शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: प्रधानमन्त्रीको भिडियो सन्देशदेखि शीर्ष नेताहरूको सुरक्षाकर्मी फिर्तासम्म

शुक्रबार, २४ असोज २०८२, ०० : ००
शुक्रबार, २४ असोज २०८२

सारांश

  • प्रधानमन्त्रीले जेनजी आन्दोलनमा शहीद भएकाहरूप्रति समवेदना व्यक्त गर्दै भिडियो सन्देश जारी गरिन्।
  • सरकारले पूर्वप्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिहरूका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ।
  • मन्त्रीपरिषद् बैठकले डीआईजीलाई एआईजीमा बढुवा गर्ने, भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ।

काठमाडौँ। आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. प्रधानमन्त्रीको भिडियो सन्देश

जेनजी आन्दोलनको एक महिना पूरा भएको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गरेकी छन्। भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा धेरै युवा शहीद भएको र सयौँ व्यक्ति घाइते भएकोमा गहिरो दुःख व्यक्त गर्दै शहीद परिवार र घाइतेप्रति समवेदना प्रकट गरिन्।

२. शीर्ष नेताहरूको सुरक्षाकर्मी फिर्ता 

सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ ।

३. संसद् विघटनबारे ओली र प्रचण्डको आश्चर्यजनक ‘यू–टर्न’

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटनको प्रक्रियामा दुई ठुला वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विरोधाभासपूर्ण प्रतिक्रिया आएको छ । 

४. सरकार र एमाले आमने–सामने, भिडन्तको संकेत !

नेकपा एमालेले जेनजी विद्रोहपछिको परिवर्तनलाई नस्वीकार्ने प्रस्ट संकेत गरेको छ । यसको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरको गुण्डुबाट गर्जनभावका साथ दिएका हुन् ।

५. शीतल निवासमा प्रधानमन्त्री र दुई मन्त्रीको ४५ मिनेट 

राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र दुई मन्त्रीले भेट गरेका छन् ।

६. कांग्रेस बैठक 

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पदाधिकारी बैठकमा कार्यवाहक सभापति बनाएर महाधिवेशन जाने विषय नउठेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले कार्यवाहक सभापति बनाउने विषय बैठकमा नउठेको बताएका हुन् ।

७. गुण्डुमा ओलीको गर्जन 

अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ । किनकि देशमा सरकार छ, तर संविधानअनुसार बनेको छैन । बलमिच्याइँले यो सरकार बनेको छ ।

८. रक्षात्मक अवस्थामा बालेन शाह

काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाह पछिल्लो समय रक्षात्मक अवस्थामा पुगेका छन् ।

९. देशको एउटै मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशाला

कुनै पनि देशको राष्ट्रिय टोलीले आफ्नो देशमा फुटबल खेल्न पाउनु गर्वको कुरा हो । घरेलु समर्थकको माझमा खेल पस्किन पाउनु खेलाडीका लागि खुसीको कुरा हो । 

तर, नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका लागि यो अवसर पछिल्लो दुई वर्षदेखि मिलेको छैन । नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालमा एसियाली फुटबल महासंघ (एएफसी)बाट पटक–पटक अयोग्य बनेको छ, जसका कारण घरेलु मैदानमा नेपाली टोलीले खेल देखाउन पाएको छैन । 

१०. मन्त्रिपरिषद् बैठकको निर्णय 

मन्त्रिपरिषद् बैठकले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने, भूमि समस्या समाधान आयोग खारेज गर्ने तथा भिजिट भिसा छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने लगायतका निर्णयहरू गरेको छ ।

११. पाँच सयभन्दा बढी गाडी जलेको प्रहरीले कसरी दिँदै छ सुरक्षा ?

आन्तरिक प्रवेदनअनुसार प्रहरीले शान्ति सुरक्षाका लागि प्रयोग गर्दै आएको ५ सय ५१ वटा गाडी प्रदर्शनकारीले आगजनी गरेका छन् । तत्काल घटनास्थलमा पुग्न प्रयोग गरिने ३१९ वटा मोटरसाइकल जलेका छन् । अर्थात् ४ सय ९४ सवारीसाधनमा पूर्ण क्षति पुगेको छ भने ५७  वटामा आंशिक ।

१२. डिम्ब भण्डारण प्रविधिले पूरा गर्छ ढिलो उमेरमा आमा बन्ने सपना

पछिल्लो समय विश्वभर बाँझोपनको समस्या बढिरहेको छ । १५–२० वर्षयता यो समस्या दोब्बरले बढेको चिकित्सकहरू बताउँछन् । जीवनशैलीमा आएको परिवर्तन र करिअर केन्द्रित हुने प्रवृत्ति यसको मुख्य जिम्मेवार मानिएको छ । बढ्दो स्वास्थ्य सचेतनाले पनि बाँझोपनको पहिचान भइरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप