सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : आज देशभर के–के भए ?

बिहीबार, ०३ फागुन २०८०, २३ : ०४
बिहीबार, ०३ फागुन २०८०

आज मिति २०८० साल फागुन महिनाको ३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

ललिता निवासमा फैसला
ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न १२ जना प्रतिवादीलाई ९ करोड रुपैयाँको दामासाहीले हुने जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद हुने फैसला गरेको छ ।

प्रतिवादीहरु सुनिति राणा, सैलजा राणा, हेमनशम्शेर, हाटक शम्शेर, रक्म शमशेरका साथै कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्त प्रसाद श्रेष्ठ, मुकुन्द प्रसाद आचार्य, जगत प्रसाद पुडासैनीसहित १२ जनाविरुद्ध सो फैसला भएको हो ।

माओवादी विधान अधिवेशन सम्पन्न
 नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति संख्या बढाउनेदेखि प्रत्यक्ष निर्वाचन प्रणालीमा जानेसम्म निर्णय गरेको छ । बिहीबार प्रज्ञा भवन कमलादीमा सम्पन्न विधान अधिवेशनले प्रस्तावित मस्यौदा विधान परिमार्जनसहित पारित गरेको हो ।

कांग्रेस बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनबारे छलफल भएको छ । बिहीबारको केन्द्रीय समिति बैठकमा  महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरु छलफलका लागि प्रस्तुत गरिएको थियो ।

सिंहदरबारमा अर्थमन्त्रीको शासन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सम्मृद्धिका लागि आफू नेतृत्वको सरकारले चालेका कदममा कांग्रेसका तर्फबाट सरकारमा रहेका अधिकांश मन्त्रीहरूले असहयोग गरेको निष्कर्ष निकालेका छन् ।
यतिसम्मकी अर्थमन्त्री डा प्रकाश शरण महतले चालु आर्थिक वर्षको २ खर्ब भन्दा बढी बजेट कटौती गर्दा आफूलाई सुइँको समेत नदिएकोमा प्रधानमन्त्री प्रचण्ड थप आक्रोशित बनेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले महतलाई अर्थमन्त्रीको कुर्सीमा निरन्तरता दिएर अब चल्न नसकिने बताउन थालेका छन् ।

एमालेको निर्णय
नेकपा एमालेले सातौँ केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाएको छ । बिहीबार बसेको सो पार्टीको २७ औँ सचिवालय बैठकले फागुन ८ देखि १० सम्म केन्द्रीय समिति बैठकको मिति तय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।  

अपराधका समाचार
दाङको घोराही स्थित दामोदर चोकमा गोली प्रहार गरेर धनमाया थापाको हत्या गरिएको छ । गोली प्रहार गर्ने यमबहादुर झाँक्री उनकै पति हुन् ।

आयोगको निर्देशन
निर्वाचन आयोगले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ ।
बिहीबार बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको हो ।

निगमको निर्णय
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बनाएको हो ।

यो पनि ....
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आइतबार हुने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते लिन लागेको हो ।

सुर्खेतबाट काठमाडौँको उडानमा रहेको श्री एयरलाइन्सको जहाज सुरक्षित अवतरण भएको छ । उडानकै क्रममा फ्ल्यापमा समस्या देखिएको जहाज बिहीबार त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूहरू फराकिलो काठमाडौँ बनाउने बाटोमा रहेको बताएका छन् । काठमाडौँस्थित खुलामञ्चमा खेलमैदान बनाउन लागिएको समाचारको खण्डन गर्दै मेयर बालेनले बिहीबार सामाजिक सञ्जालमा अतिक्रमित धेरैभन्दा धेरै ठाउँ खुल्ला गर्ने प्रक्रियामा गइरहेको बताएका हुन् ।  

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएको सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको  जनाएको छ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३।१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप