बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन : ओलीद्वारा उद्घाटन
LIVE UPDATES

LIVE UPDATES : एमाले महाधिवेशन : ओलीद्वारा उद्घाटन

शनिबार, २७ मङ्सिर २०८२, १४ : ५२
Live

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । 

एमालेसँग सहकार्य गर्न जनमत पार्टी तयार छ : कुशवाहा

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले आफ्नो पार्टी एमालेसँग अझै सहकार्य गर्न तयार रहेको बताएका छन् । शनिबार एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् ।

उनले देशको विषम परिस्थिति जनमत पार्टी नौलो गणतन्त्रका लागि सङ्घर्ष रहेको.धारणा राखे । उनले प्रदेश सरकार पूर्ण रूपमा सञ्चालित नरहेको बताउँदै उनले एमालेसँग सदैव सहकार्यमा रहेको समेत बताए । 

आफ्नो पार्टी विगत तीन वर्षदेखि संसदीय राजनीतिमा रहेको बताउँदै उनले त्यसमा एमालेले देखाएको सद्भावप्रति धन्यवाद दिए । कुशवाहाले अगामी दिनमा पनि एमालेसँग सहकार्य हुने अपेक्षा लिएको बताए । 

अवैध सरकारलाई समर्थन छैन : विप्लव

काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला नेतृत्वको सरकार अवैधानिक भएकाले समर्थन गर्न नसकिने बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दल विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै नेपाललाई कसैका अधीनमा लैजान नदिने बताए ।

उनले मुलुकको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड समेत दिए । ‘देश जटिल परिस्थितिमा छ । दल छन्, देश छ नेताहरू पनि छन् । तर आज राज्य कहाँ छ ? राज्य छ कि छैन भन्ने प्रश्न उब्जेको छ । यस्तो जटिल परिस्थितिमा महाधिवेशन हुन लाग्दैछ’, विप्लवले भने, ‘एमालेमाथि थुप्रै प्रश्न छ सायद त्यसको जवाफ दिन एमालेले यो कार्यक्रम गरिएको होला ।’

उनले अहिले संसारले एमालेको महाधिवेशनलाई हेरेको भन्दै सङ्कटको निकास दिन सक्छ भन्ने कि सक्दैन भनेर हेरिए पनि त्यो जवाफ दिन सफल भएको बताए । विप्लवले राजनीतिक दलहरूले यो देशमा धेरै दुःख गरेका छन् तर जनताका अपेक्षा अधुरै रहेको पनि बताए । 

यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ । 

शुक्रबार बसेको सचिवालय बैठकले विधान अनुसार १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो । १०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।

ओलीले रिमोट थिचेर गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तल र बत्ति बालेर उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी भएका छन् । सल्लाघारीस्थित तीनकुने मैदानमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

एमालेको महाधिवेशन डिजिटल प्रविधिबाट उद्घाटन गरिएको हो ।

जेनजी आन्दोलन कसैको उक्साहट मात्र होइन : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान ब्युँताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्दा पनि नयाँ समझदारी गर्नुपर्ने बताएका छन् । शनिबार एमालेको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै लिङ्देनले यस्तो बताएका हुन् । 

उनले जेनजी आन्दोलन कसैको उक्साहट मात्र नभई चरम कुशासन र बेरोजगारीको पृष्ठभूमिमा आक्रोश व्यक्त भएको बताए । उनले सरकार, दलहरू र पूर्व राजासहित नयाँ समझदारी गरेर देशले जित्ने निर्णय गर्नुपर्नेमा जोड दिए ।

जेनजी विद्रोह विस्फोट हुनुमा जिम्मेवारी लिनुपर्छ : कवीन्द्र बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जेनजी आन्दोलन विस्फोट हुनुमा ३०, ३५ वर्ष राज्यको नेतृत्व गरेका सबै राजनीतिक दलले जिम्मेवारी दिनुपर्ने बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै बुर्लाकोटीले यस्तो बताएका हुन् । 

‘सरकारमा रहेका बेलाको जति भाग आए रास्वपाले समेत जिम्मेवारी लिनेछ’, बुर्लाकोटीले भने– ‘केही घण्टा राज्य विहीनता र प्रधानमन्त्री समेत सेनाको हेलिकप्टबाट हिँड्नुपर्ने अवस्था कसरी आयो भनेर विश्लेषण गर्न जरुरी छ ।’

उनले समयमै निर्वाचन गर्न र लोकतन्त्रलाई लिकमा ल्याउने काममा एमाले पछि हट्न नहुने भन्दै बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई तत्कालीन सरकारले प्रतिशोधपूर्ण ढङ्गले हिरासतमा राखेको बताए । 

वामपन्थीहरूबिच एकताको विकल्प छैन : देव गुरुङ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले वामपन्थीहरूबिच एकताको विकल्प नभएको बताएका छन् । नेकपा एमालेको महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेता गुरुङले यस्तो बताएका हुन् । 

‘विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकता नगरी लोकतन्त्र रक्षा गर्न कठिन छ’, गुरुङको भनाइ छ । साथै उनले नेकपाले कम्युनिस्टहरू एकता प्रक्रिया सुरु गरेको बताए । ‘यतिखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र गम्भीर सङ्कटमा छ, संविधान कोमामा छ । मुलुकको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछि सबैभन्दा सङ्कटमा छ’, गुरुङले भने, ‘यो सङ्कट सम्बोधन गर्ने अग्रगामी शक्ति कम्युनिस्ट पार्टी मात्र हुनसक्छ ।’

कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको पनि बताए । ‘सङ्कटको समाधान गर्न सक्षम र सही अर्थमा राष्ट्रवादी हुन सक्छन् । विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकता नगरी लोकतन्त्र रक्षा गर्न कठिन छ’, गुरुङको भनाइ छ ।

राज्य प्रणाली माथिको आक्रमणविरुद्ध सबै दलले सङ्कल्प गर्नुपर्छ : पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना मन्तव्य दिँदै खड्काले मुलुकको विषम परिस्थितिलाई राजनीतिक दलहरू एक ठाउँमा उभिएर लिकमा फर्काउन सक्नुपर्ने बताए ।

मुलुकका राष्ट्रिय धरोहरदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम समेत खरानी बनाएको भन्दै खड्काले यी सबै काम किन भए भनेर प्रश्न गरे । 

‘यी विषयमा हामी सबै राजनीतिक दलले निधार खुम्च्याएर, गम्भीर भएर, जिम्मेवारी बोध गरेर नयाँ सङ्कल्प, दृष्टिकोण र सोचका साथ राज्य प्रणालीमाथिको आक्रमणविरुद्ध एकताबद्ध भएर पुनर्निर्माण, भरोसा र डिरेल भएको संविधानलाई लिकमा ल्याएर जनताको अधिकारको रक्षाका लागि सबै दल एक भएर लाग्नुपर्ने छ’, खड्काको भनाइ छ । 

उद्घाटनसत्रमा ओलीको सम्बोधनः संसद पुनर्स्थापना गरेरै छाड्ने संकल्प (पूर्णपाठ)

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई पुनः संविधानको लिकमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन्।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक तवरले विघटन गरिएको संसद् ब्युँताएरै छाड्ने संकल्प गरेका हुन्।

ओलीले मुलुक अहिले गम्भीर संवैधानिक संकटमा फसेको दाबी गरे। उनले भने, 'अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा हामी अगाडि बढ्नुपर्छ।' ओलीले वर्तमान सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको आरोप लगाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले निर्णायक शक्तिका रूपमा उभिने उद्घोष गरे।

सल्लाघारीबाट ओलीको उद्घोष : संसद पुनर्स्थापना गराएर छाडिन्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना गराएरै छाड्ने उद्घोष गरेका छन् । भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

‘यो मानिसहरूको भीड मात्र होइन, देश जोगाउने आन्दोलन र अभियान हो’, ओलीले भने, ‘यसलाई कसैले पनि गल्तीले पनि अन्डर माइन्ड नगरोस् ।’  उनले एमालेको भक्तपुरको उपस्थिति एउटा थोपा मात्र भएको भन्दै एमालेलाई होच्याउने र जिस्काउने काम नगर्न चेतावनी दिए ।  

‘देशलाई लोकतान्त्रिक बाटोमा फर्काएर छाडिन्छ, संसद पुनर्स्थापना गराएर छाडिन्छ, संविधानलाई ट्र्याकमा ल्याएर छाडिन्छ, यो एमालेको सङ्कल्प हो’, ओलीले यो सङ्कल्पमा सबैलाई लाग्न आग्रह समेत गरे । 

भदौ २४ को घटना सम्झँदै ओलीले भने : थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

वर्तमान सरकार हिंसाबाट जन्मेको भन्दै ओलीले सोही कारण आफूहरूले नस्विकारेको र नस्विकार्ने प्रस्ट पारे । ‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौँ । जनताको मन जितेर पनि शान्तिपूर्ण ढङ्गले पनि समाज बदल्न सकिन्छ,’ ओलीले थप भने, ‘हामी भन्छौँ अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय होइन भन्छौँ ।’

उनले राष्ट्र, राष्ट्रियता र नेपाली जनताको पक्षमा निर्णय गर्ने एमालेमाथि चौतर्फी प्रहार भएको भन्दै भदौ २४ को विनाशलाई बिर्सन नसक्ने र अपराधीले सजाय पाउनुपर्ने बताए ।  ‘हामी नविर्सौ त्यो महाविनाशलाई । त्यस दिनको विनाश छानबिन होस्, दोषीलाई कारबाही होस्’, ओलीले भने, ‘त्यो असामान्य परिस्थितमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिए ।’ 

एमाले महाधिवेशनमा झाँकी प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ ।

विभिन्न ठाउँबाट निस्केको नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित भक्तपुरको सल्लाघारीस्थित मञ्चमा पुगेको थियो । 

पञ्चैबाजा नौसिङ्गे बाजागाजासहित विभिन्न वेशभूषासहित भक्तपुरका विभिन्न ठाउँ निस्केका थिए । भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । महाधिवेशन यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ ।

ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशन उद्घाटन समारोह

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ ।

शनिबार अध्यक्ष केपी शर्मा ओलीले रिमोर्ट थिचेर झण्डोत्तल र बत्ति बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् । तस्बिर : फोटो लाइब्रेरी

हेर्नुहोस् ड्रोनबाट लिइएको तस्बिर :

एमालेसँग सहकार्य गर्न तयार छौँ : रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्र निर्माणका सवालमा आफ्नो पार्टीले सहकार्य गर्न ढोका खुलै राखेको बताएकी छन् ।  नेकपा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष श्रेष्ठले यस्तो बताएकी हुन् । 

उनले नेकपा एमालेको ११औँ महाधिवेशनले राष्ट्रको स्थिरता, विकास र भावनात्मक एकताको दिशामा नयाँ अध्यायको सुरुवात हुन सकोस् भन्ने शुभकामना दिइन् ।

लोकतन्त्र अजय छ, नेकपा एमाले अजम्बरी छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजय र लोकतन्त्र अजम्बरी रहेको बताएका छन् । भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

‘सम्झिरहेको छु तीन महिनाअघिका कहाली लाग्दा दिन । जतिबेला देश आततायीबाट जलाइएको थियो’, ओलीले भने, ‘संविधान र लोकतन्त्रसहितका आधार स्तम्भ राजनीतिक दलमाथि भिषण हमला गरिएको थियो ।’ 

उनले जनेजी आन्दोलनपछि पुराना नेता र दलका दिन गए भनेर भाष्य निर्माण गर्न खोजिए पनि महाधिवेशनमा धुवा, खरानी र निषेधलाई चिर्दै जनसागर उर्लिएको बताए । 

लोसपा महासचिवको प्रश्न : सरकारले जेनजी पुस्तासँग सम्झौता लागू गर्न सक्छ ?

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का महासचिव सुरेन्द्र झाले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउने भन्दा पनि अन्य काममा हात हालेको बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै झाले के यो सरकार संवैधानिक सरकार हो ? भन्दै प्रश्न गरे । 

‘यो सरकारले जेनजी पुस्तासँग सम्झौता गरेको लागु गर्न सक्छ ? संविधान संशोधन गर्न सक्छ ? संसद् पुनर्स्थापनाबारे सर्वोच्चले गरेको फैसला स्वीकार्य छ’, उनले भने,  ‘तर यो सरकारले स्वच्छ निर्वाचन गराउन सक्छ भन्ने विश्वास दिन सकेको छैन, पुराना पार्टीहरूलाई एक्ल्याउन खोजेको छ ।’ 

उनले बहुदलीय व्यवस्थालाई थप सुदृढ गर्न दलहरू एकाकार हुनुपर्नेमा जोड दिँदै एमालेको महाधिवेशनले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

सरकारले जननिर्वाचित संसदको हत्या गर्‍याे : मनोज भट्ट

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनेजी आन्दोलनका नाममा भदौ २३ पछि मुलुकमा असंवैधानिक सरकार बनेको बताएका छन् । 

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै भट्टले यस्तो बताएका हुन् । ‘जेनजी आन्दोलनका नाममा असंवैधानिक सरकार बन्यो, त्यो सरकारको पहिलो काम प्रतिनिधि सभाको हत्या गर्नु रह्यो’, उनले भने, ‘राजा ज्ञानेन्द्रले जस्तै सुशीला कार्की सरकारको काम जननिर्वाचित संसदको हत्या गर्नु रह्यो ।’

उनले विषम परिस्थितिमा हुन लागेको एमालेको नयाँ सही नयाँ नेतृत्व चयनका लागि शुभकामना दिँदै उनले नेपालमा जेनजी आन्दोलन गर्न विदेशीले अरबौँ रकम लगानी भएको आशङ्का व्यक्त गर्दै नेपालकै दलहरूका कारण विदेशीले खेल्ने मौका पाएको बताए । 

तस्बिरमा हेर्नुहोस् एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोर्ट थिचेर झण्डोत्तल र बत्ति बालेर उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी भएका छन् । 

हेर्नुहोस् तस्बिरहरु : 

धरहरा जस्तै अनेक धक्का चिरेर उठ्छौ : प्रदीप ज्ञवाली

काठमाडौँ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने दाबी गरेका छन् । 

एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण रहेको उल्लेख गरे ।

‘न्यातपोल दरबारले चार चार वटा भूकम्प झेलेको छ र पनि गौरवको रूपमा रहेको छ’ उनले भने, ‘धरहरा हामीले नवनिर्माणको प्रतीकको रूपमा राखेका छौँ ।’

महाधिवेशनले एमाले थप बलियो भएको सन्देश दिएको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले यतिबेला मुलुकको संविधान घायल भएको र लोकतन्त्र कमजोर भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा सुरु भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै महासचिव पोखरेलले भदौ २३ पछिका घटनालाई प्रतिगमनको संज्ञा दिँदै यस्तो बताएका हुन् । 

‘संविधान घायल भएको छ । लोकतन्त्र कमजोर बनाइएको छ’, पोखरेलले भने– ‘जनताले निर्वाचित गरेको प्रतिनिधिसभा विघटन भएको छ ।’ 

उनले भदौ २३ र २४ को घटनापछि नेकपा एमालेविरुद्ध सङ्गठित र सुनियोजित रूपमा प्रहार गरेर एमालेको भविष्य समाप्त भयो भनेर प्रचारबाजी भए पनि महाधिवेशनमा भएको भव्य उपस्थितिले एमाले थप बलियो भएको पुष्टि गरेको बताए । 

एमालेको ११औँ महाधिवेशनको LIVE VIDEO

 एमालेको ११औँ महाधिवेशनको LIVE VIDEO

एमाले महाधिवेशनस्थल सल्लाघारी पुगे ओलीसहितका शीर्ष नेता

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा केपी शर्मा ओली लगायतका शीर्ष नेता पुगेका छन् ।

भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रस्टको मैदानमा भइरहेको उद्घाटन समारोह केहीबेरमा हुनेछ ।

महाधिवेशनस्थलमा ठूला–ठूला र्‍यालीहरू पुग्ने क्रम जारी छ ।

तस्बिरमा हेर्नुहोस् एमाले महाधिवेशनको र्‍याली

काठमाडौँ ।  नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो ।

महाधिवेशनस्थलमा झाँकीसहितका र्‍याली आएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट र्‍याली आएकाे हाे ।

हेर्नुहोस् तस्बिरहरू :

एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा नजाने

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुने बताइएको छ । 

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सहभागी हुने छैनन् । प्रचण्डले शुक्रबार नै कार्यक्रममा सहभागी हनु नसक्ने भन्दै एमालेलाई भिडियो सन्देश पठाएका थिए । 

एमाले महाधिवेशन भक्तपुरको सल्लाघारीमा जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केहीबेरमा महाधिवेशन उद्घाटन गर्ने भएका छन् । 

एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सहमति विपरीत एकपक्षीय रूपमा प्रतिनिधि मनोनित गरेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनाएको छ ।

शुक्रबारको सचिवालय बैठकमा ओली र पोखरेल समूहले ६०/४० को अनुपातमा प्रतिनिधि मनोनित गर्ने सहमति भए पनि ओली समूहले एकलौटी गरेको भन्दै आपत्ति जनाएको हो ।

पोखरेल समूहका पत्रकार राजेश राईले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनित १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार ईश्वर पोखरेल समूहले गम्भीर असहमति जनाएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया