बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ : संसदीय समितिमा प्रधानमन्त्री, आन्दोलनमा राप्रपा
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : संसदीय समितिमा प्रधानमन्त्री, आन्दोलनमा राप्रपा

मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । आज मिति २०८० साल पुस महिनाको ३ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुत ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

संसदीय समितिमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको बताएका हुन् । प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको बताए । उनले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको गुनासो गरे । 

एलसेल प्रकरण

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल प्रकरणमा विभिन्न ६ वटा निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री गरेको प्रकरणमा सरकारलाई आवश्यक निर्देशन दिँदै ६ बुँदे निर्णय गरेको हो । 

एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार यस्तो आदेश गरेको हो।

राप्रपाले देशभर आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजसंस्था, सर्वधर्म सद्भाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।  मंगलबार केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै राप्रपाले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।  आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु गरिने, फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको छ ।

एकीकृत समाजवादीको बैठक

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक लम्बिएको छ । विधान संशोधनबारे छलफल गर्न सोमबार र मंगलबारलाई बोलाएको बैठक पुनः शनिबार बस्नेगरी स्थगन भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । ‘विधान संशोधन मस्यौदामाथि बैठकमा सहभागी नेताहरुले एकसरो धारणा राख्नुभएको छ’, नेता श्रेष्ठले भने, ‘अव शनिबार बस्ने बैठकमा छुटेका नेताहरुको धारण सुनेर अध्यक्षले आफ्नो धारणा राखेपछि बैठक सकिन्छ ।’

प्रधानमन्त्रीको एक वर्ष

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मुलुकको बागडोर सम्हालेको करिब एक वर्ष भएको छ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन, २०७९ मङ्सिरमा सम्पन्न भएसँगै ‘प्रचण्ड’ले गत पुस १० गते तेस्रो पटक मुलुकको नेतृत्व सम्हालेका थिए । यही पुस १० गते उनले मुलुकको नेतृत्व सम्हालेको एक वर्ष पूरा हुँदैछ ।

१० हजार मेगावाट बिजुली बेच्ने

भारतीय विदेशमन्त्री एस जयशंंकरको नेपाल भ्रमण नजिकिएसँगै नेपाली पक्ष विद्युत् व्यापार सम्झौताको तयारीमा जुटेको छ । यही वर्षको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएको थियो । प्रधानमन्त्री स्तरीय भ्रमणका क्रममा हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले एकस्वरमा यो विषयको घोषणा गरेका थिए । त्यसक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने उद्घोष गरेका थिए ।

 देउवाको दोस्रो कार्यकाल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको मैदानमा एउटा जिम्मा लिएका थिए । २०७८ मङ्सिरमा भएको १४ औँ महाधिवेशनमा दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा रहेका देउवाको त्यो जिम्मा थियो गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बनाउने । देउवाको दोस्रो कार्यकालमा कांग्रेसले चुनावी मोर्चामा सफलता पाएको देखिन्छ । महाधिवेशनको उद्घाटनसत्रमा लिएको जिम्मा देउवाले पूरा गरेका छन् । २०७८ माघमा १२ मा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले सफलता पायो । गठबन्धनको नेतृत्वकर्ताको हैसियतले सबैभन्दा बढी लाभ पनि कांग्रेसलाई नै भयो ।

देशमा अपराध

काठमाडौँमा हुने चोरीमा एउटा समूह बेला–बेला प्रहरीको निशानामा परिरहन्छ । भारतको बिहारस्थित समस्तीपुर, मोतिहारी र बैशाली जिल्ला घर भएका उनीहरु तिलगंगामा बस्छन् । अनि, बेलाबेलामा चोरीको आरोपमा पक्राउ पर्छन् ।

एक कानुन व्यवसायी पुरुषलाई हनी ट्र्याप पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीमा तीन महिलालाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।  होटेलमा खाजा खान बोलाएर  बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए ।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले कुवेतबाट पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् । 

माओवादी बैठक

नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । 

इन्डियन प्रिमियर लिग

 आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क कीर्तिमानी मूल्यमा बिक्री भएका छन् । उनलाई कोलकाता नाइट राइडर्सले कीर्तिमानी मूल्यमा खरिद गरेको हो । स्टार्कलाई कोलकाताले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गर्‍यो । आईपीएलको हालसम्मको इतिहासमा यसअघि कुनै पनि खेलाडी यति धेरै मूल्यमा बिक्री भएका थिएनन् । स्टार्कको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया