१२ बजे १२ समाचार: धवलशमशेर राणाले छाडे राप्रपादेखि गण्डकी र सङ्घ सरकार आमने–सामनेसम्म
सारांश
- प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादबारे प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिको विरोध भइरहेको छ ।
- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेका छन् ।
- राइड सेयरिङ सम्बन्धी कानुनमा सङ्घ सरकार र गण्डकी प्रदेश सरकार आमने–सामने भएका छन् ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. बालेनको अभिव्यक्तिपछि बबाल
प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादबारे प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिको विरोध भइरहेको छ । उनले नेपालले पनि भारतीय भूभाग अतिक्रमण गरेको भनेर टिप्पणी गरेका थिए ।
२. बजेटबारे के भन्छन् अर्थमन्त्री ?
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका विभिन्न पक्ष प्रस्ट पारेका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बजेटसँग सम्बन्धित विविध पक्षलाई प्रस्ट पारेका हुन् ।
३. धवलशमशेर राणाले छाडे राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेका छन् । उनले देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गरेका छन् ।
४. प्रतिनिधिसभा
प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको चर्को विरोध र अवरोधबिच सम्पन्न भएको छ । दिनभर चार पटक बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबिचको विवादले सदन पटक–पटक प्रभावित बनेको थियो ।
सभामुख डीपी अर्यालले बैठक सञ्चालन गरिरहँदा प्रतिपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए । सुरक्षाका लागि तैनाथ मर्यादापालकहरूले सभामुखलाई घेरा हालेर सुरक्षा दिएका थिए । विपक्षीको चर्को अवरोध र विरोधका बाबजुद पनि सभामुख अर्यालले ‘मतदाता नामावली पहिलो संशोधन विधेयक’ बहुमतले स्वीकृत भएको घोषणा गरे ।
५. राइड सेयरिङ विवादमा गण्डकी र सङ्घ सरकार आमने–सामने
राइड सेयरिङ सम्बन्धी कानुनमा सङ्घ सरकार र गण्डकी प्रदेश सरकार आमने–सामने भएका छन् । यसअघि नै प्रदेश सरकारले नियमावली जारी गरेकोमा सङ्घ सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को आर्थिक नियमावलीमार्फत राइड सेयरिङ सम्बन्धी व्यवस्था गरेको छ । प्रदेश सरकारले नियमावलीसँगै राइड सेयरिङ सवारीको भाडा समेत तोकिसकेको छ ।
६. प्रधानमन्त्रीको भनाइबारे परराष्ट्र मन्त्रालयको प्रस्टोक्ति
परराष्ट्र मन्त्रालयले नेपाल–भारत सीमाबारे प्रधानमन्त्री बालेन शाहले आइतबार संसदमा व्यक्त गरेको धारणाबारे स्पष्टीकरण दिएको छ । मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ मूलतः ‘क्रस बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार) र दशगजा क्षेत्रको अतिक्रमणसँग सम्बन्धित रहेको स्पष्ट पारेको हो ।
७. अकस्मात आएर रोस्ट्रममा उभिए प्रधानमन्त्री सांसदको प्रश्न सुन्न
आइतबार प्रधानमन्त्री बालेन शाह अकस्मात प्रतिनिधि सभा बैठकमा सहभागीमात्र भएनन्, रोस्ट्रममा उभिएर सांसदको प्रश्नको जबाफ दिने तत्परता देखाए । प्रधानमन्त्री रोस्ट्रममा पुगेपछि सभामुखले सांसदहरूलाई दलगत आधारमा प्रश्न सोध्न समय दिए । केहीबेर सांसद पनि अलमल्लमा परेका थिए ।
८. बजेटले बढायो मन्त्रीहरूको सम्पत्ति
बजेटमा गरिएको सुनको भन्सार वृद्धिसम्बन्धी निर्णयले क्याबिनेटका १५ मन्त्रीको सम्पत्ति झन्डै डेढ करोड रुपैयाँले बढेको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेखित सुनको मात्राले सो बराबरको सम्पत्ति बढेको देखाएको हो ।
९. चीनविरुद्ध नेपालको फराकिलो जित
एसियन गेम्स छनोट क्रिकेटमा नेपालले चीनविरुद्ध फराकिलो जित हात पारेको छ । आइतबार सिंगापुरमा भएको खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
१०. टिकटकर तुलसा अधिकारी पक्राउ
टिकटकर तुलसा अधिकारी भनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।
११. रास्वपा सभापति लामिछाने भोलि भारत भ्रमणमा जाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि (सोमबार) भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा उनी दुई दिने भ्रमणका क्रममा भोलि त्यसतर्फ जान लागेका हुन् ।
१२. राष्ट्रिय सद्भावना पार्टी कांग्रेसमा समाहित
राष्ट्रिय सद्भावना पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ । देश र मधेसका शोषित, पीडित तथा उपेक्षित वर्ग र समुदायको हकहितका लागि संघर्षरत राष्ट्रिय सद्भावना पार्टीले आफ्नो सम्पूर्ण सांगठनिक संरचना र सदस्यतासहित कांग्रेसमा विलय हुने निर्णय गरेको हो ।
- थप समाचारहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
-
गोरु पाल्ने किसानलाई प्रोत्साहन
-
सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण