सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, ०५ चैत २०८०, २१ : ४६
सोमबार, ०५ चैत २०८०

आज २०८० चैत ५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा पक्राउ परेका महरा अस्पताल भर्ना, निसी खोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, सत्तारुढ गठबन्धनले भोलि साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने, नेपाल समाजवादी पार्टीले आगामी माघमा महाधिवेशन गर्ने, आईसीसीका अध्यक्ष ग्रेग नेपालमा, प्रदेश सरकार जोगाउन कांग्रेसको कसरत, हतियारसहित दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, मधेस सरकारमा एमालेको ‘इन्ट्री’ लगायत छन् ।

१. पक्राउ परेका महरा अस्पताल भर्ना
सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता कृष्ण बहादुर महरा अस्पताल भर्ना भएका छन् । महराले आफू बिरामी रहेको भन्दै अस्पतालमा बस्ने अनुमति माग गरेपछि अदालतले उनलाई उक्त सुविधा उपलब्ध गराउन आदेश दिएको थियो । महरालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । यद्यपि, महरा अस्पतालमै रहने भएका हुन् ।

२. निसी खोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जनाको उद्धार गरिएको छ ।

३. सत्तारुढ गठबन्धनले भोलि साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने
सत्तारुढ दलहरूले मंगलबार (भोलि) साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । गठबन्धन फेरिएर फागुन २१ मा मन्त्रीमण्डल पुनर्गठन भएसँगै सरकारमा पाँच दल सहभागी छन् ।

४. नेपाल समाजवादी पार्टीले आगामी माघमा महाधिवेशन गर्ने
नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँको जडीबुटीमा बसेको केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले जानकारी दिए ।  

५. आईसीसीका अध्यक्ष ग्रेग नेपालमा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले आफ्नो चार दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौँ आइपुगेका छन् । अध्यक्ष ग्रेगलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

६. प्रदेश सरकार जोगाउन कांग्रेसको कसरत
नेपाली कांग्रेस आफ्नो नेतृत्वको चार प्रदेश सरकार जोगाउने कसरतमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा नयाँ सत्ता समीकरण बनाएपछि केन्द्रमा सत्ताविमुख भएको कांग्रेस प्रदेश सरकार जोगाउन केन्द्रित देखिएको हो । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ ।

७. हतियारसहित दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ 
सर्वाेच्च अदालत अगाडिबाट हतियारसहित दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का र उनीसँग रहेका राजकुमार धिमाल छन् । 

८. माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिव दीनानाथ शर्माले जानकारी दिए । 

९. मधेस सरकारमा एमालेको ‘इन्ट्री’
मधेस प्रदेश सरकारमा एमालेको ‘इन्ट्री’ भएको छ । एमालेबाट मधेस सरकारमा सरोज यादव मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ गराएकी छन् ।

१०. इलाम–२ को उपनिर्वाचनका लागि २० दल दर्ता
आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि इलाम–२ मा २० दल दर्ता भएका छन् । निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप