१२ बजे १२ समाचार: समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिकदेखि एन्फाको ‘अर्ली इलेक्सन’ विवादसम्म
सारांश
- निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।
- एमालेमा उम्मेदवार छनोटमा असन्तुष्टि बढेको छ, कतिपयले टिकट वितरणमा प्रश्न उठाएका छन्।
- एन्फाको 'अर्ली इलेक्सन' विवाद अदालत र फिफामा पुगेको छ, निर्वाचन रोक्न आदेश आएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।
२. उम्मेदवार सूचीले एमालेमा बढायो असन्तुष्टि
नेकपा एमालेले प्रतिनिधि सभा सदस्य पदका लागि अधिकांश क्षेत्रमा उम्मेदवार चयन गरेको छ । केही निर्वाचन क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले टुङ्ग्याउने गरी उम्मेदवार चयन बाँकी राखिएको छ । यद्यपि तल्ला कमिटीले सिफारिस गरेभन्दा बाहिरका व्यक्तिले टिकट पाएको, आन्तरिक प्रतिस्पर्धाका आधारमा पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारलाई पाखा लगाइएको भन्दै कतिपयले असन्तुष्टि जनाएका छन् ।
३. एन्फाको ‘अर्ली इलेक्सन’ विवाद
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यकाल बाँकी छँदै ‘अर्ली इलेक्सन’ गर्ने निर्णय गरेपछि नेपाली फुटबल गम्भीर विवादमा तानिएको छ । गत पुस १६ गतेको कार्यसमिति बैठकले बहुमतका आधारमा माघ २८ गते झापामा विशेष साधारणसभामार्फत निर्वाचन गर्ने निर्णय गरेसँगै चुलिएको आन्तरिक विवाद अहिले अदालत र विश्व फुटबल महासंघ (फिफा) सम्म पुगेको छ ।
पाटन उच्च अदालतले निर्वाचन रोक्न आदेश दिएको छ । यता फिफाले भने निर्वाचन पक्रिया नरोक्न चेतावनी दिएको छ । यदि निर्वाचन रोकेमा एन्फालाई निलम्बन गर्ने चेतावनी दिएको छ । एन्फाले भने निर्वाचन प्रक्रिया बढाउँदै मनोनयन पनि दर्ता गरिसकेको छ, अध्यक्ष पदका लागि पंकज नेम्बाङ र कुमार केसीले मनोनयन दर्ता गरेका छन् ।
४. उम्मेदवार मनोनयन दर्ता रोक्न देउवा पक्षको माग
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगद्वारा विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिता दिइएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । रिट निवेदनमा माघ ६ गते प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ हुने उम्मेदवार मनोनयन दर्ता रोक्नसमेत माग गरिएको छ ।
५. नगर प्रमुख पदबाट राजीनामा दिएर चुनाव अभियानमा होमिए बालेन
काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएर बालेन्द्र (बालेन) शाह आइतबार औपचारिक रूपमै चुनाव अभियानमा होमिएका छन् । रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन आइतबार पार्टीको मुख्यालय पुगेर चुनाव अभियानमा औपचारिक रूपमा सामेल भएका हुन् ।
६. नेकपाका १२ केन्द्रीय सदस्यले दिए राजीनामा
नेपाली कम्युनिस्ट पार्टीका १२ केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । उम्मेदवार सिफारिस नभएपछि आइतबार उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
७. प्रगतिशील लोकतान्त्रिक पार्टीले चुनावमा तालमेल गर्ने
प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रतिनिधि सभा निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको अध्यक्ष परिषदको बैठकले स्थानीय परिस्थिति र निर्वाचन क्षेत्रको सापेक्षता मूल्याङ्कन गरी घोषित तथा अघोषित दुवै किसिमको तालमेल गर्न प्रोत्साह गर्ने निर्णय गरेको हो ।
८. आज रातिदेखि निर्वाचन आचारसंहिता लागु हुने
निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ ।
९. प्रचण्ड र लिङ्देनसँग ओलीको ‘च्याँखे दाउ’ !
एमालेले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छैन । पहिलो चरणमा एमालेले सार्वजनिक गरेका उम्मेदवारको सूचीमा ती दुवै क्षेत्रमा उम्मेदवार तोकिएको छैन । कतै एमाले अध्यक्ष ओलीले प्रचण्ड र लिङ्देनसँग तालमेलका लागि ती क्षेत्रमा उम्मेदवार नतोकेका हुन् कि भन्ने आशंका स्वाभाविक रूपमा उत्पन्न भएको छ ।
१०. धमाधम उम्मेदवारी घोषणा
विभिन्न राजनीतिक दलले प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्षतर्फ धमाधम उम्मेदवार घोषणा गरेका छन् । उम्मेदवार मनोनयन दर्ताको मिति नजिँकिदै गर्दा उम्मेदवार चयन प्रक्रियाले गति लिएको हो ।
११. रविको पक्षमा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा उन्मुक्ति दिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । उक्त रिटका सम्बन्धमा माघ ६ गते सुनुवाइ हुने भएको छ ।
१२. देउवा पक्षलाई पनि समेटेर उम्मेदवार छान्ने कांग्रेसको तयारी
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले शेरबहादुर देउवा पक्षलाई पनि समेटेर उम्मेदवार चयन गर्ने तयारी गरेको छ । जिल्लाबाट आएका सिफारिसकै आधारमा उम्मेदवार चयन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण