सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, २२ चैत २०८०, २२ : १७
बिहीबार, २२ चैत २०८०

आज मिति २०८० साल चैत महिनाको २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ–

लुम्बिनीका मुख्यमन्त्रीद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।  मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री चौधरीले सरकार टिकाउन साना दललाई सरकारमा प्रवेश गराएपनि अन्ततः उनले बहुमत जुटाउन सकेनन् ।  अन्तिम समयमा जसपाबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि उनको बहुमत जुट्ने सम्भावना टरेको थियो । त्यसलगत्तै चौधरीले  राजीनामा दिएका हुन् ।

जोखबहादुर लुम्बिनीको नयाँ मुख्यमन्त्री बन्ने

लम्बिनी प्रदेशको नयाँ सत्ता गठबन्धनबिच ५ बुँदै सहमति भएको छ । बिहीबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी दलहरूले ५ बुँदे सहमति गरेका हुन् । सहमतिअनुसार माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन् ।

 

यसैबीच राजीनामा दिएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संघीयता धरापमा परेको आरोप लगाएका छन्  । बिहीबार प्रदेशसभामा बोल्दै स उनले प्रधानमन्त्रीको उथलपुथलका कारण संघीयता धरापमा परेको आरोप लगाएका हुन् ।

 

सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् ।

 

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका पूरै सांसदको मत नपाउने र विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन् ।

 

सहकारी ठगी प्रकरण

बहालमा रहेका दुई मन्त्री जोडिएको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड’ गीतेन्द्रबावु (जीबी) राईले खरिद गरेको भेटिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्याल संलग्न भनिएको सो सहकारी राईले ७ महिनाअघि खरिद गरेका हुन् ।

मन्त्रीहरुलाई कडाइ

अबदेखि सङ्घीय मन्त्रीह्ररुले प्रत्येक दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिएका छन् ।

एनआरएनएको नेतृत्व अवैध

सर्वोच्च अदालतको फैसलासँगै साढे २६ महिनाको बिचमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष बनेका सबै जना अवैध ठहर भएका छन् । १० औँ महाधिवेशनबाट एनआरएनएको अध्यक्ष बनेका ४ जना र ११ औँ महाधिवेशनबाट अध्यक्ष बनेका २ जना अवैध ठहर भएका हुन् ।

वाइडबडी प्रकरण

वाइडबडी भ्रष्टाचार प्रकरणमा भ्रष्टाचार मुद्दा चलाइएका प्रतिवादी एवं जीवन बहादुर शाहीले बैंक जमानतरसुरक्षण बिनानै प्रतिबद्धता शुल्क दिने मन्त्रीस्तरीय निर्णय गरेको पाइएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शाहीले विमान खरिद कार्य प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सो अन्तर्गत बनेको सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत रहेको तथ्यलाई अनदेखा गरी नेपाल वायुसेवा निगमलाई गैरकानूनी हानी पुर्‍याउने कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । यो प्रकरणमा अख्तियारले आरोपीहरुविरुद्ध मुद्दा चलाएको छ ।

 

राष्ट्र बैंकको रिपोर्ट

चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिटयन्स) भित्रिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै २१ प्रतिशतले विप्रेषण आप्रवाह बढेको जानकारी दिएको हो ।

 

उपनिर्वाचनका उम्मेदवार

नेपाली कांग्रेस र नेकपा एमालेले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा वंशको राजनीतिलाई  प्रश्रय दिने गरी उम्मेदवार खडा गरेका छन् । इलाम— २ र बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनमा एमाले र कांग्रेसले ‘छोरा उम्मेदवार’ उठाएका हुन् ।

समाचार संक्षेपमा

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनद्वारा ८० करोड रुपैयाँ हिनामिना भएको भन्दै पेट्रोलियम व्यवसायी संघ नेपालले छानबिनको माग गरेको छ ।

पेट्रोलियम व्यवसायी संघ नेपालले विज्ञप्ति जारी गर्दै आन्तरिक ढुवानी बिमाको नाममा २०६८ सालदेखि पेट्रोलियम डिलर्स एशोसिएशनले कागजको चिर्कटोमा बिमाको रकम काट्दै आएको र सो रकम बिमा कम्पनीमा जम्मा नगरेको आरोप लगाएको छ ।

परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

 

मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् ।

यो पनि छुट्यो कि ?

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप