१० बजे १० समाचार : रास्वपा र विवेकशील साझाबिच एकता, पुसमा नियमित महाधिवेशनका लागि कांग्रेस संस्थापन पक्षको सर्त
आज २०८२ मंसिर १४ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रास्वपा र विवेकशील साझाबिच एकता, पुसमा नियमित महाधिवेशन गर्न कांग्रेस संस्थापन पक्षले राख्यो सर्त, एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ठाउँ–ठाउँमा लफडा, चार वर्षमा ओलीको ‘यूटर्न’, नेपाली कम्युनिस्ट पार्टीले पोखरामा ग¥यो एकता सभा, गैरआवासीय नेपाली संघमा एकता, देशभर थपिए १६८ वटा मतदानस्थल लगायत छन् ।
१. रास्वपा र विवेकशील साझाबिच एकता
राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिच आइतबार एकता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकै नाम, चुनाव चिह्न र झण्डा कायम रहने गरी दुई पार्टीबिच एकता भएको हो ।
२. पुसमा नियमित महाधिवेशन गर्न कांग्रेस संस्थापन पक्षले राख्यो सर्त
नेपाली कांग्रेसको संस्थापन पक्षले पुसमा नियमित महाधिवेशन गर्नका लागि विशेष महाधिवेशन मागसहित बुझाइएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अघि सारेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवासमक्ष यस्तो सर्त राखेका हुन् ।
३. एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ठाउँ–ठाउँमा लफडा
नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ठाउँ–ठाउँमा लफडा भएको छ । कतै निर्वाचन प्रक्रियामा प्रश्न उठाइएको छ भने कतै सर्वसम्मतको नाममा आफू पक्षीयलाई मात्र चुनिएको भन्दै कतिपयले आपत्ति जनाएका छन् ।
४. चार वर्षमा ओलीको ‘यूटर्न’
चितवनको सौराहामा चार वर्षअघि एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतन्त्र कमजोर भएको र प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै चर्को आलोचना भएको थियो । कारण थियो– एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास । ११औँ महाधिवेशनको मुखमा आइपुग्दा ओली त्यो अडानबाट ‘यूटर्न’ हुने भएका छन् । ११औँ महाधिवेशनमार्फत ओली तेस्रो कार्यकाल एमाले हाँक्ने प्रयासमा देखिन्छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदमा ओलीलाई टक्कर दिने तयारीमा जुटेका छन् । ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न मन लागेकाहरूलाई प्रतिस्पर्धा गर्न खुला रहेको प्रस्ट पारेका छन् ।
५. नेपाली कम्युनिस्ट पार्टीले पोखरामा गर्यो एकता सभा
नेपाली कम्युनिस्ट पार्टीले आइतबार पोखरामा प्रदेशव्यापी एकता सभा आयोजना गरेको छ । सभालाई पार्टीका विभिन्न शीर्ष नेताले सम्बोधन गरेका थिए ।
६. गैरआवासीय नेपाली संघमा एकता
गैरआवासीय नेपाली संघमा विभिन्न समूहबिचको विवाद सल्टाउँदै आइतबार एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता घोषणा गरिएको हो ।
७. देशभर थपिए १६८ वटा मतदानस्थल
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरवलोकन गरेको छ । आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
८. मधेसमा फेरि आवसमै प्रतिस्पर्धाको तयारीमा उपेन्द्र र सीके
अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा ‘हेभीवेट’ उम्मेदवारका रूपमा आपसमा प्रतिस्पर्धा गरेका उपेन्द्र यादव र सीके राउत आसन्न निर्वाचनमा पनि एकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने सम्भावना बढेको छ ।
९. एसएसपीको रिक्त ७ सिटमा १७ प्रतिस्पर्धी
नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी)को रिक्त ७ सिटमा १७ जना प्रतिस्पर्धी देखिएका छन् ।
१०. डिजेलको मूल्य घट्यो
नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको छ । आज मध्यरातदेखि लागु हुने नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण