शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : रवि-बालेन मिलनको तरङ्ग, निर्वाचनको वातावरण बनाउने प्रयासमा सरकार

मङ्गलबार, ०८ पुस २०८२, २२ : ००
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • राष्ट्रपति र शीर्ष नेताहरूको भेटवार्ताले संवादहीनता तोड्यो, निर्वाचनको वातावरण बनाउन समझदारी बन्यो।
  • रवि लामिछाने र बालेन शाहबीच लामो छलफल भयो, जसले राजनीतिक वृत्तमा तरंग ल्यायो।
  • कांग्रेसका ६८ सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर दर्ता गराए।

आज २०८२ पुस ८ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • तोडियो संवादहीनता

जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेता तीनतिर फर्किएका बेला मंगलबार पहिलो पटक एकठाउँमा भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेतालाई एकै ठाउँमा भेटवार्ता गर्ने अवसर जुराइदिएका हुन् । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतालाई एक्लै नभेट्ने बताउँदै आएकी थिइन् ।

  • बालेन-रवि मिलन

सोमबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच पाँच घण्टाभन्दा लामो छलफल भयो । कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको छलफल करिब ५ घण्टा चलेको थियो, जुन भेटले यतिबेला पूरै राजनीतिक वृत्त तरंगित बनाइदिएको छ । बैठकपछि रवि र बालेन एउटै गाडीमा मुस्कुराउँदै बाहिरिएका थिए ।   

  • जाँचबुझ आयोग

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ । आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको आयोगका एक पदाधिकारीले रातोपाटीलाई बताए ।

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहसचिव गोकर्णमणि दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा गरेको छ । आयोगले भदौ २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित पूर्व आईजीपी चन्द्र कुवेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि समेत स्थान हद लगाएकोमा मंगलबार फुकुवा गर्ने निर्णय गरेको हो । 

  • देउवासँगै छ शक्ति

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा धर्मपत्नी डा. आरजु राणा देउवासहित कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्यसपछि एक महिनासम्म सार्वजनिक भएनन् । लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचार गरेर ‘गुप्तबास’ बसेका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता गर्न सार्वजनिक भए ।

  • दुई लाइन संघर्ष

 नेकपा एमालेमा दुई लाइन संघर्ष बढ्दै जाने देखिएको छ । ११औँ महाधिवेशनपछि पार्टीभित्र यस्तो संघर्ष अझ झाङ्गिने देखिएको हो ।

  • चुनावी सुरक्षा

राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ११ मा प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा सेना परिचालन गर्ने निर्णय गरे । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले ३ चरणमा सेनालाई परिचालन गर्ने निर्णय गरेका हुन् ।

  • प्रतिनिधिसभाको पुनर्स्थापना 

प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ । हस्ताक्षरसहितको पूरक रिट मंगलबार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको हो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए ।

  • राप्रपा उम्मेदवार सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा उम्मेदवार सिफारिसको क्रम चलिरहँदा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम सिफारिसमा लफडा भएको छ । फागुन २१ गते तय भएको निर्वाचनका लागि राप्रपाले उम्मेदवार सिफारिस गर्न क्षेत्रीय कमिटीहरूलाई परिपत्र गरिसकेको छ ।  सोहीअनुसार उम्मेदवारको सिफारिस गर्ने क्रम चलिरहँदा काठमाडौँ–१ मा छुट्टाछुट्टै दुई वटा नामावली सिफारिस भएको हो । 

  • बंगलादेशमा नेपाली

बंगलादेशमा इन्कलाब मञ्चका विद्यार्थी नेता शरीफ उस्मान हादीको हत्यापछि उत्पन्न तनावबिच पनि त्यहाँ रहेका नेपाली विद्यार्थी सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

  • क्रियाशील सदस्यता

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई सहज, व्यवस्थित र विधानसम्मत बनाउन सबै तहका पार्टी समितिलाई आवश्यक समन्वय र सहजीकरण गर्न पत्राचार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप