शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एमालेमा दुई नेताको शक्तिबारे जोड घटाउ सुरु, लुकाइयो चार सचिवको सरुवा

बुधबार, १० मङ्सिर २०८२, २२ : ००
बुधबार, १० मङ्सिर २०८२

काठमाडौँ । आज मिति २०८२ साल मंसिर महिनाको १० गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर आएका छौँ–

१.जाँचबुझ आयोगको काम अन्तिम चरणमा
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका विभिन्न घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको काम अन्तिम चरणमा पुगेको छ । तीन महिनाभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउने म्यान्डेट पाएको आयोगले बयान लिने काम यो साताभित्र सक्ने तयारी रहेको जनाएको छ ।

२.  नवनियुक्त मुख्य सचिव अर्यालको  पदबहाली 
 नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले पदबहाली गरेका छन् । बुधबार उनले पदबहाली गरेका हुन् । पदबहालीसँग मुख्यसचिज अर्यालले आफ्ना प्राथमिकतालाई २५ बुँदामा प्रस्तुत गरेका छन् ।

३. दल खोल्न होडबाजी 
दल दर्ताका लागि पूर्वप्रशासक, नागरिक अगुवा, कलाकारदेखि पत्रकारसम्म आकर्षित देखिएका छन् । पुराना दल विभाजन गरी नयाँ दर्ता गर्नेदेखि समान विचारधार भएका दलहरू मिलेर नयाँ दर्ता गरिएका समेत भेटिएका छन् । वर्षौंदेखि खोलेर पनि निर्वाचनमा भाग नलिएका दलले पनि यसपटक दर्ता गराएका छन् । 

४. एमालेमा दुई नेताको शक्तिबारे जोडघटाउ सुरु
मंसिर २७ गतेदेखि सुरु हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल आमनेसामने हुने निश्चित भएसँगै पार्टीभित्र दुई नेताको शक्तिबारे जोडघटाउ सुरु भएको छ । ओली हाल अध्यक्ष र पोखरेल वरिष्ठ उपाध्यक्ष छन् ।

५. कांग्रेसका कार्यवाहक सभापति खड्काको चेतावनी 
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विवाद ल्याउने प्रस्ताव ल्याउन परेमा भूमिकाबाट अलग्गिने चेतावनी दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्यजन्य कारण देखाउँदै गत असोज २८ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएका थिए । 

६. ‘लुकाइयो’ चार सचिवको सरुवा
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्ने निर्णय गर्‍यो । तर, सरकारले उक्त निर्णय सार्वजनिक गरेन । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलन गरी सोमबारको मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका थिए । 
ती निर्णयमा चार सचिवको सरुवा गरेको विषय उल्लेख छैन ।

७. विवेकशील साझा र रास्वपाबिच एकीकरण हुने 
समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले  रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो ।

८. एनपीएल
चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा चितवनले विराटनगर किङ्समाथि चितवन राइनोजले ४८ रनको जित निकालेको हो ।

९. एमालेको रिट सर्वोच्चमा दर्ता
नेकपा (एमाले) ले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता बुधबार दर्ता भएको छ । एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार पेस गरेको रिट बुधबार दर्ता भएको बर्तौलाले जानकारी दिए ।

१०. प्रधानमन्त्रीको सचिवालयबाट १४ जना आउट
 प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयमा सहयोगीहरूको सङ्ख्या घटाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमा हाल रहेका २० जनामध्ये ६ जनामात्रै राखेर अन्य १४ जनालाई हटाउने निर्णय गरेकी हुन् । 

यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप