बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : बालकुमारी घटनामा दुई युवाको मृत्युदेखि सन्दीप दोषी ठहरसम्म

शुक्रबार, १३ पुस २०८०, २३ : २६
शुक्रबार, १३ पुस २०८०

आज मिति २०८० साल पुस महिनाको १३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनालाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

बालकुमारी घटना

प्रहरीले राजधानीको बालकुमारीमा भएको घटनामा एक जनाको गोली लागेर र अर्काको भागदौडमा मृत्यु भएको जनाएको छ । ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको छ ।

ईपीएस कोरियाको फाराम भर्ने विषयमा भएको विवादका क्रममा आन्दोलन हुँदा सो घटना भएको हो ।

घटनाको विरोध

बालकुमारी घटनाको दलका नेताहरुले विरोध गरेका छन् । उनीहरुले प्रहरीको भूमिकामाथि समेत प्रश्न ठाएका छन् ।

अदालतको आदेशपछि अर्को सूचना

ईपीएस कोरिया भाषा परीक्षा अन्तर्गत सिप बिल्डिङ (पानीजहाज निर्माण) क्षेत्रकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन्। वैदेशिक रोजगार विभागले उनीहरूलाई आवेदन दिन पाउने निर्णय गरेको हो । त्यसका लागि पुस १६ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने ईपीएस कोरिया शाखाले शुक्रबार अबेर सूचनामार्फत जनाएको छ ।

सन्दीप दोषी ठहर

काठमाडौँ जिल्ला अदालतले पीडित गौशाला २६ (परिवर्तित नाम) लाई क्रिकेटर सन्दीप लामिछानेले नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको देखिएको ठहर गरेको छ ।

‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता बमोजिमको कसुर ठहर्छ ।’ अदालतले सन्दीपलाई दोषी ठहर गरेपनि पीडित नाबालिग नभएको ठहर गरेको छ ।

अदालतको आदेश

सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर गरेको छ ।

शुक्रबार सर्वोच्चले फागुन १ गते जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गरेको हो ।

कांग्रेस बैठक

नेपाली कांग्रेसले पार्टीबाट बनेका मन्त्रीको काम कारबाहीबारे समीक्षा गर्न बोलाएको बैठक राष्ट्रियसभा निर्वाचन केन्द्रित बन्न पुगेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरु राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनको विषयमा केन्द्रित भएका छन् । राष्ट्रियसभा निर्वाचनको विषय बैठकको सुरुका एजेण्डा थिए ।

मुख्यमन्त्रीहरुको बैठक

सातै प्रदेशका मुख्यमन्त्रीहरूले संविधानको व्यवस्थाअनुसार प्रदेशको अधिकार कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीलाई थप दबाब दिने भएका छन् । हेटौँडामा शुक्रवार सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री भेलाले नौ बुँदे साझा पत्र तयार गर्दै त्यसको शीघ्र कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने भएका हुन् ।

सरकारी रकम विवरण

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको एक रिपोर्ट अनुसार मंसिर मसान्तसम्ममा सरकारसँग १ खर्ब ६० अर्ब २४ करोड ७६ लाख रुपैयाँ क्यास रहेको छ । यो स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको समेत गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेको डिपोजिट हो ।

यो पनि...

तीन दिनसम्म चलेर शुक्रबार सम्पन्न नेकपा एकीकृत समाजवादीको सातौँ केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक २० प्रस्ताव पारित गरेको छ ।

समायोजन ऐन बनेको करिब ४ वर्ष पुरा हुँदा पनि केन्द्र र प्रदेशमा प्रहरी कर्मचारीको समायोजन भएको छैन । समायोजन गर्नुअघि नेपाल प्रहरी ऐन–२०१२ लाई प्रतिस्थापन गर्ने गरी नयाँ ऐन ल्याउनेबारे छलफल सुरु गरिएको छ ।

वीरगञ्जमा जारी नेपाल प्रो क्लव च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतको वन्डर्स क्लब अफ नोएडालाई ४ रनले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप