आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : प्रधानमन्त्रीको भारत भ्रमण लम्ब्याउने तयारी, रविले दिएको निवेदनमा विरोधाभास

शनिबार, २४ साउन २०८२, २२ : ००
शनिबार, २४ साउन २०८२

काठमाडौँ । आज मिति २०८२ साल, साउन महिनाको २४ गते शनिबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा १० बजे १० समाचारसहित हामी उपस्थित भएका छौँ–

१.प्रधानमन्त्री ओलीको भारत भ्रमण लम्ब्याउने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी गरिरहँदा उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणको तयारीमा लागेका छन् ।  लामो प्रतीक्षापछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका हुन् । 
ओलीको भारत भ्रमण भदौ ३१ र असोज १ गते गरी दुई दिन हुने बुझिएको छ । यद्यपि भ्रमण लम्ब्याउने विषयमा दिल्ली–काठमाडौँबिच कुराकानी पनि चलिरहेको छ । 

२. रवि लामिछानेले दिएको निवेदनमा विरोधाभास 
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएसँगै यसबारे बहस सुरु भएको छ । 

३. चक्रे मिलनसँग भक्तपुर प्रहरीले लियो बयान
 गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)सँग भक्तपुर प्रहरीले पनि बयान लिएको छ । प्रहरी वृत्त थिमी र जिल्ला सरकारी वकिल कार्यालयले चक्रेसँग बयान लिएको हो ।

४.  कैलाली कारागार घटना
कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिवसहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिति सहज बनाउने विषयमा छलफल गरेका छन् ।

५. एनपीएलको मिनी अक्सन
 नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार मिनि अक्सन भएको छ ।  शनिबार ललितपुरको एक होटेलमा भएको अक्सनमा एनपीएल फ्रेन्चाइज टोलीले आफ्ना टिममा खेलाडी अनुबन्धित गरेका छन् ।

६. मधेसमा डीप बोरिङ गाड्ने होड
सरकारले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेसँगै डीप बोरिङ गाड्ने नाममा अनियमितता हुन थालेको भन्दै सरोकारवालाले प्रश्न उठाएका छन् ।

७. मनाइयो जनैपूर्णिमा 
हरेक वर्ष श्रावण  शुक्ल पूर्णिमामा मनाइने जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइएको छ ।

८. रुपन्देही–३  उपनिर्वाचन
रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चार जनाले उम्मेदवार बन्न आकाङ्क्षा देखाएका छन् ।

९. बानियाँलाई विश्वासको मत दिन ह्विप
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ ।  शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले एक सूचना सम्प्रेषण गर्दै साउन २७ गते मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा अनिवार्य उपस्थित हुन निर्देशन गरेका छन् । 

१०. साढे ६ किलो अवैध सुनका गहनासहित ११ जना पक्राउ
साढे ६ किलो अवैध सुनका गहनासहित पोखराबाट ११ जना भारतीय नागरिक पक्राउ परेका छन् । कास्की प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप