१२ बजे १२ समाचार : तीन जना मन्त्रीकाे राजीनामा माग, रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा
काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. राजीनामा माग
प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
२. राष्ट्रिय सभा निर्वाचन
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भागबण्डा मिलेको छ । सहमति अनुसार कांग्रेसले ७, एमाले ७, नेकपाले ३ र जसपा नेपालले एक सिट पाउने छ ।
३. कोशीमा मन्त्रिपरिषद् पुनर्गठन
कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
४. एमाले सचिवालय बैठक
नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचनको तयारीमा होमिएको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
५. कांग्रेस बैठक
नेपाली कांग्रेसले तालमेल गरी राष्ट्रिय सभा निर्वाचनमा जाने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
६. महाधिवेशन विवाद
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि मुर्दावादको नारा लागेको छ । मंगलबार निधि पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोज्दा विशेष महाधिवेशन पक्षधरले अवरोध गरेका थिए ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध कांग्रेस कार्यकर्ताहरूको एक समूहले काठमाडौँको कोटेश्वर चोकमा प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नु पर्ने बताएका छन् । मंगलबार बिहान आफ्नै विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट्न पुगेका संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यसँग डा. कोइरालाले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गते पछि बोलाउँदा उपयुक्त हुने बताए ।
७. टी–ट्वान्टी विश्वकप:
भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषण गरिएको छ । मंगलबार नेपाल क्रिकेट सङ्घ(क्यान)ले रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने,कुशल भुर्तेल,आशिफ शेख,सन्दीप जोरा,आरिफ शेख,बसिर अहमद,सोमपाल कामी,करन केसी,नन्दन यादव,गुल्सन कुमार झा,ललित राजवंशी,शेर मल्ल र लोकेश बम छन् । ७ फ्रेबुअरी र ८ मार्चमा भारत र श्रीलंकामा हुँदैछ ।
८. न्यायालय
काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित सबैलाई सफाइ दिएको हो ।
विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई अदालतमा झिकाउने आदेश जारी गरेको छ ।
प्रतिनिधिसभा विघटन बदर गरेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले हस्ताक्षर गरी पाँच वर्षपछि फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।
९. नयाँ संसद् भवन
आगामी निर्वाचनपछि प्रतिनिधिसभा सञ्चालनका लागि सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन तयार नहुने निश्चित भएको छ । निर्माण कार्यको जिम्मा लिएका व्यवसायीले भवन सम्पन्न गर्न थप ९ महिना माग्दै निवेदन दिएका छन् ।
१०. बिदाइ कार्यक्रममै भक्कानिए मन्त्री
कोशी प्रदेशका निवर्तमान पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल मन्त्रालयबाट बिदाइ हुने क्रममा भावविह्वल भएका छन् । मन्त्री पदबाट हटाइएसँगै मन्त्रालयका कर्मचारीहरूसँग आयोजित बिदाइ कार्यक्रममा उनी भक्कानिएर रोएका हुन् ।
११. भू–राजनीति
ल्याटिन अमेरिकाका दुई शीर्ष नेतालाई अमेरिकामा मुद्दा चलाइयो । दुवैमाथि सरकारलाई भ्रष्ट बनाएको अनि सयौं टन कोकिन अमेरिका भित्र्याउन राज्य शक्तिको प्रयोग गरेकोलगायत आरोप लगाइएको थियो ।
१२. खाद्य स्वच्छता तथा गुणस्तर ऐन
नेपालको हिमाली तथा पहाडी भेगको मौलिक पहिचानका रूपमा रहेको छुर्पीको उत्पादन, प्रशोधन र निर्यातलाई व्यवस्थित बनाउन नेपाल सरकारले कडा गुणस्तर मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन
-
महिला नेतृत्वलाई निर्णायक तहमा पुर्याउन जोड
-
मालीमा विद्रोही जिहादी समूहको आक्रमणमा कम्तीमा ५० सैनिकको मृत्यु
-
एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै
-
अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण