शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : काठमाडौँका विद्यालयलाई एकैदिन दुई निर्देशन, मन्त्री फेर्ने प्रधानमन्त्रीको मुड

महसुल नतिर्ने उद्योगमाथि एक्सन, लुम्बिनीमा मन्त्रालय संख्या बढ्दै
शुक्रबार, ०६ पुस २०८०, २३ : २५
शुक्रबार, ०६ पुस २०८०

आज मिति २०८० साल पुस महिनाको ६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ ।

काठमाडौँका विद्यालयलाई निर्देशन

बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिकाले एकैदिन महानगरभित्रका विद्यालयहरुलाई दुई निर्देशन दिएको छ । जसअनुसार महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ । केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरेको हो ।

महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति पनि यानाकर्षण भएको जनाएको छ ।

एक सूचना जारी गर्दै महानगरले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न  विद्यालयलाई अनुरोध गरेको छ । 

यसैगरी बूढानीलकण्ठ नगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाक भन्दा फरक पोशाक किन्न बाध्य नपार्न नगर भित्रका विद्यालय सञ्चालकहरुलाई अनुरोध गरेको छ । तोकिएको भन्दा फरक पोशाक किन्न लगाइएको गुनासो आएको भन्दै नगरपालिकाले कोही कसैले परिपत्र भन्दा बाहिर गएर पोशाक किन्न बाध्य पारे कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्री फेर्ने प्रमको मुड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताए ।

समितिबीच विवाद

एनसेलको विवादास्पद सेयर खरिद बिक्री प्रकरणमा कसले छलफल गर्ने भन्ने बारेमा संसदीय समितिहरुबिच विवाद सिर्जना भएको छ ।

प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिबिच छलफलको क्षेत्राधिकारको विषयमा मनोमालिन्य सुरु भएको छ ।

गत मङ्सिर २० गते सार्वजनिक लेखा समितिले एनसेलको सेयर बिक्री प्रकरणमा छलफल राखेर सरकारलाई एक महिनाभित्र सत्य तथ्य छानबिन गरी जानकारी दिन निर्देशन दिएको थियो । सोही दिन अर्थ समितिले पनि यसबारेमा छलफल राखेको थियो ।

राष्ट्रियसभा निर्वाचन सरगर्मी

आगामी माघ ११ गते १९ पदमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै सत्तारुढ दलका नेताहरू उम्मेदवार छान्ने चटारोमा व्यस्त बन्दा प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने उक्त निर्वाचनबारे खासै चासो देखाएको छैन । निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गरे पनि एमालेले उम्मेदवार छनोट लगायतका सन्दर्भमा धेरै चासो नदेखाएको हो । यद्यपि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पार्टीभित्र आन्तरिक तयारी भइरहेको बताउँछन् ।

लुम्बिनीमा मन्त्रालय बढ्दै

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाउन लागेको छ ।  प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाउने गरी कार्य विभाजन नियमावली २०७९ को अनुसूची १ र २ हेरफेर गर्ने निर्णय गरेको हो ।

विद्युत लाइन काटियो

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने ४ उद्योगको लाइन काटेको छ ।

प्राधिकरणका अनुसार जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट  र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको हो । जगदम्बाले ४ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराहीले १ अर्ब ३६ करोड र अर्घाखाँचीले १ अर्ब ३० करोड तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ ।

यो पनि...

सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट ल पास गरेकालाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन आदेश दिएको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले खुला विश्वविद्यालयबाट ल पास गरेका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सामेल गराउन अन्तरिम आदेश जारी गरेको हो ।

सङ्घीय संसद् सचिवालयमा कार्यरत उपसचिव रामप्रसाद गैरेलाई स्पष्टीकरण सोधिएको छ । सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हानेपछि उनलाई स्पष्टीकरण सोधिएको छ ।

 वैदेशिक रोजगार विभाग परिसरभित्रै एक मेनपावर व्यवसायीमाथि कुटपिट भएको छ । वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्किएकी एक जना महिलाले मेनपावर व्यवसायीमाथि कुटपिट गरेकी हुन् ।

पोखराको मित्र मिलन सहकारी ठगी प्रकरणमा आरोपितहरुले बयान दिने क्रममा नयाँनयाँ खुलासा भएका छन् । प्रहरी स्रोतका अनुसार सहकारी बैंकका कर्मचारीले लाखौँ लिएकोदेखि तत्कालीन रजिष्ट्रारले करोडभन्दा बढी घुस खाएको बयान अरोपितहरुले दिएका छन् ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप