सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

मन्त्रिपरिषद् फेरबदल गर्ने तयारीमा प्रधानमन्त्री, देउवाले गरे कांग्रेस मन्त्रीहरुसँग छलफल

आइतबार, २० फागुन २०८०, २१ : २५
आइतबार, २० फागुन २०८०

आज २०८० फागुन २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सत्ता गठबन्धनमा खटपट चलिरहँदा बालुवाटार पुगे विपक्षी दलका शीर्ष नेताहरु, कांग्रेसका मन्त्रीलाई बोलाएर देउवाले गरे छलफल, शालिनको पोस्टमार्टमबाट पुष्टि भएन बलात्कार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा कांग्रेसको अड्को, टेरामक्स प्रकरणको मुद्दा दर्ता किन हुन सकेन ?, मन्त्री फेरबदल गर्न प्रधानमन्त्रीका दुई विकल्प, बालेनलाई ३२ जना अधिकारकर्मीको खुला पत्र, सरकार तानाशाह बनेको ओलीको आरोप लगायत छन् ।

१. सत्ता गठबन्धनमा खटपट चलिरहँदा बालुवाटार पुगे विपक्षी दलका शीर्ष नेताहरु
सत्ता गठबन्धनभित्र खटपट चलिरहेको समयमा आइतबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । राष्ट्रियसभा अध्यक्ष पदका लागि उम्मेदवारीबारे सत्ता पक्षका मुख्य दुई घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबिच हानथाप चलिरहेका बेला विपक्षी दुई दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्रीको छलफललाई निकै चासोका साथ हेरिएको छ । 

२. कांग्रेसका मन्त्रीलाई बोलाएर देउवाले गरे छलफल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई छलफलमा बोलाएका छन् । सत्ता गठबन्धनमा खटपट देखिएका बेला देउवाले आफ्नो निवास बूढानीलकण्ठमा मन्त्रीहरुलाई छलफलका लागि बोलाएका हुन् ।

३. शालिनको पोस्टमार्टमबाट पुष्टि भएन बलात्कार
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शव परीक्षणबाट बलात्कार पुष्टि नभएको स्रोतले जनाएको छ ।

४. संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा कांग्रेसको अड्को
प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिबाट आइतबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने तयारी थियो । तर नेपाली कांग्रेसका उपसभापति समेत रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले २ वटा विषयमा थप छलफल गर्नुपर्ने भन्दै समिति सभापतिसँग समय मागे । त्यसपछि विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्न सकेन ।

५. टेरामक्स प्रकरणको मुद्दा दर्ता किन हुन सकेन ?
फागुन २० गते आइतबार विशेष अदालतमा टेरामक्स खरिदसम्बन्धी मुद्दा दायर गर्ने तयारीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग थियो । सञ्चार मन्त्रालयको सचिव रहँदा टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियारले मुख्यसचिव वैकुण्ठप्रसाद अर्यालविरुद्ध पनि मुद्दा दायरको तयारी गरेको छ । अख्तियारले अनुसन्धान मात्रै सकाएको छैन, अभियोजनको फाइल समेत तयारी अवस्थामा राखेको छ । तर भ्रष्टाचारको मुद्दा दायर गर्नुभन्दा पहिले उनले राजीनामा दिउन् वा उनलाई पदबाट हटाइयोस् भन्ने चाहना अख्तियारको छ ।  

६. मन्त्री फेरबदल गर्न प्रधानमन्त्रीका दुई विकल्प
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् फेरबदल गर्ने अन्तिम तयारी थालेका छन् । यसका लागि उनले सत्तारुढ गठबन्धनसामु दुईवटा विकल्प अघि सारेका हुन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार पहिलो विकल्पका रूपमा कार्यसम्पादन मूल्याङ्कनमा कमजोर भएका मन्त्रीहरूलाई फेरबदल गर्ने प्रधानमन्त्रीको चाहना छ । दोस्रो विकल्प भनेको गठबन्धनको सहमतिमा मन्त्रीहरूको सेट नै फेर्ने उनको मनस्थिति छ ।

७. बालेनलाई ३२ जना अधिकारकर्मीको खुला पत्र
३२ जना अधिकारकर्मीले काठमाडौँ महानगर प्रहरीले सडक व्यापारीमाथि गरेको धरपकड र अभद्र व्यवहारको भर्त्सना गरेका छन् । अनिता न्यौपाने थपलिया, इला शर्मा, कनकमणि दीक्षित, कमल बिक, कृष्ण गौतम, कुन्दन अर्याल, चरण प्रसाईंलगायतका अधिकारकर्मीले मेयर बालेनलाई खुला पत्र लेख्दै यस्ता घटना दोहोरिन नदिन पनि ध्यानाकर्षण गराएका छन् । 

८. सरकार तानाशाह बनेको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार आफैँ अधिनायकवादी र तानाशाह रहेको बताएका छन् । आइतबार देशको आर्थिक अवस्थाबारे विज्ञहरूसँगको छलफलमा अध्यक्ष ओलीले अहिलेको सरकारले शक्ति पृथकीकरणको सिद्धान्त नै नबुझेको पनि बताए ।

९. प्रि–मनसुन मौसम प्रणाली सुरु भएसँगै काठमाडौँमा वर्षा
हिउँद सकिएपछि प्रिमनसुन मौसम प्रणाली सुरु भएसँगै काठमाडौँमा वर्षा भएको छ । अघिल्लो हप्तादेखि सुरु भएको प्रि–मनसुनका कारण आइतवार काठमाडौँमा वर्षा भएको हो ।

१०. कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट र कमजोरको नाम माओवादीले सार्वजनिक गरेन
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टी रूपान्तरण विशेष अभियानमा काम गर्ने÷नगर्ने नेताहरूको नाम सार्वजनिक गर्ने बताएको थियो । तर फागुन १६ गते सकिएको बैठकले न राम्रो काम गर्ने नेताहरुको नाम सार्वजनिक ग¥यो, न त काम नगर्ने नेताहरूको नाम नै सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप