एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव, डेंगु संक्रमण बढ्दै
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–
१. एमालेमा ७० वर्षे उमेरहद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव
नेकपा एमालेले यसअघि विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।
बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले बिहीबार श्रीलंकाविरुद्ध शानदार जित हात पारेको छ । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा सम्पन्न खेलमा नेपालले ७–० विजयी बनेको हो ।
३. श्रमिकको तलब वृद्धि
श्रमिकहरुको तलब बढेको छ । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरुको तलब बढेको जानकारी दिएको हो ।
अब श्रमिकहरुको मासिक तलब १९ हजार ५ सय ५० कायम भएको छ ।
यसअघि चिया बगानबाहेकका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो।
४. धरहरामा अल्झन
केपी शर्मा ओली नेतृत्वको सरकारले काठमाडौँ महानगरपालिकासँग खोसेर सञ्चालनमा ल्याएको धरहराका कतिपय संरचनाको निर्माण कार्य करिब १ वर्षदेखि अलपत्र बनेको छ । धरहरा हाल सञ्चालनमै रहेपनि बेसमेन्ट पार्किङ, सुन्धारालगायत धरहरा परिसरका संरचनाका काम अलपत्र बनेका हुन् ।
५. विद्याबारे ओली
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिले नै पार्टी नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको बताएका छन् । पत्रकार विजकुमार पाण्डेलाई दिएको अन्तरवार्तामा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
६. बजेट कार्यान्वयनमा
आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो ।
७. प्रचण्ड निवासमा शेखर
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केपी ओली नेतृत्वको गठबन्धन सरकारबारे निराशा व्यक्त गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर सरकारको काम कारबाहीबारे निराशा व्यक्त गरेका हुन् ।
८. अडियो प्रकरण
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडियो आफ्नो अभीष्ट पूरा हुन नपाएपछि चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् ।
मन्त्रालयले बिहीबार भूमि मन्त्रीको एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न चाहने व्यक्तिले त्यो नपाएपछि अडियो सार्वजनिक गरेको बताए ।
९. स्थानीय तह
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि कडा निर्देशन जारी गर्दै वित्तीय अनुशासनमा नबस्ने स्थानीय तथा प्रदेश सरकारहरूमाथि अङ्कुश लगाउने सङ्केत दिएको छ ।
१०. डेंगु संक्रमण बढ्दै
डेंगु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनायता १ हजार ९ सय ९७ जना डेंगु सङ्क्रमणका बिरामी भेटिएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको अन्तर्विरोध र अन्य पार्टीसँग एकताका लागि समायोजनको भूमिका खेलिदिन उपाध्यक्ष कृष्णबहादुर महरासँग आग्रह गरेका छन् । बुधबार दिउँसो आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले एकताका लागि समायोजन भूमिका खेली दिन आग्रह गरेका हुन् ।
१२. रास्वपाले घरदैलो हस्ताक्षर अभियान चलाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म करिब २५ लाख हस्ताक्षर सङ्कलन भएको जानकारी दिएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी अनुमानित हस्ताक्षर र खर्चको विवरण सार्वजनिक गरेको हो ।
- यो पनि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण