शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एकताको चर्चाले माओवादी र समाजवादीमा तरङ्ग, दुर्गाद्वारा आन्दोलनको घोषणा

बुधबार, १२ कात्तिक २०८२, २२ : ००
बुधबार, १२ कात्तिक २०८२

आज २०८२ कात्तिक १२ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • केन्द्रीय समिति बैठक

नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण  बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् ।

  • पार्टी एकता

 नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीसँग एकता गर्न हतारिएका बेला अर्का नेता नारायणकाजी श्रेष्ठ हतारमा एकता गर्न नहुने पक्षमा उभिएका छन् । पछिल्लो समय प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पार्टी एकताका लागि घनिभूत छलफलमा छन् । तर हतारमा पार्टी एकता गर्न नहुने पक्षमा दुवै पार्टीभित्र तीव्र बहस चलिरहेको हो ।

  • नेपाल प्रहरी

 नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ५ सिट रिक्त भएको छ । कार्तिक ९ मा पाँच जनालाई डीआईजीमा बढुवा सिफारिस गरेसँगै पाँच पद रिक्त भएको हो । आइतबार वरिष्ठ उपरीक्षकहरू भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले डीआईजीमा बढुवा सिफारिस भएका हुन् ।

  • संसद् विघटन

सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वाेच्च अदालतले राष्ट्रपति कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌काे कार्यालयलाई ७ दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेस गर्न आदेश समेत दिएको छ ।

  • नेपाली कांग्रेस

२०७८ पुस ६ गते सम्पन्न भएको पार्टीको १४ औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले आफ्नो गुटको बैठक राखेनन् । २०८१ फागुन २ गते भने उनलाई १४औँ महाधिवेशनमा आफूलाई सहयोग गरेका ११ नेता भेट्न गएर १५ औँ महाधिवेशनमा समूहबाट सभापतिको उम्मेदवार को हो भन्दै सोधे । त्यसमा देउवाको घुमाउरो जवाफ थियो – बेला भएको छैन, भएपछि सल्लाह गरौँला । 

 नेपाली कांग्रेस अन्तर महानगर कार्यसमितिको चौथो बैठकले बदलिँदो परिस्थिति, जेनजी आन्दोलन र आम नेपालीको जनचाहनाअनुरुप देशमा व्याप्त भ्रष्टाचारको निर्ममतापूर्वक छानबिन गर्नुपर्ने निर्णय गरेको छ । 

  • शिक्षिका आत्महत्या प्रकरण 

बाजुराको बुढीगंगा नगरपालिका– ५ स्थित भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहको गणित शिक्षकका रूपमा कार्यरत २७ वर्षीया जानकी खड्काले विवाहको दबाब झेल्न नसकी आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख गरेकी छिन् ।

  • महसुल विवाद

सात वर्षअघिको महसुल विवादलाई लिएर देशका दुई दर्जन उद्योगमा लाइन काटिएको छ, उत्पादनमूलक क्षेत्रका र केही निर्यातमूलक उद्योगसमेत विद्युत् आपूर्ति कटौतीको मारमा छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काट्न थालेको कात्तिक ४ गतेदेखि हो ।

  • बालुवाटार बैठक

सरकार,राजनीतिक दल र जेनजी सम्मिलित त्रिपक्षीय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपराह्नदेखि बसेको बैठक साढे ४ घण्टामा सकिएको हो ।

  • दुर्गा प्रसाईंको आन्दोलन

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको उनले स्पष्ट पारेका हुन्।

  • मन्त्रिपरिषद् बैठक

 सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप