आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ०९ वैशाख २०८१, २१ : ४३
आइतबार, ०९ वैशाख २०८१

आज २०८१ वैशाख ९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक सम्पन्न, वीरेन्द्र तालमा हिमपहिरो खसेपछि तल्लो क्षेत्रमा बाढी, भागबण्डा नमिलेपछि लुम्बिनीका कृषिमन्त्रीले दिए राजीनामा, विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्रीको जिकिर, साढे ११ खर्बको वस्तु आयात हुँदा १ खर्बको निर्यात, दलहरूकै कारण देश र जनताको अवस्था गम्भीर : बाबुराम भट्टराई, मुख्यमन्त्रीमा आफ्नो दाबी सदर गर्न मागसहित लक्ष्मणकिशोर चौधरीले दायर गरे रिट निवेदन लगायत छन् ।

१. एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक सम्पन्न
१५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको छ । बैठकको अन्तिम दिन उपमहासचिव विष्णु रिमालले पार्टी सचिवालयले तयार पारेको १५ बुँदे समसामयिक प्रस्ताव वाचन गरेका थिए । प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो ।

२. वीरेन्द्र तालमा हिमपहिरो खसेपछि तल्लो क्षेत्रमा बाढी
गोरखाको वीरेन्द्र तालमा हिम पहिरो खस्दा तल्लो क्षेत्रमा बाढी आएको छ । त्यहाँका प्रहरी प्रमुख अञ्जन पौडेलले तालमा हिउँको ढिक्का र चट्टान थुप्रिएको बताए । उनका अनुसार तालबाट पानी गहिरिएर बगेको छ ।

३. भागबण्डा नमिलेपछि लुम्बिनीका कृषिमन्त्रीले दिए राजीनामा
जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालय सम्हाल्दै आएका थिए । सरकार गठनअघि आफ्नो पार्टीलाई दुई मन्त्रालय दिने सहमति भए पनि एउटामात्र मन्त्रालय दिइएको भन्दै उनले राजीनामा दिएका हुन् ।

४. विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्रीको जिकिर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्तसमेत गरे ।

५. साढे ११ खर्बको वस्तु आयात हुँदा १ खर्बको निर्यात
चालु आर्थिक वर्ष (२०८०/८१) को ९ महिनाको अवधिमा नेपालको आयात र निर्यातमा दुवैमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा गिरावट आएको छ । चालु वर्षको ९ महिनाको अवधिमा ११ खर्ब ६७ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ ।  

६. दलहरूकै कारण देश र जनताको अवस्था गम्भीर : बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठुलो त्याग र बलिदानले ल्याएको गणतन्त्र–लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको बताए । उनले राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर चरणमा पुगेको जिकिर गरे ।

७. मुख्यमन्त्रीमा आफ्नो दाबी सदर गर्न मागसहित लक्ष्मणकिशोर चौधरीले दायर गरे रिट निवेदन
नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसद लक्ष्मणकिशोर चौधरीले आफूले मुख्यमन्त्रीमा दिएको दाबी सदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । मुख्यमन्त्री पदमा आफूले दाबी पेस गर्दा नागरिक उन्मुक्ति पार्टीका सात, नेपाली कांग्रेसको १८, नेकपा एकीकृत समाजवादीको चार जनाले समर्थन गरेको उनको जिकिर छ ।

८. इलाम–२ उपनिर्वाचन : यस्तो छ दलहरूको अवस्था 
इलाम–२ लाई वैशाख १५ मा हुने उपचुनावको रौनकले छोपिसकेको छ । दलका १२ र स्वतन्त्र ७ गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । यद्यपि मुख्य प्रतिस्पर्धा चार जनाबिच हुने देखिन्छ । 

९. शासकीय स्वरुपमाथि बहस : संविधान निर्माणको समयमा यस्ता थिए दलहरूका अडान
मुलुकको शासकीय स्वरुपमाथि अहिले पनि बहस भइरहेको छ । कतिपयले शासकीय स्वरुपमा रहेको त्रुटिकै कारण मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको जिकिर गरिरहेका छन् । 

१०. दलको कार्यकारिणी समितिमा रहेका शिक्षकलाई बर्खास्त गर्न निर्देशन
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक÷कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईहरूलाई निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप