मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: माघ पहिलो साताबाट निर्वाचन आचारसंहिता लागु हुने, कुलमानसँग रवि–बालेन छलफलमा

सोमबार, १४ पुस २०८२, ०० : ०२
सोमबार, १४ पुस २०८२

सारांश

  • रास्वपा र उज्यालो नेपाल पार्टी एकताका लागि रवि, बालेन र कुलमानबीच छलफल भएको छ।
  • निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ, र बाँदर नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरिने भएको छ।
  • बालेन रास्वपामा प्रवेश गरेका छन्, जसपा र लोसपाबीच एकताको सहमति भएको छ, र रसुवागढी नाका आंशिक रूपमा खुलेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. रवि, बालेन र कुलमान तीन घण्टादेखि निरन्तर छलफलमा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता गर्नेगरी पुनः संवाद भएको छ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानरपालिका मेयर बालेन शाह (बालेन्द्र ) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच काठमाडौँमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ।

२. निर्वाचन आचारसंहिता

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । माघ पहिलो सातादेखि लागु हुने आचारसंहितामा उम्मेदवार, दल लगायतले पालना गर्नुपर्ने विभिन्न विषय उल्लेख छ ।

३. रवि र बालेनबिचको सहमतिबारे कस्तो छ प्रतिक्रिया ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भएको सहमतिले नेपालको राजनीतिमा तरङ्ग ल्याएको छ । कतिपयले यो सहमतिलाई स्वागत गरेका छन् भने कतिपयले आशंकाको नजरले हेरेका छन् ।

४. बाँदर नियन्त्रणको उपाय बन्ध्याकरण

नेपालको पहाडी क्षेत्रमा वर्षौँदेखि किसानका लागि मुख्य चुनौती बन्दै आएको बाँदर आतंक नियन्त्रणका लागि सरकारले वैज्ञानिक समाधानको विधि अपनाउने भएको छ । 

बाँदरको बन्ध्याकरण गरेर सङ्ख्या नियन्त्रण गर्ने विशेष ‘पाइलटिङ’ कार्यक्रम खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

५. रविसँग सहमति गर्दै बालेन दलीय राजनीतिमा

रास्वपाका सभापति रवि लामिछानेसँग सहमति गर्दै काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन (बालेन्द्र) शाह दलीय राजनीतिमा प्रवेश गरेका छन् । यसअघि स्वतन्त्र रहेका बालेन अब रास्वपाबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने भएका छन् ।

काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाह रास्वपामा सामेल भई संसदीय राजनीतिमा अघि बढ्ने भएसँगै महानगर प्रमुख पद रिक्त हुने भएको छ । रिक्त हुने सो पदका लागि रास्वपा सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले दाबी गरेका छन् ।

६. एमालेले समानुपातिक उम्मेदवारको सूची भोलि बुझाउने

नेकपा एमालेले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगलाई भोलि बुझाउने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

७. जसपा नेपाल र लोसपाबिच एकता गर्ने सहमति

जसपा नेपाल र लोसपा नेपालबिच एकता गर्ने सहमति भएको छ । आइतबार दुवै पार्टीका पदाधिकारीहरूको बैठकले पार्टी एकता गर्ने सहमति जुटाएको हो ।

८. प्रलोपा र उज्यालो नेपाल पार्टीबिच सहकार्यबारे छलफल

डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबिच चुनावी सहकार्यबारे छलफल सुरु भएको छ ।

९. नेकपाको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा प्रचण्ड र माधवलाई

नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई दिइएको छ ।

१०.  कांग्रेसले विभिन्न नेताको कारबाही फुकुवा गर्यो

नेपाली कांग्रेसले विभिन्न नेतामाथि गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ । अघिल्ला चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको लगायतका कारण कारबाहीमा परेकाहरूमाथिको कारबाही फुकुवा गरिएको हो ।

११. राजनीतिमा कलाकारको लर्को

जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा एउटा नयाँ तरङ्ग देखिएको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै ग्ल्यामर क्षेत्रका थुप्रै कलाकारले राजनीतिमा आफ्नो सक्रियता देखाउन थालेका छन् ।

१२. रसुवागढी नाका आंशिक सञ्चालन

६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आंशिक रूपमा सञ्चालनमा आएको छ । गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि नेपाल–चीनबिचको यो प्रमुख नाका पूर्णरूपमा ठप्प बनेको थियो । चीन सरकारले बाढीले क्षति पुर्‍याएको पुल भएको स्थानमा बेलिब्रिज जडान गरेसँगै आइतबारदेखि आवतजावत सुचारू भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप