शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: विद्युत् प्राधिकरणको नेतृत्वमा ‘म्युजिकल चेयर’, सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा

बुधबार, २४ मङ्सिर २०८२, ०० : ०१
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • विद्युत् प्राधिकरणको नेतृत्व अस्थिर हुँदा ऊर्जा विकासमा अवरोध सिर्जना भएको छ।
  • राप्रपाले राजसंस्था पुनस्र्थापना र हिन्दु राज्यको माग गर्दै प्रदर्शन गरेको छ।
  • सरकार र जेनजीबीचको सम्झौताको मस्यौदा तयार भएको छ, भोलि हस्ताक्षर हुने।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. ‘म्युजिकल चेयर’

पछिल्लो १० वर्षमा नेपाल विद्युत् प्राधिकरणको नेतृत्व पाँच वर्ष अस्थिर रह्यो । मुलुकको राजनीतिसँगै प्राधिकरणको नेतृत्व पनि अस्थिर बन्न पुगेको छ । प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण र वितरणको जिम्मेवारी छ । तर पटक–पटक नेतृत्व फेरिने र विवादमा आउँदा सिंगो ऊर्जा विकासको गति अवरुद्ध हुँदै गएको छ ।

२. नैतिकताको कसी

भदौ २३ र २४ को जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेका निर्णयहरू एकपछि अर्को गर्दै सर्वोच्च अदालतले उल्टाइदिएको छ । सरकारले गरेका निर्णयहरूमाथि लगातार प्रश्न उठ्दा कार्की नेतृत्वको सरकारमाथि पनि नैतिक प्रश्न खडा भएको छ ।

३. एमाले महाधिवेशन

नेकपा एमालेको ११ औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्ष पदमा उठ्ने घोषणा गरेसँगै दुई नेताबिच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।

४. सडकमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन भन्दै विरोध प्रदर्शन गरेको छ । काठमाडौँको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनस्र्थापना र हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गरेको हो । राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरेको राप्रपाले शान्तिबाटिकाभा सभा पनि गरेको छ । 

५. एनपीएल

सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो सिजन पनि फाइनल प्रवेश गरेको हो । 

यता विराटनगरले भने इलिमिनेटरमा भिड्दै गरेको काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग पुन फाइनल प्रवेशका लागि खेल्नेछ ।

६. निर्वाचन

फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न नपाउने लगभग निश्चित भएको छ । विदेशमा रहेका नेपालीले मतदान गर्ने विषयमा सरकारले हालसम्म कानुनी बाटो नखोलेका कारण आसन्न निर्वाचनमा उनीहरूलाई सहभागी गराउन नसकिने अवस्था देखिएको हो ।

७. ईश्वरको पक्षमा खुले नेतृ

नेकपा एमालेको ११औँ महाधिवेशनमा महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुलेका छन् । पोखरेलको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे, केन्द्रीय सदस्यहरू उषाकिरण तिम्सेना, शर्मिला कार्की,रचना खड्का र सरिता न्यौपाने लगायतका नेतृहरू पोखरेलको पक्षमा खुलेका हुन् ।

८. सिनामंगल घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा छन् । मङ्सिर २१ मा दिउँसो आफ्नो छोरा (दुधे बालक)को हत्या गरेको कसुरमा प्रहरीले उनलाई थुनेर अनुसन्धान गरिरहेको छ ।

९. एकता समायोजन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लामा एकता समायोजनको काम सक्नेगरी गृहकार्य थालेको छ । कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० वटा वामपन्थी घटकसँग मिलेर यो दल गठन भएको घोषणा गरिएको थियो ।

१०. बीमा दाबी

नेपाल बीमा प्राधिकरणले ‘जेन–जी’ आन्दोलन र गत असोजमा आएको बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार यी दुई घटनाबाट निर्जीवन बीमा कम्पनीहरूमा कुल २७ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ।

११. जेनजी र सरकारबिच सम्झौताको ड्राफ्ट तयार

सरकार र जेनजीबिचको सम्झौताको मस्यौदा (ड्राफ्ट) टुङ्गो लागेको छ । मंगलबार जेनजी प्रतिनिधि, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिबिच सम्झौताको मस्यौदा टुङ्गो लागेको जेनजी अभियन्ता सुदन गुरुङले जानकारी दिए ।

१२. भन्सार एजेन्ट
मंगलबार मुलुकभरको आयात–निर्यात ठप्प भएको छ । भन्सार ऐन तथा नियमावलीमा भएका केही प्रावधान अव्यवहारिक रहेको भन्दै भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका भन्सार कार्यालयमा जाँचपासको काम रोकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप