१० बजे १० समाचार : कालोसूचीमा परेको कम्पनीलाई करोडौँको ठेक्का, सचिव हुन नपाएपछि मन्त्रालय गइनन् संगीता

समाचार सारांश
- सप्तरीमा कालोसूचीमा परेको निर्माण कम्पनीले १८ करोडको ठेक्का पाएको विषय उठेको छ। स्वास्थ्य सचिवको पदमा बढुवा नभएपछि डा. संगीता कौशल मिश्रा साढे ३ महिनादेखि बिदामा छिन्।
- इरान–इजरायल युद्धबारे नेपालले विज्ञप्ति मात्रै जारी गरेको र एनआरएनएको महाधिवेशन रद्द गर्ने सर्वोच्चको फैसला पुनरावलोकन हुने भएको छ। सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ।
- मेटाले नेपालमा दर्ता हुन बेवास्ता गरेको र सांसद डा. अमरेश सिंहले कानुनमन्त्रीको कल डिटेल्स मागेका छन्। अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरू सर्वोच्च तानिएका छन् र मितेरी सहकारी प्रकरणमा ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
आज मिति २०८२ साल असार महिनाको ५ गते, बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. ठेक्कामा बेथिति
कालोसूचीमा परेको निर्माण कम्पनीले १८ करोड रुपैयाँको ठेक्काको आशयपत्र पाएको छ । मधेस प्रदेश सरकारको ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाई विभाग डिभिजन कार्यालय सप्तरीले कालोसूचीमा परेको कम्पनीलाई ठेक्का स्वीकृतिको आशयपत्र प्रदान गरेको हो ।
२. संगीता सचिव हुन नपाउँदा
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा गत फागुन २२ गतेदेखि बिदामा छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपयुक्त जिम्मेवारी नदिएको भन्दै उनी साढे ३ महिनायता बिदामा बसेकी हुन् ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मिश्रा गत फागुन २२ गतेदेखि बिदामा छिन् । सचिवकी दाबेदार उनलाई सरकारले सो पदमा बढुवा गरेको थिएन ।
३. विज्ञप्तिमै सीमित नेपाल
चर्किरहेको जारी इरान–इजरायल युद्धले विश्वव्यापी त्रास बढाएको छ । ती देशहरूबाट अन्य देशहरूले आ–आफ्ना नागरिक फिर्ता बोलाइरहेका छन् । कतिपयले धमाधमा लगिरहेका पनि छन् ।
युरोपेलीलगायत अन्य देशले इजरायलबाट आफ्ना नागरिक फिर्ता ल्याउन थालिसकेका छन् । स्लोभाकियाले आफ्ना नागरिक फिर्ता लगिसकेको छ भने छिमेकी देश भारतले पनि तेहरानबाट केही विद्यार्थीलाई उद्धार गरेको छ । यस्तै पोल्यान्डले पनि आफ्ना केही नागरिक घर ल्याएको छ ।
तर नेपाल भने विज्ञप्ति मात्र जारी गरेर बसेको छ ।
४. कुलिङ पिरियड विवाद
निजामती सेवामा दुई वर्षे ‘कुलिङ पिरियड हटाउने विषयमा सत्ताको नेतृत्वकर्ता एमाले एक्लै पर्ने देखिएको छ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट गत जेठ २ गते सर्वसम्मत पारित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा निजामती कर्मचारीमा कुलिङ पिरियडको व्यवस्था राखिएको थियो ।
५. एनआरएनए विवाद
सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरवलोकन गर्ने भएको छ ।
न्यायाधीशत्रय विनोद शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बिहीबार उपाध्यक्ष डा हेमराज शर्माले २०८१ असोज ११ गते उत्प्रेषणयुक्त परमादेशको माग गरी दायर गरेको निवेदनमा अनुमति हुने आदेश गरेको हो ।
६. मेटमणिविरुद्ध जाहेरी
सङ्घीय सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
७. मेटाले टेरेन
सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटाले नेपालमा दर्ता हुन सरकाले दिएको चेतावनीलाई बेवास्ता गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वैशाख १२ गते सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका थिए ।
८. संसद
स्वतन्त्र सांसद डा अमरेश सिंहले कानुनमन्त्री अजयकुमार चौरासियाको कल डिटेल्स सार्वजनिक गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले कुनै मुद्दा पर्दा मन्त्री चौरासियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै यस्तो माग गरेका हुन् । संसदमा भएका सबै समाचारहरु यहाँ लिंक राखिएको छ ।
९. तानिए न्यायाधीश
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन सर्वोच्च अदालत तानिएका छन् । उनीहरूलाई न्याय परिषदले काजमा सर्वोच्च तान्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ । बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर छानबिन प्रक्रिया अघि बढाएको हो ।
काठमाडौँ जिल्ला अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञा रिट बिहीबार खारेज गरेको छ । काठमाडौँका न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले श्रेष्ठको निषेधाज्ञा रिट खारेज गरेसँगै दुई अनलाइनले समाचार हटाउन नपर्ने भएको छ ।
१०. म्याद थप
मितेरी सहकारीको रकम ठगेको आरोपमा कम्बोडियाबाट पक्राउ परेका ज्योति बहादुर भण्डारीलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने