेदवार छान्ने कांग्रेसको तयारी, आज रातिदेखि निर्वाचन आचारसंहिता लागु हुने लगायत छन् ।

१. उम्मेदवार सूचीले एमालेमा बढायो असन्तुष्टि
नेकपा एमालेले प्रतिनिधि सभा सदस्य पदका लागि अधिकांश क्षेत्रमा उम्मेदवार चयन गरेको छ । केही निर्वाचन क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले टुङ्ग्याउने गरी उम्मेदवार चयन बाँकी राखिएको छ । यद्यपि तल्ला कमिटीले सिफारिस गरेभन्दा बाहिरका व्यक्तिले टिकट पाएको, आन्तरिक प्रतिस्पर्धाका आधारमा पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारलाई पाखा लगाइएको भन्दै कतिपयले असन्तुष्टि जनाएका छन् । 

२. उम्मेदवार मनोनयन दर्ता रोक्न देउवा पक्षको माग
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगद्वारा विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिता दिइएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । रिट निवेदनमा माघ ६ गते प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ हुने उम्मेदवार मनोनयन दर्ता रोक्नसमेत माग गरिएको छ ।

३. नेकपाका १२ केन्द्रीय सदस्यले दिए राजीनामा
नेपाली कम्युनिस्ट पार्टीका १२ केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । उम्मेदवार सिफारिस नभएपछि आइतबार उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

४. नगर प्रमुख पदबाट राजीनामा दिएर चुनाव अभियानमा होमिए बालेन
काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएर बालेन्द्र (बालेन) शाह आइतबार औपचारिक रूपमै चुनाव अभियानमा होमिएका छन् । रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन आइतबार पार्टीको मुख्यालय पुगेर चुनाव अभियानमा औपचारिक रूपमा सामेल भएका हुन् ।

५. देउवा पक्षलाई पनि समेटेर उम्मेदवार छान्ने कांग्रेसको तयारी
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले शेरबहादुर देउवा पक्षलाई पनि समेटेर उम्मेदवार चयन गर्ने तयारी गरेको छ । जिल्लाबाट आएका सिफारिसकै आधारमा उम्मेदवार चयन गरिने बताइएको छ ।

६. आज रातिदेखि निर्वाचन आचारसंहिता लागु हुने
निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ । 

७. प्रचण्ड र लिङ्देनसँग ओलीको ‘च्याँखे दाउ’ !
एमालेले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छैन । पहिलो चरणमा एमालेले सार्वजनिक गरेका उम्मेदवारको सूचीमा ती दुवै क्षेत्रमा उम्मेदवार तोकिएको छैन । कतै एमाले अध्यक्ष ओलीले प्रचण्ड र लिङ्देनसँग तालमेलका लागि ती क्षेत्रमा उम्मेदवार नतोकेका हुन् कि भन्ने आशंका स्वाभाविक रूपमा उत्पन्न भएको छ ।

८. धमाधम उम्मेदवारी घोषणा
विभिन्न राजनीतिक दलले प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्षतर्फ धमाधम उम्मेदवार घोषणा गरेका छन् । उम्मेदवार मनोनयन दर्ताको मिति नजिँकिदै गर्दा उम्मेदवार चयन प्रक्रियाले गति लिएको हो ।

९. रविको पक्षमा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा उन्मुक्ति दिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । उक्त रिटका सम्बन्धमा माघ ६ गते सुनुवाइ हुने भएको छ ।

१०. प्रगतिशील लोकतान्त्रिक पार्टीले चुनावमा तालमेल गर्ने
प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रतिनिधि सभा निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको अध्यक्ष परिषदको बैठकले स्थानीय परिस्थिति र निर्वाचन क्षेत्रको सापेक्षता मूल्याङ्कन गरी घोषित तथा अघोषित दुवै किसिमको तालमेल गर्न प्रोत्साह गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप