सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : महरालगायतसँग बयानदेखि जग्गा घोटालामा मालपोतको पत्रसम्म

बिहीबार, २५ माघ २०८०, २२ : ४४
बिहीबार, २५ माघ २०८०

आज मिति २०८० साल माघ महिनाको २५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटी ब्रिफिङ लिएर उपस्थित भएका छौँ–

मालपोतको पत्र

बाँसबारी छालाजुत्ता कारखानासँग मिलेर उद्योगी अरुण चौधरीले निजीकरण गरेको भनिएको १० रोपनी जग्गा फिर्ता ल्याउन मालपोत कार्यालयले ‘प्रक्रिया’ सुरु गरेको छ । बिहीबार डिल्लीबजार मालपोत कार्यालयले ‘जग्गाको स्रेस्ता अद्यावधिक गरी सरकारको नाममा ल्याउन आदेश भएको’ भन्दै २१ दिनभित्र उपस्थित हुन चाँदबाग रेसिडेन्सीलाई पत्राचार गरेको छ । उक्त जग्गा घोटालामा चौधरी पक्राउ परेर बुधबार रिहा भएका थिए ।

महरा लगायतसँग बयान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुनबारे जाँचबुझ गरिरहेको आयोगले भिमकान्त भण्डारीसँग बयान लिएको छ । बिहीबार सिंहदरबार स्थित कार्यालयमा भण्डारीलाई बयान गराइएको आयोगका एकजना पदाधिकारीले रातोपाटीलाई बताए ।

पूर्वसभामुख कृष्णबहादुर महराले पनि सुन तस्करी जाँचबुझ आयोगमा बयान दिएका छन् । आयोग स्रोतका अनुसार महराको बयान सकिएको छ ।

थप समाचार

सांसदको हाजिरी

प्रतिनिधिसभाका सांसदहरुको विद्युतीय हाजिरी लिनका लागि सङ्घीय संसद् सचिवालयले सांसदहरूको औँठाछाप लिने काम सकेको छ । संसद् भवनमा विभिन्न ठाउँमा झन्डै ८ वटा हाजिरी मेसिन राखिने, ती मेसिनहरूमा हुने हाजिरी एउटै एपमा आउने र वेबसाइटमा हेर्न मिल्ने पद्धति व्यवस्थापनको काम भइरहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले रातोपाटीलाई जानकारी दिए ।

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण भइरहेको संघीय संसद् भवनको काम छिटो सक्न संसदीय समितिले ताकेता गरेको छ । बिहीबार राष्ट्रियसभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले सहरी विकास मन्त्रालय अन्तर्गत रहेको विशेष भवन निर्माण परियोजनाका कर्मचारीहरुलाई बैठकमा बोलाएर संसद् भवन निर्माणको काम छिटो सक्न ताकेता गरेको हो ।

प्रचण्डको सक्रियता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनयता संघीयता कार्यान्वयनका सवालमा विभिन्न पक्षसँग बाक्लो भेटघाट र छलफलमा व्यस्त छन् ।

संविधान जारी भएको ८ वर्ष बित्दासमेत सो अनुसार प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोगका लागि बन्नुपर्ने कानुन बन्न नसक्दा संघीयताप्रति नै प्रश्न उठ्न पुगिरहेका बेला प्रधानमन्त्री प्रचण्ड संघीयता कार्यान्वयनका अड्चन फुकाउन तारान्तर छलफल र संवादमा जुटेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका महत्त्वपूर्ण मुख्य तीन वटा ऐन जतिसक्दो चाँडो जारी गरेर कानुन बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् ।

सरकारले हुलाक सेवामा रहेका १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिवर्तन गरी १ हजार ६सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

वैदेशिक रोजगारका उजुरी

पछिल्लो ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी तीन हजार ४०० भन्दा बढी उजुरी परेका छन् । गत साउनदेखि पुस मसान्तसम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

बैंकहरुको लगानी

पछिल्लो महिना बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । केन्द्रीय बैंकको रिपोर्ट अनुसार पुस महिनामा बैंकहरुले अधिकतम ८६ अर्ब कर्जा लगानी गरेका हुन् ।

यो पनि

नेपालको कमब्याक

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।

समाचार संक्षेपमा

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिएका छन् । लगत्तै गृहमन्त्रीले आवश्यक निर्देशन समेत दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनले लातले हानेपछि मात्रै थाहा पाउने बताएका छन् । नेकपा एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को पटकदेखि माधव नेपालले चुनाव समेत नजित्ने दाबी समेत गरे ।

नेकपा माओवादी केन्द्रले मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागिएको । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने सचिव गणेश साहले बताए ।

नेकपा एकीकृत समाजवादीले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अद्यावधि र विस्तार गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी महाधिवेशनका लागि २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो ।

र्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै रोल्पाको एक स्थानीय तहले जनयुद्ध दिवसमा सार्वजनिक बिदाको घोषणा गरेको छ । रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेर गैरकानुनी लाभ उठाइ हानीनोक्सानी पुर्याएको आरोप छ ।

यो पनि

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप