आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, ०८ चैत २०८०, २१ : १०
बिहीबार, ०८ चैत २०८०

आज मिति २०८० साल चैत महिनाको ८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समावेश गरिएको छ–

गृह मन्त्रालय ब्याक
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई मिडियाको निगरानी गर्न दिएको निर्देशन सच्चाएको छ । मन्त्रालयले अनलाइन न्युज पोर्टल, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल  र आधारहीन सन्देशहरू प्रचार प्रसार भए प्रचलित कानुन बमोजिम कारबाही गरी विवरण सार्वजनिक गर्न दिएको निर्देशन सच्याएको हो । 

बिहीबार मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गर्दै अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न निर्देशन दिएको थियो । उक्त परिपत्र सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

भूमि आयोग खारेज
सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए ।

समितिमा उजुरी 
सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेका छन् । 
पीडितका तर्फबाट सूर्यदर्शन सहकारी सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बिहीबार ज्ञापन पत्र बुझाउँदै बचत फिर्ताको वातावरण बनाइदिन अनुरोध गरेका हुन् ।

बयानपछि श्रीलंका उडे चौधरी
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिनमा रहेका उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन् । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको छानबिनका क्रममा रहेका चौधरी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएपछि बिहीबार नै श्रीलंकाको राजधानी कोलम्बो उडेका हुन् ।

चीन जाँदै परराष्ट्रमन्त्री
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ फागुन ११ गते चीनको भ्रमणमा जाने भएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् ।

सेयर बजार
सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । १५.३७ अंकले घट्दै नेप्से परिसूचक २०४८.५७ विन्दुमा रहँदा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ छ ।

माओवादी विधान
नेकपा माओवादी केन्द्रले नयाँ विधान तयार गरी निर्वाचन आयोगमा पठाएको छ । माओवादीको गत फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को विधान–२०८० पारित गरेको थियो । 
यद्यपि विधान क्रमशः लागु हुँदै जाने माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । उनले विधान क्रमशः लागु हुँदै गए पनि पूर्णरुपमा भने विशेष महाधिवेशनबाट मात्र कार्यान्वयनमा जाने रातोपाटीलाई बताए ।

समाचार संक्षेपमा
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।

नुवाकोटको एक स्थानीय तहले गाउँपालिका स्तरीय वार्षिक परीक्षाको प्रश्नपत्रमा गम्भीर लापरबाही गरेको खुलेको छ । तारकेश्वर गाउँपालिकाले कक्षा ६ र ७ को ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’ विषयको प्रश्नपत्र एउटै बनाएको पाइएको हो ।

नेपाल र चीनबिच भएको बीआरआई सम्झौता नेपालको हितमा नभएको लोकतान्त्रिक समाजवादी पार्टीले ठहर गरेको छ । महोत्तरीमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले बीआरआई सम्झौता नेपालको हितमा नभएको बताएका हुन् ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्ड पनि सहभागी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई राजनीतिक वृत्तमा संस्कारकै रूपमा लिन थालिएको भन्दै आलोपालोको संस्कृतिले राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन नसकिने बताएका छन् ।

पूर्व डीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग गरेको बताएका छन् । रास्वपाबाट गत वैशाख १० मा बारा—२ बाट उपनिर्वाचन लडेका खरेलले आफू सो पार्टीबाट अलग भइसकेको बताए ।

निर्वाचन आयोगले चुनाव खर्च सार्वजनिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदलाई गरेको जरिवाना सजाय उच्च अदालत पाटनले बदर गरेको छ ।

सुनको मूल्यमा कीर्तिमान
विश्व बजारमा सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान बनाएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यो वर्ष तीन पटक ब्याजदर कटौती गर्ने प्रक्षेपण आएसँगै अमेरिकी डलर र ऋणपत्रको  प्रतिफल घट्दा सुनको भाउ बढेको हो ।

भक्कानिए महरा
पूर्वसभामुख कृष्णबहादुर महरा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा छन् । उनी चैत ५ मा रुपन्देहीबाट पक्राउ गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरासँग बयान लिइरहेको छ । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबारबाट जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइरहेका छन् । बयानका क्रममा उनी भक्कानिएका छन् ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप