बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : सोमबार विश्वासको मत लिँदै प्रधानमन्त्री, संसदमा फेरियो दलहरुको आसन

देशभर स्ववियु निर्वाचनको मतदान सम्पन्न
आइतबार, ०५ चैत २०७९, २० : ४७
आइतबार, ०५ चैत २०७९

आज २०७९ चैत ५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा स्ववियु चुनाव अन्तर्गत मतदान सम्पन्न, प्रधानमन्त्रीले भोलि विश्वासको मत लिने, संसदमा दलहरुको फेरियो आसन, कांग्रेस सत्ता पक्षको बेन्चमा, कोशी नामकरणको विरोधमा विराटनगरमा प्रदर्शन, उपराष्ट्रपति निर्वाचनअघि बनेको तीन दलीय गठबन्धन कसरी भत्कियो ?, एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर, रवि लामिछानेले राहदानी सम्बन्धी मुद्दामा राहत पाउने संकेत लगायत छन् ।

१. स्ववियु चुनाव अन्तर्गत मतदान सम्पन्न
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अन्तर्गत आइतबार केही अपवादबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । विभिन्न १०६ क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ ।


२. प्रधानमन्त्रीले भोलि विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । आइतबारको बैठकमै सोमबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस हुनेबारे सभामुखले जानकारी गराएका हुन् । 

३. संसदमा दलहरुको फेरियो आसन; कांग्रेस सत्ता पक्षको बेन्चमा
संसदमा दलहरुको आसन फेरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सत्तापक्षमा र एमाले प्रतिपक्षी बेन्चमा बसेका छन् । राष्ट्रपति निर्वाचन अघि परिवर्तन भएको राजनीतिक समीकरणका आधारमा संसदमा पनि दलहरुको आसन फेरिएको हो ।

४. कोशी नामकरणको विरोधमा विराटनगरमा प्रदर्शन
पहिचानलाई मेटेर प्रदेशको नामकरण गरिएको भन्दै विराटनगरमा आइतबार विरोध प्रदर्शन भएको छ । प्रदेशको नाम ‘कोशी’ राखेको विरोधमा प्रदर्शनकारीहरु सडकमा ओर्लिएका हुन् । 

५. उपराष्ट्रपति निर्वाचनअघि बनेको तीन दलीय गठबन्धन कसरी भत्कियो ?
उपराष्ट्रपति निर्वाचन अघि लोसपा नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले अलग गठबन्धन बनाएका थिए । तर अहिले त्यो गठबन्धन छिन्नभिन्न अवस्थामा छ । यहाँसम्म कि, गठबन्धन बनेपछि तीन दलको संयुक्त बैठकसमेत नबसी अहिले तीन दल आ–आफ्नो रणनीति अनुसार अघि बढिरहेका छन् ।

६. एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर
नेकपा एकीकृत समाजवादीमा नेताहरुको जिम्मेवारी हेरफेर भएको छ । यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाइएको छ भने घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिइएको छ । 

७. मिटरव्याज पीडितहरु तराईबाट पैदल काठमाडौं आउँदै
मिटर ब्याजका पीडितहरू आन्दोलन गर्नका लागि हिँडेर काठमाडौँ आउँदै छन् । ‘तमसुक व्यवस्था खारेज गर’ भन्ने नाराका साथ बर्दिबासदेखि हेटौँडा हुँदै उनीहरु पैदल काठमाडौंतर्फ आइरहेका हुन् ।

८. रवि लामिछानेले राहदानी सम्बन्धी मुद्दामा राहत पाउने संकेत
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी सम्बन्धी मुद्दामा राहत पाउने संकेत देखिएको छ । झुठो विवरण पेस गरेर राहदानी लिएको आरोपमा अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि मुद्दा नचलाउने निर्णयसहित उच्च सरकारी वकिलको कार्यालयमा पत्र पठाएको हो । 

९. मन्त्री छनोटका लागि कांग्रेसका चार मापदण्ड
नेपाली कांग्रेसले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड तोकेको छ । 

१०. सिंहदरबारको सुरक्षा कमाण्ड अब एसपीले गर्ने
सिंहदरबार भित्र रहेको नेपाल प्रहरीको गणमा प्रहरी उपरीक्षक (एसपी) राख्ने तयारी भएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा डिएसपीको नेतृत्वमा अहिले एक सय ३५ जना सुरक्षाकर्मी कार्यरत छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप