शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एमाले अध्यक्षमा ओली र पोखरेल भिड्दै, को–को छन् पदाधिकारीमा उम्मेदवार ?

सोमबार, २९ मङ्सिर २०८२, २२ : ००
सोमबार, २९ मङ्सिर २०८२

आज २०८२ मंसिर २९ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा एमाले अध्यक्षमा ओली र पोखरेल भिड्दै, ओली र पोखरेलको प्यानलमा को–को छन् पदाधिकारीका उम्मेदवार ?, पदाधिकारीमा ठाउँ नपाएपछि यी नेताले छाडे ओलीको साथ, प्रधान सेनापतिसँग जाँचबुझ आयोगले लियो बयान, कांग्रेसको क्रियाशील सदस्यता फारमले लफडा, मधेसमा मन्त्रिपरिषद विस्तार लगायत छन् ।

१. एमाले अध्यक्षमा ओली र पोखरेल भिड्दै
नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । महाधिवेशन अन्तर्गत सोमबार उम्मेदवारी दर्ता भएको छ । जसअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने भएको छ । यस्तै महासचिवमा ओली पक्षबाट शंकर पोखरेलले उम्मेदवारी दिएका छन् । पोखरेल पक्षबाट भने महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।

२. ओली र पोखरेलको प्यानलमा को–को छन् पदाधिकारीमा उम्मेदवार ?
नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धा गर्दैछन् । दुवैले पदाधिकारीमा प्यानलसहित उम्मेदवारी दिएका छन् ।

३. पदाधिकारीमा ठाउँ नपाएपछि यी नेताले छाडे ओलीको साथ
नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् । दुवै नेता प्यानल बनाएर मैदानमा उत्रिएका छन् । यसैबिच अध्यक्ष ओलीको प्यानलमा पदाधिकारीका लागि ठाउँ नपाएपछि विभिन्न नेताले असन्तुष्टि जनाएका छन् । उनीहरूले अन्तिम समयमा आएर ओलीको साथ छाडेका हुन् । 

४. प्रधान सेनापतिसँग जाँचबुझ आयोगले लियो बयान
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देलसँग बयान लिएको छ । सोमबार सिग्देलसँग बयान लिइएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले रातोपाटीलाई बताए ।

५. कांग्रेसको क्रियाशील सदस्यता फारमले लफडा
नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नयाँ क्रियाशील सदस्यता वितरणका लागि सिरियल नम्बर नभएका क्रियाशील सदस्यताको फारम जिल्ला–जिल्लामा पठाएपछि विवाद भएको छ ।

६. मधेसमा मन्त्रिपरिषद विस्तार
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री यादवको सिफारिसमा सोमबार दुई मन्त्री थपिएका हुन् ।

७. पेट्रोलको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । सोमबार रातिदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

८. कोशीका सबैमन्त्री राजधानी बाहिर
कोशी प्रदेश सरकारका सबै मन्त्री राजधानी बाहिर छन् । एमालेका मन्त्रीहरू पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुन काठमाडौँ पुगेका छन् भने कांग्रेसबाट मन्त्री बनेकाहरू पनि कोही जिल्लातिर र कोही काम विशेषले काठमाडौँ जाँदा प्रदेशको राजधानी मन्त्रीविहीन भएको हो ।

९. भिजिट भिसा प्रकरणमा परेपछि फिर्ता बोलाइए म्याग्दीका सीडीओ तिवारी
भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिएपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । उनलाई म्याग्दीको सीडीओबाट फिर्ता बोलाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्दप्रसाद काफ्लेले जानकारी दिए ।

१०. दुर्गा प्रसाईंले सरकारसँग वार्ता गर्न बनाए समिति
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति बनाएको छ । सरकारको आह्वानमा महाअभियानले प्रेमदिप लिम्बुको संयोजकत्वमा वार्ता समिति बनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप