शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ‘आईजीपीका लागि चार जनाबिच तीव्र प्रतिस्पर्धा’देखि ‘वर्षा र हिमपातको सम्भावना’सम्म

सोमबार, १० कात्तिक २०८२, २२ : ००
सोमबार, १० कात्तिक २०८२

सारांश

  • आईजीपीका लागि चार जनाबीच प्रतिस्पर्धा हुँदैछ, हालका आईजीपी कात्तिकमा अवकाशमा जाँदैछन्।
  • छठ पूजाको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, राष्ट्रपतिलगायत विभिन्न व्यक्तिहरू सहभागी भए।
  • नेपाली कांग्रेसका कार्यवाहक सभापतिले पार्टीका कमजोरी स्वीकार्दै अघि बढ्ने बताए।
  • विप्लवले कात्तिक २० गते काठमाडौंमा हुने आमसभामा सहभागी हुन आह्वान गरे।

आज २०८२ कात्तिक १० गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा आईजीपीका लागि चार जनाबिच तीव्र प्रतिस्पर्धा, सीडीओ सरुवा : केहीलाई बारम्बार अवसर, अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पूजा, कमजोरी स्विकारेर अघि बढ्ने कांग्रेसका कार्यवाहक सभापतिको जिकिर, जाँचबुझ आयोगले एक महिनामा के–के गर्यो ? कात्तिक २० गतेका लागि विप्लवले गरे आह्वान, वर्षा र हिमपात हुन सक्ने लगायत छन् ।

१. आईजीपीका लागि चार जनाबिच तीव्र प्रतिस्पर्धा
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ कात्तिक अन्तिम साता अवकाशमा जाँदैछन् । ३० वर्षे सेवा अवधि पूरा गरेर उनी अवकाशमा जान लागेका हुन् । एआईजीहरू दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी र शिद्धी बिक्रम शाहबिच आईजीपीका लागि तीव्र प्रतिस्पर्धा छ ।

२. सीडीओ सरुवा : केहीलाई बारम्बार अवसर
गृह मन्त्रालयले हालै विभिन्न जिल्लाका सीडीओको सरुवा गरेको छ । यस क्रममा केहीले पटक–पटक सीडीओकै रूपमा जिम्मेवारी पाएका छन् भने एकले ‘क’ वर्गको जिल्लामै रहेर ‘ह्याट्रिक’ गरेका छन् ।

३. अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पूजा
छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाउने गरिन्छ ।

४. कमजोरी स्विकारेर अघि बढ्ने कांग्रेसका कार्यवाहक सभापतिको जिकिर
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमी–कमजोरी स्वीकार गर्दै अघि बढ्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा उनले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताए ।

५. जाँचबुझ आयोगले एक महिनामा के–के गर्यो ?
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हत्या र विध्वंशको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगको एक महिना पूरा भएको छ । 

६. कात्तिक २० गतेका लागि विप्लवले गरे आह्वान
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा सहभागी हुन आह्वान गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत विप्लवले स्वाधिनता र समाजवादका पक्षमा उभिन आह्वान गरेका हुन् ।

७. २५ उद्योगको लाइन काट्दा बचत भएको बिजुली के गर्छ प्राधिकरणले ?
नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २५ उद्योगको लाइन काटेको छ । यी उद्योगमा विद्युत् लाइन काट्दा करिब २०० मेगावाट विद्युत् बचत भएको छ । बचत भएको विद्युत् कहाँ खपत भइरहेको छ भन्नेबारे चासो बढ्न थालेको छ ।

८. सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रका प्रतिष्ठानलाई अनिवार्य गर्ने योजना अलपत्र
चालु आर्थिक वर्षदेखि निजी क्षेत्रका प्रतिष्ठानलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने योजना अलपत्र परेको छ । जेनजी आन्दोलन र सरकार परिवर्तनपछि सरकारको योजना कार्यान्वयन नभएको हो ।

९. वर्षा र हिमपात हुन सक्ने, सतर्कता अपनाउन विभागको आग्रह
जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम प्रभावित हुने विभागले जानकारी दिएको छ ।

१०. गण्डकीको प्रशासनिक पुनर्संचरना अझै भएन कार्यान्वयन
साउन २६ मा प्रशासनिक पुनर्संरचना गरेर देशव्यापी चर्चा बटुलेको गण्डकी सरकारको निर्णय अहिलेसम्म कार्यान्वयनमा भने गइसकेको छैन । सरकारले तत्कालीन समयमा ७ निर्देशनालय र २ वटा केन्द्र खारेज गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप