शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : जनार्दन, विप्लव र घनश्याम एक ठाउँमा, माओवादीको चुनाव चिह्न यथावत् राख्न माग गर्दै निवेदन

शुक्रबार, २१ कात्तिक २०८२, २२ : ००
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • विप्लव, जनार्दन र घनश्यामले आगामी दिनमा सहकार्य गर्ने सहमति जनाए।
  • माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भयो।
  • बैंकिङ क्षेत्रको नाफा १८ प्रतिशतले घट्यो भने लाइसेन्स छपाइ सुरु भएको छ।

काठमाडौँ । आज मिति २०८२ साल कात्तिक महिनाको २१ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१० बजे १० समाचार’ लिएर उपस्थित भएका छौँ–

१. तीन नेता एकठाउँमा

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्न सहमत भएका छन् ।

यसैबीच तीन नेताले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको उनीहरुले बताएका छन् ।

२. आयोगमा निवेदन

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ लाई यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।

सहिद सन्तति सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरू शुक्रबार आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । अभियानका नेता रजमान तामाङले महाधिवेशनको मिति घोषणा भइसकेकाले हाल नेपाली कम्युनिस्ट पार्टी बनाएका प्रचण्डले दीर्घकालीन असर पर्ने निर्णय गर्न नसक्ने जिकिर गर्दै पार्टीको पहिचान फ्रिज नगर्न आयोगलाई आग्रह गरिएको जानकारी दिए ।

३. कांग्रेस बैठक

नेपाली कांग्रेसमा महाधिवेशन सम्बन्धी विवाद सुल्झिन सकेको छैन । पदाधिकारीसहितका केन्द्रीय सदस्यहरूले महाधिवेशनसम्बन्धी विवादमा इतर समूहलाई साथ दिएपछि संस्थापन पक्ष दबाबमा परेको छ । गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा १५औँ महाधिवेशनबारे दुई कार्यतालिका पेस भएका छन् ।

४. आफ्नै निर्णयले एमालेलाई संकट पर्नसक्ने

जेनजी विद्रोह र त्यसपछिको परिवर्तनलाई स्विकार्न नसकेको नेकपा एमाले आफ्नै निर्णयका कारण आगामी दिनमा नैतिक संकटमा पर्ने देखिएको छ ।

भ्रष्टाचार नियन्त्रणसहित सुशासन कायमको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओेली नेतृत्वको सरकार विस्थापन मात्र गरेन, तत्कालीन प्रधानमन्त्री ओली राजीनामा दिएर ज्यान जोगाउन आफैं बालुवाटारबाट हेलिकप्टर चढेर हेटौंडा पुग्नुपरेको थियो ।

५. निर्वाचन तयारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १७ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएर प्रतिनिधिसभा निर्वाचन तोकिएपछि मात्रै १७ वटा दलले दर्ताका लागि निवेदन दर्ता गराएको निर्वाचन आयागले जनाएको छ ।

६. ११ देशमा कार्यवाहक राजदूत

११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई कार्यवाहक तोकिएको छ । ती कार्यवाहक राजदूतहरुले आ–आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूतको जिम्मेवारी परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले सम्हाल्नेछन् भने चीनको कार्यवाहकमा सहसचिव रोशन खनाल छन् । 

७. रास्वपा बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यलाई ‘अर्जुनदृष्टि’ बनाउँदै वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गर्ने घोषणा गरेको छ।

चितवनमा शुक्रबारदेखि सुरु केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीको तत्कालीन सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुने उल्लेख छ।

८. जेनजी आन्दोलन

जेनजी प्रदर्शनको क्रममा भएका विभिन्न घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले भदौ २३ गते माइतीघर मण्डला र बानेश्वरमा परिचालित प्रहरी अधिकृतहरूसँग बयान लिन थालेको छ । बुधबार थालिएको बयान केहीदिन निरन्तर चल्ने आयोगका पदाधिकारी बताउँछन् ।

९. बैंकको नाफा

बैंकिङ क्षेत्रको नाफा घटेको पाइएको छ । बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०८२–८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार यो अवधिमा नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कायम भएको हो । गत वर्ष बैंकहरूले यही अवधिमा १६ अर्ब १८ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

१०. लाइसेन्स छपाइ

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ सुरु गरेको छ । शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा अवस्थित सुरक्षण मुद्रण केन्द्रमा  सञ्चारमन्त्री जगदीश खरेलले सो कामको शुभारम्भ गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप