१२ बजे १२ समाचारः तोडियो संवादहीनतादेखि लेखकसँग बयानलिँदै आयोगसम्म
सारांश
- जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ र केही व्यक्तिको स्थान हद फुकुवा गरेको छ।
- कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित बनाउन निर्देशन दिएको छ भने बालेन र रवि लामिछानेबीच गोप्य भेटवार्ता भएको छ।
- राष्ट्रपति पौडेलले प्रधानमन्त्री र शीर्ष नेताहरूलाई भेट गराएका छन्, प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सांसदहरूले सर्वोच्चमा रिट दायर गरेका छन्।
काठमाडौँ। आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. जाँचबुझ आयोग
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ । आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको आयोगका एक पदाधिकारीले रातोपाटीलाई बताए ।
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहसचिव गोकर्णमणि दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा गरेको छ । आयोगले भदौ २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित पूर्व आईजीपी चन्द्र कुवेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि समेत स्थान हद लगाएकोमा मंगलबार फुकुवा गर्ने निर्णय गरेको हो ।
२. क्रियाशील सदस्यता
नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई सहज, व्यवस्थित र विधानसम्मत बनाउन सबै तहका पार्टी समितिलाई आवश्यक समन्वय र सहजीकरण गर्न पत्राचार गरेको छ ।
३. बालेन–रवि मिलन
सोमबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच पाँच घण्टाभन्दा लामो छलफल भयो । कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको छलफल करिब ५ घण्टा चलेको थियो, जुन भेटले यतिबेला पूरै राजनीतिक वृत्त तरंगित बनाइदिएको छ । बैठकपछि रवि र बालेन एउटै गाडीमा मुस्कुराउँदै बाहिरिएका थिए ।
४. तोडियो संवादहीनता
जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेता तीनतिर फर्किएका बेला मंगलबार पहिलो पटक एकठाउँमा भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेतालाई एकै ठाउँमा भेटवार्ता गर्ने अवसर जुराइदिएका हुन् । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतालाई एक्लै नभेट्ने बताउँदै आएकी थिइन् ।
५. देउवासँगै छ शक्ति
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा धर्मपत्नी डा. आरजु राणा देउवासहित कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्यसपछि एक महिनासम्म सार्वजनिक भएनन् । लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचार गरेर ‘गुप्तबास’ बसेका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता गर्न सार्वजनिक भए ।
६. चुनावी सुरक्षा
राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ११ मा प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा सेना परिचालन गर्ने निर्णय गरे । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले ३ चरणमा सेनालाई परिचालन गर्ने निर्णय गरेका हुन् ।
७. प्रतिनिधिसभाको पुनर्स्थापना
प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ । हस्ताक्षरसहितको पूरक रिट मंगलबार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको हो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए ।
८. दुई लाइन संघर्ष
नेकपा एमालेमा दुई लाइन संघर्ष बढ्दै जाने देखिएको छ । ११औँ महाधिवेशनपछि पार्टीभित्र यस्तो संघर्ष अझ झाङ्गिने देखिएको हो ।
९. राप्रपा उम्मेदवार सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा उम्मेदवार सिफारिसको क्रम चलिरहँदा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम सिफारिसमा लफडा भएको छ । फागुन २१ गते तय भएको निर्वाचनका लागि राप्रपाले उम्मेदवार सिफारिस गर्न क्षेत्रीय कमिटीहरूलाई परिपत्र गरिसकेको छ । सोहीअनुसार उम्मेदवारको सिफारिस गर्ने क्रम चलिरहँदा काठमाडौँ–१ मा छुट्टाछुट्टै दुई वटा नामावली सिफारिस भएको हो ।
१०. बंगलादेशमा नेपाली
बंगलादेशमा इन्कलाब मञ्चका विद्यार्थी नेता शरीफ उस्मान हादीको हत्यापछि उत्पन्न तनावबिच पनि त्यहाँ रहेका नेपाली विद्यार्थी सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
११. एमालेलाई चुनाव हुनेमै शंका
आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशका राजनीतिक दलहरू आ–आफ्नो उम्मेदवार सिफारिसमा लागेका छन् । एकातिर आयोगले निर्वाचनको काउन्टडाउन सुरु गरेको छ भने अर्कोतिर प्रदेशका ठुला दलहरूमा उम्मेदवारका आकांक्षीहरूको व्यवस्थापन मुख्य चुनौती बनेको छ ।
१२. खेलकुद
कर्णाली प्रदेश खेलकुद विकास परिषद् नेतृत्वविहीन अवस्थामा रहेको आइतबार एक वर्ष पूरा भएको छ । ०७७ पुस ६ गते नियुक्त भएका पदाधिकारी ०८१ पुस ६ गते बिदा भए । योसँगै परिषद् अन्योलको अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण